हामीमध्ये अधिकांशले शरीरलाई आवश्यक मात्रामा पानी पिउने गर्दैनौँ। डाक्टर प्रवेश हमालका अनुसार शरीरमा पानीको मात्रा पर्याप्त नभए जोर्नी सुक्खा हुने, व्यायाम गर्दा चाँडै थाकिने र कुनै पनि काम गर्न जाँगर हुँदैन। पानीको कमीले स्मरण शक्ति बोधो हुने र मुड पनि ताजा हुन पाउँदैन, जसले गर्दा एकाग्रता कायम राख्न सकिँदैन।
शरीरमा पानी पुगे-नपुगेको हामीले तिर्खा र पिसाबको रङबाट थाहा पाउन सक्छौँ। तिर्खा लागेन र पिसाबको रङ सफा भयो भने हाम्रो शरीरमा पर्याप्त पानीको मात्रा छ भनेर बुझ्नुपर्छ।
सही तरिकाले पानी नपिउने कुनै पनि मानिसले चाहे जतिसुकै स्वस्थकर खाना खाए पनि त्यसको फाइदा शरीरलाई हुँदैन। जसका कारण भविष्यमा मानिसले स्वास्थ्यसम्बन्धी अनेकौँ समस्याहरू भोग्नुपर्ने हुन्छ; जस्तै– अपच, कब्जियत, ग्यास्ट्रिक, कलेजोसम्बन्धी समस्या, आलस्य, मिर्गौला (किड्नी) को पत्थरी, रोग प्रतिरोधात्मक क्षमतामा कमी, समय-समयमा बिरामी हुनु, दाद, छालाको एलर्जी, मुखमा दागधब्बा, शरीर बारम्बार चिलाउनु र टाउको दुख्नु।
हाम्रो शरीरमा ७२ प्रतिशत पानी हुने गर्छ। त्यसकारण हामीले पिउने पानीले हाम्रो शरीरमा रहेका मिर्गौला, कलेजो, फोक्सो, पाचन प्रक्रिया र शरीरका सबै अङ्गलाई सही तरिकाले काम गर्न अर्थात् हाम्रो शरीरमा रहेका कोषहरूलाई जीवित राख्न मद्दत गर्दछ।
शरीरमा पानीको अभाव भए/नभएको यसरी थाहा पाउन सकिन्छ:
पिसाबको रङ: सफा वा हल्का पहेँलो पिसाब आउनु शरीरमा पानी पुगेको सङ्केत हो। यदि पिसाब गाढा पहेँलो रङको आउँछ भने शरीरलाई पानीको अभाव छ।
मुख तथा घाँटी सुक्नु: पर्याप्त पानी नपाउँदा मुख र घाँटीमा सुक्खापन हुन्छ। बारम्बार प्यास लाग्नु यसको मुख्य लक्षण हो।
छालाको परीक्षण: हातको छालालाई केही सेकेन्ड तानेर छोड्दा छाला तुरुन्तै आफ्नो पुरानो अवस्थामा नफर्किएमा शरीरमा पानीको कमी छ भनेर बुझ्नुपर्छ।
टाउको दुख्नु र चक्कर आउनु: मस्तिष्कसम्म पुग्ने तरल पदार्थ कम हुँदा टाउको भारी हुने वा रिँंगटा लाग्ने हुन्छ।
कब्जियत र पाचनमा गडबड: पानी कम हुँदा पाचन प्रक्रिया कमजोर हुन्छ र कब्जियतको समस्या देखा पर्छ।