गर्भावस्था एक संवेदनशील अवस्था हो। यस समयमा आमाले गर्ने प्रत्येक गतिविधिले गर्भमा रहेको बच्चालाई समेत असर गरिरहेको हुन्छ। गर्भावस्थामा महिलाले आफ्नो र शिशुको स्वास्थ्यका लागि विशेष ध्यान दिनुपर्ने स्त्रीरोग विशेषज्ञ डा. गणेश दंगाल बताउँछन्।
यस अवस्थामा भारी काम गर्ने, लामो यात्रा गर्ने, धूम्रपान वा मद्यपान गर्ने र चिकित्सकको सल्लाह बिना औषधि सेवन गर्ने जस्ता कार्य नगर्न उनको सुझाव छ।
यस अवस्थामा ध्यान दिनुपर्ने मुख्य गल्ती र सावधानीहरू यस प्रकार छन्:
१. खानपानमा ध्यान नदिनु
पहिलो त्रैमासिकमा भुइँकटहर, मेवा र हरियो आलु खानु हुँदैन; किनकि यसमा पाइने तत्वले गर्भपतन गराउने वा प्रसव पीडा बढाउने जोखिम हुन्छ। त्यस्तै, कफी वा चियामा पाइने क्याफिनको अत्यधिक प्रयोग पनि गर्भको शिशुका लागि हानिकारक हुन्छ।
२. लामो यात्रा र आरामको कमी
लामो तथा झन्झटिलो यात्राबाट बच्नुपर्छ। तर, गर्भवतीले कामै गर्नु हुँदैन भनेर पूर्ण रूपमा घरमै आराम मात्र गरेर बस्नु पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ। चिकित्सकको सल्लाह अनुसार हल्का हिँडडुल र सामान्य काम गर्नु राम्रो हुन्छ।
३. भारी काम र मानसिक तनाव
गह्रौँ सामान उठाउने वा पेटमा दबाब पर्ने कुनै पनि काम गर्नु हुँदैन। यसका साथै, शारीरिक थकान र मानसिक तनावबाट सधैँ टाढै रहनुपर्छ, किनकि यसको सीधा असर शिशुको विकासमा पर्छ।
४. औषधिको जथाभाभी प्रयोग
फोलिक एसिड, आइरन चक्की र क्याल्सियम जस्ता आवश्यक औषधिहरू चिकित्सकको सल्लाह अनुसार नियमित सेवन गर्नुपर्छ। डाक्टरको सिफारिस बिना कुनै पनि पेनकिलर (दुखाइ कम गर्ने औषधि), एन्टिबायोटिक वा अन्य औषधिको सेवन भुलेर पनि गर्नु हुँदैन।
५. सरसफाइ र धूम्रपान/मद्यपान
धूम्रपान र मद्यपानले शिशुको शारीरिक तथा मानसिक वृद्धिमा गम्भीर र दीर्घकालीन असर पुर्याउँछ। यसका साथै, विभिन्न संक्रमणबाट बच्नका लागि व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनु आवश्यक छ।