फलफूलमा प्रयोग भएको विषादी यकिनका साथ पत्ता लगाउन प्रयोगशाला परीक्षण नै चाहिन्छ। तर, सामान्य सावधानी अपनाएर र केही लक्षणहरू पहिचान गरेर यसको जोखिमबाट बच्न सकिन्छ।
वरिष्ठ कन्सल्ट्यान्ट फिजिसियन डा. अच्युतशाली घिमिरे विषादीबाट बच्न सकभर मौसम अनुसार फल्ने फलफूल र तरकारीको मात्र सेवन गर्न सुझाव दिन्छन्। विषादीमुक्त तरकारी र फलफूलको सेवनले रगतको संरचनालाई मजबुत राखेर हामीलाई दीर्घकालीन रूपमा स्वस्थ राख्न मद्दत पुर्याउने उनी बताउँछन्।
विषादी भएका फलफूल चिन्ने केही तरिकाहरू
अस्वाभाविक चमक: यदि फलफूल प्राकृतिक रूपभन्दा बढी चम्किलो र आकर्षक देखिन्छ भने त्यसमा रासायनिक विषादी वा मोम (Wax) को प्रयोग भएको हुन सक्छ।
बेमौसमका फलफूल: बेमौसमी फलफूलहरूमा किरा नलागोस् वा छिटो पाकोस् भनेर बढी मात्रामा रसायन र विषादी प्रयोग गरिन्छ। त्यसैले जहिले पनि मौसमी फलफूल नै छान्नुहोस्।
एकदमै सफा र दाग नभएको: एकदमै सफा, चिल्लो र एउटै आकारका फलफूलमा विषादीको मात्रा बढी हुन सक्छ। अलिअलि दाग लागेका वा प्राकृतिक रूपमा किराले सामान्य खाएका फलहरू तुलनात्मक रूपमा सुरक्षित मानिन्छन्।
अस्वाभाविक गन्ध: फलफूल सुँघ्दा फलको प्राकृतिक सुगन्धको साटो तीखो र अस्वाभाविक रासायनिक गन्ध आएमा त्यसमा रसायन हुन सक्छ।
कुहिनुको सट्टा सुक्दै जानु: फलफूल पाकिसकेपछि सामान्यतया समयक्रममा कुहिन थाल्छ। यदि फल कुहिनुको सट्टा लामो समयसम्म उस्तै रहन्छ वा सुक्दै मात्र जान्छ भने त्यसमा रसायन वा प्रिजर्भेटिभ्स प्रयोग गरिएको बुझ्न सकिन्छ।
विषादीको असर कम गर्ने घरेलु उपायहरू:
फलफूल खानु वा पकाउनुअघि नुन वा बेकिङ सोडा मिसाइएको पानीमा १०–१५ मिनेट डुबाएर राख्नुहोस्।
त्यसपछि सफा र बग्दो चिसो पानीले मज्जाले पखाल्नुहोस्।
सम्भव भएसम्म र आवश्यक पर्ने फलफूलको बोक्रा राम्ररी ताछेर मात्र प्रयोग गर्नुहोस्।