गर्भावस्था अन्य समयभन्दा संवेदनशील अवस्था हो। यस समयमा महिलाहरूले आफ्नो हरेक क्रियाकलापमा सावधानी अपनाउनुपर्ने हुन्छ। गर्भवती महिलाले यस अवधिभर सकेसम्म लामो यात्रा गर्नु राम्रो मानिँदैन। कच्ची बाटो, अप्ठ्यारो तथा खाल्डाखुल्डी सडकमा यात्रा गर्दा गर्भ खेर जाने जोखिम हुन सक्छ। अझै, गर्भावस्थाको पहिलो तीन महिना अत्यन्त संवेदनशील मानिन्छ। यस अवधिमा शिशुको शरीरका अङ्गहरू बन्ने क्रममा हुन्छन्। त्यसैले, यात्रा गर्नैपर्ने अवस्था भएमा दोस्रो त्रैमासिक उत्तम मानिन्छ।
गर्भावस्थाको दोस्रो चरण, अर्थात् १४ देखि २८ हप्ताको बीचमा यात्रा गर्नु उपयुक्त हुने प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण शाह बताउँछन्। यस अवधिमा बान्ता हुने र कमजोरी हुने समस्या कम हुने भएकाले यो चरण गर्भवती महिलाका लागि अन्य समयभन्दा सुरक्षित र सहज मानिन्छ।
गर्भावस्थामा यात्रा गर्न मिल्छ, तर सुरक्षित र आरामदायी बनाउन केही महत्त्वपूर्ण कुरामा ध्यान दिनुपर्छ।
यात्रा गर्नु अघि तयारी
डाक्टरसँग परामर्श गरेर मात्रै यात्रा गर्ने निर्णय लिनुहोस्।
गर्भावस्थाको अवस्थाअनुसार जोखिम मूल्याङ्कन गरेर अनुमति लिनु जरुरी हुन्छ।
आवश्यक औषधि, रिपोर्ट र मेडिकल कागजात साथमा राख्नुहोस्।
हल्का र आरामदायी कपडा लगाउनुहोस्।
यात्रा गर्दा ध्यान दिने कुराहरू
लामो समय बसिरहनु हुँदैन, बीचबीचमा हिँडडुल गर्नुहोस्।
सिटबेल्ट पेटको तलपट्टि बाँध्नुहोस्।
पर्याप्त पानी पिउनुहोस्, शरीर हाइड्रेटेड राख्नु महत्त्वपूर्ण हुन्छ।
थकान महसुस भए तुरुन्त आराम गर्नुहोस्।
भीडभाड र जोखिमयुक्त यात्रा (धेरै हल्लिने सडक आदि) सकेसम्म टार्नुहोस्।
कस्तो अवस्थामा यात्रा गर्नुहुँदैन
अत्यधिक रक्तस्राव
पेट दुखाइ वा संकुचन
उच्च रक्तचाप वा जटिल गर्भावस्था
पहिलेको जटिलताको इतिहास