पेरियोडोन्टिस्ट (गिजा तथा डेन्टल इम्प्लान्ट विशेषज्ञ) को रूपमा पेरियोडोन्टिक्स तथा ओरल इम्प्लान्टोलोजीमा स्नातकोत्तर (एमडीएस) अध्ययन पूरा गरेपछि र त्यसअघि दन्त शल्यचिकित्सामा स्नातक (बीडीएस) अध्ययन, इन्टर्नशिप तथा हाउस अफिसरका रूपमा हासिल गरेको अनुभवसहित करिब एक दशकभन्दा बढी समयदेखि क्लिनिकल अभ्यास, अध्यापन र अनुसन्धानमा संलग्न रहँदै मैले १० हजारभन्दा बढी बिरामीहरूको परीक्षण, उपचार तथा अनुगमन गर्ने अवसर प्राप्त गरेको छु। यस क्रममा मैले एउटा कुरा बारम्बार अनुभव गरेको छु-धेरै मानिसहरू दाँतको समस्या भनेपछि केवल दाँत दुख्ने, कीरा लाग्ने वा दाँत झर्ने मात्र सम्झन्छन्। तर वास्तविकता निकै फरक छ। मुख शरीरको प्रवेशद्वार हो, र गिजाको स्वास्थ्य सम्पूर्ण शरीरको स्वास्थ्यसँग गहिरो रूपमा जोडिएको छ।
पहिले चिकित्साशास्त्रमा मुख र शरीरलाई छुट्टाछुट्टै हेर्ने चलन थियो। अहिले भने विश्वभरका अनुसन्धानहरूले स्पष्ट रूपमा देखाएका छन् कि गिजाको दीर्घकालीन संक्रमण (पेरियोडोन्टाइटिस) केवल मुखभित्र सीमित रहने रोग होइन। यसले शरीरभरि दीर्घकालीन सूजन फैलाएर मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मस्तिष्कघात, दीर्घकालीन मिर्गौला रोग, गर्भावस्थाका जटिलता तथा केही अवस्थामा स्मरणशक्ति कमजोर हुने समस्यासँग समेत सम्बन्ध राख्न सक्छ।
गिजाको रोग वास्तवमा के हो?
धेरै मानिसलाई ब्रस गर्दा वा खाना खाँदा गिजाबाट रगत आउनु सामान्य जस्तो लाग्छ। तर वास्तविकता त्यस्तो होइन। गिजाबाट रगत आउनु कहिल्यै सामान्य हुँदैन। यो गिजामा संक्रमण सुरु भएको पहिलो र महत्त्वपूर्ण संकेत हो।
यदि समयमै उपचार गरिएन भने संक्रमण बिस्तारै गहिरिँदै जान्छ। दाँतलाई समातेर राख्ने हड्डी गल्न थाल्छ, गिजा खुम्चिन्छ, दाँत हल्लिन थाल्छ र अन्ततः दाँत झर्न सक्छ। अझ चिन्ताजनक कुरा के हो भने, यही संक्रमणबाट उत्पन्न हुने जीवाणु तथा सूजन उत्पन्न गर्ने रसायनहरू रगतमार्फत शरीरका विभिन्न अंगसम्म पुग्न सक्छन्।
मुखको संक्रमणले शरीरलाई कसरी असर गर्छ?
गिजाको रोगमा करोडौँ हानिकारक जीवाणु दाँत र गिजाको बीचमा बसोबास गर्छन्। दैनिक ब्रस गर्दा, खाना चपाउँदा वा गिजा सुन्निएको अवस्थामा यी जीवाणु तथा तिनले उत्पादन गरेका विषाक्त पदार्थहरू रगतमा प्रवेश गर्न सक्छन्।
यसले शरीरमा निरन्तर सूजन बढाउँछ। यही दीर्घकालीन सूजन लाई आज धेरै नसर्ने दीर्घरोगहरूको साझा जैविक आधार मानिएको छ। त्यसैले वैज्ञानिकहरूले अहिले एउटा महत्त्वपूर्ण अवधारणालाई जोड दिइरहेका छन्-"स्वस्थ मुख बिना स्वस्थ शरीर सम्भव छैन।"
मधुमेह र गिजाको रोग: दुईतर्फी सम्बन्ध
मधुमेह भएका व्यक्तिमा गिजाको रोग हुने सम्भावना बढी हुन्छ। तर अझ महत्त्वपूर्ण कुरा के हो भने गिजाको रोगले पनि मधुमेहलाई नियन्त्रण गर्न कठिन बनाउँछ।
जब गिजामा दीर्घकालीन संक्रमण हुन्छ, शरीरमा सूजन बढ्छ। यसले इन्सुलिनको प्रभावकारिता घटाएर इन्सुलिन प्रतिरोध बढाउँछ, जसका कारण रगतमा चिनीको मात्रा बढ्न सक्छ।
