क्यान्सरको जोखिमलाई स्वस्थ जीवनशैली, सन्तुलित आहार र नियमित स्वास्थ्य परीक्षणमार्फत निकै कम गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार लगभग ३० देखि ५० प्रतिशत क्यान्सरका घटनाहरूलाई पूर्वसतर्कता अपनाएर रोकथाम गर्न सकिन्छ ।
क्यान्सरबाट बच्नका लागि स्वस्थ र सन्तुलित आहारको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने क्यान्सर रोग विशेषज्ञ डा. उज्वल चालिसे बताउँछन् । उनका अनुसार दैनिक खानामा ताजा फलफूल, हरिया तरकारी, दाल, अण्डा र माछा जस्ता पोषक तत्त्वयुक्त खानेकुरा समावेश गर्ने र चिनीको मात्रा कम गर्नाले क्यान्सरको जोखिम न्यूनीकरण हुन्छ ।
साथै, धेरै तेल भएका, अत्यधिक प्रशोधित गरिएका र फास्टफुडको प्रयोग कम गरेर पनि क्यान्सर लाग्ने सम्भावनालाई घटाउन सकिने उनको भनाइ छ ।
क्यान्सरको जोखिम कम गर्ने मुख्य उपायहरू:
धूम्रपान र सुर्तीजन्य पदार्थको पूर्ण त्याग: सुर्तीजन्य पदार्थको सेवन क्यान्सरको प्रमुख कारक तत्व हो, त्यसैले यसबाट टाढै रहनुपर्छ ।
खानपानमा विशेष ध्यान: दैनिक आहारमा एन्टिअक्सिडेन्टयुक्त फलफूल र तरकारी बढाउने तथा जंक फुड पूर्ण रूपमा कम गर्ने ।
नियमित व्यायाम: तौललाई नियन्त्रणमा राख्न र शरीरको प्रतिरोधात्मक क्षमता बलियो बनाउन दैनिक शारीरिक रूपमा सक्रिय रहने ।
रक्सीको सेवनमा नियन्त्रण: मदिराजन्य पदार्थको अत्यधिक सेवनले विभिन्न प्रकारका क्यान्सरको जोखिम बढाउने हुँदा यसलाई नियन्त्रण वा पूर्ण रूपमा बन्द गर्ने ।
घामको हानिकारक किरणबाट बच्ने: छालाको क्यान्सरबाट बच्न चर्को घाममा हिँड्दा सनस्क्रिनको प्रयोग गर्ने वा छाता ओढ्ने जस्ता सुरक्षात्मक उपाय अपनाउने ।
नियमित स्वास्थ्य परीक्षण (स्क्रीनिङ): समय-समयमा स्वास्थ्य परीक्षण गर्दा शरीरमा क्यान्सरका प्रारम्भिक लक्षणहरू समयमै पत्ता लाग्छन् र उपचार सहज हुन्छ ।