कहिलेकाहीँ हामीमध्ये धेरै जना व्यस्तता वा अल्छीपनका कारण लामो समयसम्म पिसाब रोकेर राख्छौँ। यो बानी हानिकारक हुने मिर्गौला प्रत्यारोपण सर्जन तथा युरोलोजिस्ट डा. वेश अन्सारी बताउँछन्।
लामो समयसम्म पिसाब रोकेर राख्दा त्यसले दीर्घकालीन असर गर्न सक्ने उनी बताउँछन्। यसले मिर्गौलामा पत्थरी, मूत्रनलीमा संक्रमण, मांसपेशी कमजोर हुने लगायतका समस्या ल्याउने गर्छ। लामो समयसम्म पिसाब रोक्दा स्वास्थ्यमा विभिन्न गम्भीर समस्याहरू देखा पर्न सक्छन्।
पिसाब रोक्ने बानीले निम्त्याउने मुख्य असरहरू यस प्रकार छन्:
युरिनरी ट्र्याक्ट इन्फेक्सन
पिसाब थैलीमा ब्याक्टेरिया जम्मा भई संक्रमण हुने जोखिम तीव्र रूपमा बढ्छ।
पिसाब थैली तन्किने
लामो समय पिसाब रोक्दा थैलीका मांसपेशी कमजोर हुन्छन् र पिसाब पूर्ण रूपमा बाहिर निस्कन सक्दैन।
मिर्गौलामा क्षति
पिसाब 'ब्याक-फ्लो' (फिर्ता) भएर मिर्गौिलासम्म पुग्दा मिर्गौला संक्रमण र पत्थरी हुन सक्छ।
मांसपेशीको नियन्त्रण गुम्ने
पिसाब थैलीको तल्लो भागका मांसपेशी कमजोर भई खोक्दा वा हाछ्युँ गर्दा आफैँ पिसाब चुहिने समस्या हुन सक्छ।