गर्भावस्थाको समयमा खानपानमा विशेष ध्यान दिनु आवश्यक छ, किनकि केही खानेकुराले गर्भपतनको जोखिम बढाउन सक्छन्। पोषणविद् केदार नेपालका अनुसार गर्भावस्थाको समयमा खानपान र जीवनशैलीमा विशेष ध्यान दिनु आमा र शिशु दुवैको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ। गर्भवती महिलाहरू खासगरी काँचो तथा कम पाकेको खानेकुराबाट बच्नुपर्छ।
गर्भपतनको जोखिम बढाउने मुख्य खानेकुराहरू यस प्रकार छन् :
काँचो वा हरियो मेवा : खासगरी काँचो मेवामा हुने लेटेक्सले पाठेघरमा संकुचन पैदा गर्न सक्छ, जसले गर्भपतनको खतरा बढाउँछ।
नपाकेको मासु र अण्डा : राम्रोसँग नपाकेको मासु, माछा वा अण्डामा लिस्टेरिया वा साल्मोनेला जीवाणुहरू हुन सक्छन्, जसले भ्रूणलाई हानि पुर्याउँछ।
काँचो दूध र दुग्धजन्य पदार्थ : पास्चुरीकरण नगरिएको दूध वा चिजमा लिस्टेरियाको संक्रमण हुने डर हुन्छ।
प्रशोधित मासु : हट डग, डेली मीट वा ससेजहरूमा हानिकारक ब्याक्टेरिया हुन सक्छन्।
अत्यधिक क्याफिन : कफी, चिया वा चिसो पेय पदार्थको धेरै सेवनले पनि जोखिम बढाउन सक्छ।
अस्वस्थकर आहार: खराब पोषण र मोटोपनाले पनि हर्मोनल असन्तुलन गराई गर्भावस्थामा समस्या ल्याउन सक्छ।
विशेष सावधान
यी खानेकुराहरूका अलावा धूम्रपान र मदिरा सेवनले पनि गर्भपतनको जोखिम उच्च बनाउँछ।