पछिल्लो समय स्वादलाई ध्यान दिई स्वास्थ्यलाई ध्यानमा नराख्दा ग्यास्ट्राइटिसको समस्या बढ्दै गएको पाइन्छ। अत्यधिक मात्रामा तयारी खानेकुराको प्रयोगले ग्यास्ट्राइटिसको समस्या बढ्दै गएको चिकित्सकहरू बताउँछन्।
पेट तथा कलेजोरोग विशेषज्ञ डा. विधाननिधि पौडेल कोक, फ्यान्टा, डिउजस्ता पेय पदार्थ, चिया, कफी, चुरोट, सुर्तीजन्य पदार्थ, तारेको र चिल्लो खानेकुराको अत्यधिक प्रयोगले पछिल्लो समय ग्यास्ट्राइटिसको समस्या बढेको बताउँछन्।
लामो समय खाली पेट बस्नु, मैदाजन्य खानेकुरा, रक्सी, चुरोट, अमिलो फलफूल, तथा एउटै तेलमा बारम्बार पकाइएको खानाले पेटमा एसिड बढाएर ग्यास्ट्राइटिसलाई झन् बिगार्ने गर्छ।
ग्यास्ट्राइटिस बढाउने मुख्य खानेकुराहरू यस प्रकार छन्:
चिल्लो र तारिएका खानेकुरा: धेरै तेलमा तारिएका समोसा, पकौडा र एउटै तेल बारम्बार प्रयोग गरी पकाइएका खानेकुराले ग्यास्ट्राइटिसको जोखिम बढाउँछन्।
अमिलो र साइट्रस फलफूल: कागती, सुन्तला, निबुवा र भोगटे जस्ता अमिलो फलफूलका साथै टमाटरले पनि पेटमा एसिडको मात्रा बढाएर समस्या निम्त्याउन सक्छ।
मसलेदार र पिरो खाना: धेरै खुर्सानी, गरम मसला र कडा खालका मसलाको प्रयोगले पेटको भित्री भाग सुन्निने र पोल्ने गर्दछ।
जंक फुड र प्याकेट फुड: चाउचाउ, बिस्कुट र अन्य तयारी खानेकुरामा प्रयोग गरिने 'प्रिजर्भेटिभ' र रसायनले पाचन प्रक्रियामा असर पुर्याउँछन्।
मैदाजन्य परिकार: मैदाबाट बनेका खानेकुरा पचाउन गाह्रो हुने भएकाले यसले पेट फुल्ने र ग्यास्ट्राइटिस बढाउने गर्दछ।
दूधको चिया र कफी: चियापत्ति धेरै हालेर उमालिएको कडा चियामा हुने निकोटिन र कफीमा हुने क्याफिनले ग्यास्ट्राइटिसलाई थप बल्झाउँछ।
धूम्रपान र मद्यपान: चुरोट र रक्सीको सेवनले पेटको झिल्लीलाई कमजोर बनाउँछ, जसले गर्दा ग्यास्ट्राइटिस र पछि अल्सरको जोखिम समेत बढ्छ।
ग्यास्ट्राइटिस हुनबाट बच्ने उपायहरू:
समयमै खाना: हरेक दिन निश्चित समयमा खाना खानुहोस्। लामो समयसम्म खाली पेट नबस्नुहोस्।
स्वस्थ आहार: हरियो सागसब्जी, सलाद, र ताजा फलफूल खानुहोस्।
बार्नुपर्ने खानेकुरा: धेरै पिरो, चिल्लो, तारेको, भुटेको, र प्रशोधित जंक फुड नखानुहोस्।
पानीको मात्रा: प्रतिघण्टा एक गिलास पानी पिउने बानी बसाल्नुहोस्।
नियमित व्यायाम: बिहान मर्निङ वाक, योग, वा अन्य शारीरिक व्यायाम गर्नुहोस्।
तनाव व्यवस्थापन: तनाव कम लिनुहोस् र पर्याप्त सुत्नुहोस्।
खाना खाने तरिका: खाना चपाएर खानुहोस् र खाना खाइसकेपछि केही बेर हिँडडुल गर्नुहोस्।