काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरमा लामो समयदेखि रहेको स्वास्थ्य उपकरणको अभाव टर्ने भएको छ। सेन्टरले बिरामीको चापलाई मध्यनजर गर्दै अत्याधुनिक एमआरआई र नयाँ सिटी स्क्यान मेसिन खरिद गर्ने प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ। दुवै उपकरण खरिदका लागि अस्पताल प्रशासनले बोलपत्र स्वीकृत गर्ने आशयको सूचना जारी गरेसँगै यी उपकरणहरू भित्रिने निश्चित भएको हो।
यी नयाँ मेसिनहरू जडान भएपछि दैनिक १०० भन्दा बढी बिरामीले ट्रमा सेन्टरभित्रै सहज र सुलभ रूपमा सेवा पाउने छन्। यसअघि अस्पतालमा एमआरआई उपकरण नहुँदा र सिटी स्क्यान मेसिन पुराना र पटक पटक बिग्रने हुँदा अधिकांश बिरामीहरू बाहिरका निजी संस्थामा महँगो शुल्कमा एमआरआई र सिटी स्क्यान गराउन बाध्य थिए।
अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीका अनुसार अस्पतालमा एमआरआई सेवा नहुँदा दैनिक १०० देखि १५० जना बिरामी बाहिर जान बाध्य छन्। 'ट्रमाका बिरामीले सहज रुपमा अस्पताल भित्रै सेवा पाउन सकुन भनेर एमआरआई र नयाँ सिटी स्क्यान खरिदको काम अगाडि बढाएका हौं,' उनले भने, 'विशेष गरी दुर्घटनामा परेका र गम्भीर चोटपटक लागेका बिरामीहरूलाई बाहिर ओसारपसार गर्दा थप जोखिम हुने गरेकोमा यी उपकरण आएर जडान भएपछि अस्पतालभित्रै गुणस्तरीय सेवा मिल्ने छ।'
थ्री टेस्ला क्षमताको एमआरआई
ट्रमा सेन्टरले थ्री टेस्ला क्षमताको उच्च प्रविधियुक्त एमआरआई मेसिन खरिद गर्न लागेको हो। यो उपकरण आपूर्ति तथा जडानका लागि चीनको 'सांघाई युनाइटेड इमेजिङ हेल्थकेयर कम्पनी लिमिटेड' छनोट भएको छ। उक्त मेसिन कुल १९ करोड ७७ लाख १६ हजार २३३ नेपाली रुपैयाँमा खरिद गर्न लागिएको हो।
विगतमा पटक पटक एमआरआई खरिदको प्रक्रिया अगाडि बढाउँदा निजी संस्थाहरूले आफ्नो व्यापार गुम्ने डरले विभिन्न चलखेल र विवाद सिर्जना गर्दै ट्रमाको खरिद कार्य रोक्ने प्रयास गरेका थिए। तर, यसपटक अस्पतालले अन्य सरकारी अस्पतालमा जस्तै अत्याधुनिक उपकरण त्योभन्दा पनि सस्तो मूल्यमा पारदर्शी ढंगले ल्याउन लागेको डा मरासिनीले जानकारी दिए।
'विगतमा पटक पटक एमआरआईका लागि बजेट विनियोजन भएर खरिदको प्रक्रिया अगाडि बढे पनि विभिन्न खालका चलखेलका कारण टुंगोमा पुग्न सकेको थिएन,' उनले भने।
ट्रमा सेन्टरको रेडियोलोजी विभागकी प्रमुख डा ममता भट्टराईका अनुसार विगतमा नेपालका अन्य ठूला सरकारी अस्पतालहरुमा जडान भइसकेका थ्री टेस्ला एमआरआई मेसिन र ट्रमामा ल्याउन लागिएको एमआरआईको प्राविधिक स्पेसिफिकेसन समान रहेको जानकारी दिइन्।
ट्रमाले एमआरआई मेसिन आएपछि वीर अस्पतालको शुल्क हेरेर ९ देखि १० हजार शुल्क तोक्ने तयारी गरेको छ। ट्रमामा एमआरआई नहुँदा बाहिर निजीमा जाने बिरामीले १२ देखि २५ हजारसम्म शुल्क तिर्न बाध्य भइरहेका छन्।
१२८ स्लाइसको नयाँ सिटी स्क्यान
यसैगरी, ट्रमा सेन्टरले बिरामीको चाप धान्न नसक्ने भइसकेको आफ्नो निकै पुरानो सिटी स्क्यान मेसिनसँगै थय नयाँ उपकरण थप्न लागेको छ। अस्पतालले १२८ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिन खरिद गर्दैछ।
यो उपकरण जडानका लागि लाजिम्पाटस्थित 'निदान मेडी सोलुसन्स प्रा. लि.' छनोट भएको छ। उक्त मेसिन कुल ६ करोड ४३ लाख ७८ हजार ८३२ नेपाली रुपैयाँमा खरिद गर्न लागिएको हो।
ट्रमाका प्रमुख मेसु डा मरासिनीका अनुसार ट्रमा सेन्टरमा अहिले १६ स्लाइस क्षमताको पुरानो सिटी स्क्यान मेसिन सञ्चालनमा रहेको छ। उक्त पुरानो सिटी पटक पटक बिग्रिने र प्रत्येक वर्ष मर्मतमा समेत करोडौं मूल्य खर्च हुने गरेको छ। यस वर्ष पनि अस्पतालले सिटी ट्युब एक करोड भन्दा बढी मूल्यमा फेरेको थियो। नयाँ सिटी खरिदसँगै बिरामीले सहज रुपमा सेवा पाउने उनले जानकारी दिए।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७(२) र ४७(१) बमोजिम न्यूनतम मूल्याङ्कन गरिएका र रितपूर्वकका बोलपत्रदाताहरूलाई छनोट गरिएको डा मरासिनीले बताए।
'कुल २६ करोडभन्दा बढीको लागतमा आउन लागेका यी दुई ठूला उपकरणले राष्ट्रिय ट्रमा सेन्टरको रेडियोलोजी विभागलाई पूर्ण रूपमा आधुनिक बनाउनेछ,' उनले भने, 'सरकारी सेवामै एमआरआई र सिटी स्क्यान उपलब्ध भएपछि गरिब तथा विपन्न बिरामीहरूले निजी क्षेत्रको चर्को आर्थिक शोषणबाट मुक्ति पाउने विश्वास छ।'