क्याल्सियम शरीरको लागि अति आवश्यक तत्त्व हो। यसले हड्डी र दाँतलाई मजबुत बनाउन मद्दत गर्छ। शरीरमा पाइनेमध्ये अधिकांश क्याल्सियम हड्डीमा पाइन्छ। क्याल्सियमकै कारण मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरूले पनि शरीरमा स्वस्थ रूपमा काम गरिरहेका हुन्छन्।
पोषणविद् आयुष अधिकारीका अनुसार शरीरमा क्याल्सियमको कमीले हड्डी कमजोर हुने, मांसपेशी बाउँडिने र झम्झमाउने समस्या देखिन्छ। यसको कमी हुन नदिन दैनिक आहारमा दूध, दही, चिज र पनिर जस्ता दुग्धजन्य पदार्थ, हरियो सागसब्जी, बदाम र तिल समावेश गर्नुपर्छ।
क्याल्सियमको कमी हुँदा देखिने समस्याहरू
मांसपेशी र जोर्नी दुख्ने: हिँडडुल गर्दा विशेष गरी तिघ्रा र पाखुराका मासु दुख्ने वा बाउँडिने हुन्छ।
हड्डी कमजोर हुने: शरीरमा क्याल्सियम नपुग्दा हड्डीको घनत्व घट्छ, जसले गर्दा ढाड तथा जोर्नी दुख्ने र हल्का चोटपटक लाग्दा पनि हड्डी भाँचिने जोखिम बढ्छ।
दाँत कमजोर हुने: गिजा दुख्ने, दाँतको जरा कमजोर हुने र दाँत खिइने समस्या आउँछ।
थकान र मानसिक समस्या: अत्यधिक थकान, कमजोरी महसुस हुने, मुड स्विङ हुने र चिडचिडापन बढ्ने हुन्छ।
छाला तथा नङसम्बन्धी: छाला सुक्खा हुने र नङहरू सजिलै टुट्ने हुन्छन्।
कमी हुन नदिन खानेकुराहरू
दुग्धजन्य पदार्थ: दैनिक एक गिलास दूध, दही वा पनिर सेवन गर्नुहोस्, यी क्याल्सियमका मुख्य र सजिलै पच्ने स्रोत हुन्।
हरियो सागसब्जी: ब्रोकाउली, बन्दागोभी र गाढा हरियो पालुङ्गोको तरकारी नियमित खानुहोस्।
बदाम र गेडागुडी: बदाम, ओखर र विभिन्न किसिमका सिमीमा प्रशस्त क्याल्सियम र प्रोटिन पाइन्छ।
फलफूल: सुन्तला र किवी जस्ता फलफूलको सेवा लाभदायक हुन्छ।
बीउहरू: तिल र आलसको प्रयोग गरेर क्याल्सियमको मात्रा बढाउन सकिन्छ।