सामान्यतया महिनावारी सुक्ने प्रक्रियालाई मेनोपज अर्थात् रजनोवृत्ति भनिन्छ। यो एक सामान्य र प्राकृतिक प्रक्रिया भए पनि यस समयमा कतिपय महिलाहरूमा असामान्य प्रकारका लक्षणहरू देखा पर्ने स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रा.डा. पदमराज पन्त बताउँछन्।
उनका अनुसार एस्ट्रोजन र प्रोजेस्ट्रोन हर्मोनको मात्रा शरीरमा कम हुँदै जाँदा मेनोपज अर्थात् रजनोवृत्तिको अवस्था आउने गर्छ।
मेनोपजका समयमा देखिने परिवर्तनहरू:
अनियमित महिनावारी: मेनोपज पूर्ण रूपमा हुनुअघि महिनावारी छिटो-छिटो हुने, ढिलो हुने वा लामो समयसम्म रक्तस्राव हुने जस्ता परिवर्तन देखिन्छन्।
राति पसिना आउने: रातिको समयमा अचानक चिटचिट पसिना आउने र जीउ चिसो हुने गर्छ।
हाडजोर्नी र मांसपेशी दुख्ने: हर्मोनको कमीले गर्दा हड्डीहरू कमजोर हुने, खिइने र जोर्नीहरू दुख्ने समस्या बढ्छ।
योनि सुख्खा हुने: एस्ट्रोजन हर्मोन घट्नाले योनि मार्ग सुख्खा हुन्छ, जसले गर्दा यौनसम्पर्कका बेला पीडा वा असजिलोपन हुन सक्छ।
तनाव र डिप्रेसन: मनमा कुरा खेलिरहने, आत्तिने, उदास हुने वा डिप्रेसन जस्तो मानसिक समस्या देखिन सक्छ।