पेट स्वस्थ राख्न फाइबर, प्रोबायोटिक्स (फाइदाजनक ब्याक्टेरिया) र भिटामिनले भरिपूर्ण सन्तुलित आहार आवश्यक हुन्छ । यसका लागि ताजा फलफूल, सागसब्जी, गेडागुडी र दहीलाई दैनिक खानामा समावेश गर्नुपर्छ ।
पेट स्वस्थ छ कि छैन भन्ने कुरा राम्रो पाचन शक्तिबाट मात्र थाहा हुँदैन; यसको सीधा सम्बन्ध हाम्रो रोग प्रतिरोधात्मक प्रणाली, मानसिक स्वास्थ्य र शारीरिक ऊर्जासँग पनि हुने पेट तथा कलेजो रोग विशेषज्ञ डा. खलील मिया बताउँछन् । जसरी प्रत्येक व्यक्तिको शारीरिक बनोट फरक हुन्छ, त्यसै गरी प्रत्येकको पेटमा रहने ब्याक्टेरियाको अवस्था पनि भिन्न हुने उनको भनाइ छ ।
पेटलाई स्वस्थ र पाचन प्रणालीलाई चुस्त राख्न दैनिक आहारमा यी खानेकुराहरू नियमित समावेश गर्नुहोस्:
फाइबरयुक्त खानेकुरा: स्याउ, मेवा, ओट्स र हरिया सागसब्जीले पाचन प्रक्रियालाई बलियो बनाउँछन् ।
दही (प्रोबायोटिक्स): दहीमा हुने 'प्रोबायोटिक्स' ले पेटका लागि फाइदाजनक ब्याक्टेरिया बढाउँछ र पाचन प्रणालीलाई सफा राख्छ ।
मुङको दाल र गेडागुडी: चना, राजमा र मुङको दाल शरीरका लागि पचाउन सजिलो प्रोटिनका उत्कृष्ट स्रोत हुन् ।
आलस र ड्राइ फ्रुट्स: बदाम, एभोकाडो र आलसका दानाले पेटलाई आवश्यक पर्ने स्वस्थ बोसो (हल्दी फ्याट्स) प्रदान गर्छन् ।
पानी: शरीरमा पानीको मात्रा पर्याप्त हुँदा कब्जियतको समस्या हुन पाउँदैन ।
के कुराबाट टाढा रहने?
प्रशोधित (प्याकेटका) खानेकुरा, अत्यधिक चिनी र रक्सीको सेवनबाट टाढा रहनु नै पेटको समग्र स्वास्थ्यका लागि सबैभन्दा उत्तम मानिन्छ ।