हालका धेरै उच्चस्तरीय वैज्ञानिक प्रमाणहरू, विशेषगरी विभिन्न अध्ययनहरूको व्यवस्थित समीक्षा र संयुक्त तथ्याङ्कीय विश्लेषण, ले देखाएका छन् कि स्केलिङ, रुट प्लानिङ तथा आवश्यक पेरियोडोन्टल उपचारपछि धेरै मधुमेह भएका बिरामीमा गत २–३ महिनाको औसत रगतमा चिनीको मात्रा देखाउने परीक्षण (एचबीए१सी) औसत करिब ०.३% देखि ०.६% सम्म घट्न सक्छ। यो कमी सानो जस्तो देखिए पनि मधुमेह नियन्त्रणका दृष्टिले चिकित्सकीय रूपमा निकै महत्त्वपूर्ण मानिन्छ।यद्यपि, यसको अर्थ गिजाको उपचारले मधुमेह निको पार्छ भन्ने होइन। यसले औषधि, उचित आहार, नियमित व्यायाम तथा चिकित्सकीय उपचारसँग मिलेर मधुमेह नियन्त्रणलाई अझ प्रभावकारी बनाउन सहयोग गर्छ।
उच्च रक्तचापमा पनि सकारात्मक प्रभाव
हालका अनुसन्धानहरूले अर्को महत्त्वपूर्ण तथ्य देखाएका छन्।
गम्भीर गिजाको रोग भएका व्यक्तिमा उच्च रक्तचाप हुने सम्भावना बढी देखिएको छ। गिजाको संक्रमणले रक्तनलीको भित्री तह मा असर पार्ने भएकाले रक्तचाप बढ्न सक्ने विश्वास गरिन्छ।
अन्तर्राष्ट्रिय अध्ययनहरूका अनुसार गिजाको सफल उपचारपछि धेरै बिरामीमा सिस्टोलिक तथा डायास्टोलिक रक्तचापमा उल्लेखनीय सुधार देखिएको छ। सबै बिरामीमा समान परिणाम नआए पनि राम्रो मुख स्वास्थ्यले रक्तचाप नियन्त्रणमा सहयोग पुर्याउने प्रमाणहरू दिनप्रतिदिन बलिया हुँदै गएका छन्।
मुटुरोगसँग सम्बन्ध
मुटुरोग विश्वभर मृत्युको प्रमुख कारणमध्ये एक हो। धेरै अनुसन्धानले गम्भीर गिजाको रोग भएका व्यक्तिमा हृदयाघात र मस्तिष्कघात को जोखिम बढी देखाएका छन्। गिजाको संक्रमणबाट उत्पन्न हुने सूजनले धमनीमा बोसो जम्ने प्रक्रिया लाई तीव्र बनाउन तथा रक्तनलीको कार्यक्षमता बिगार्न भूमिका खेल्न सक्छ। यद्यपि गिजाको उपचारले हृदयाघात पूर्ण रूपमा रोक्छ भन्ने प्रमाण अझै पर्याप्त छैन, तर उपचारपछि सी–रिएक्टिभ प्रोटिन जस्ता सूजनजन्य सूचक घट्ने, रक्तनलीको कार्यक्षमता सुधारिने तथा समग्र मुटुको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने पर्याप्त वैज्ञानिक प्रमाण उपलब्ध छन्।
गर्भवती महिलाका लागि किन अझ महत्त्वपूर्ण?
गर्भावस्थामा हुने हर्मोन परिवर्तनका कारण गिजा सजिलै सुन्निने र रगत आउने समस्या देखिन सक्छ। यदि गिजाको संक्रमण गम्भीर भयो भने समयअघि बच्चा जन्मिने, कम तौलको बच्चा जन्मिने तथा अन्य गर्भावस्थासम्बन्धी जटिलतासँग यसको सम्बन्ध देखिएको छ। त्यसैले गर्भवती महिलाले नियमित मुख परीक्षण तथा आवश्यक गिजाको उपचार गराउनु अत्यन्त महत्त्वपूर्ण हुन्छ।
मिर्गौला, श्वासप्रश्वास र अन्य रोगहरू
हालका अनुसन्धानहरूले दीर्घकालीन मिर्गौला रोग, रुमेटोइड आर्थराइटिस, श्वासप्रश्वाससम्बन्धी संक्रमण तथा केही न्युरोडिजेनेरेटिभ रोगहरू सँग पनि गिजाको रोगको सम्बन्ध देखाएका छन्।
यद्यपि सबै रोगमा प्रत्यक्ष कारण–परिणाम सम्बन्ध पूर्ण रूपमा प्रमाणित भइसकेको छैन, तर एउटा कुरा स्पष्ट छ—गिजाको दीर्घकालीन संक्रमणले शरीरमा सूजन बढाउने भएकाले धेरै प्रणालीगत रोगहरूमा यसको नकारात्मक भूमिका हुन सक्छ।
उपचारपछि बिरामीले महसुस गर्ने परिवर्तन
मेरो व्यावसायिक यात्रामा दन्त शल्यचिकित्सामा स्नातक (बीडीएस) अध्ययन, इन्टर्नशिप, हाउस अफिसरका रूपमा सेवा, पेरियोडोन्टिक्स तथा ओरल इम्प्लान्टोलोजीमा स्नातकोत्तर (एमडीएस) अध्ययन तथा त्यसपछिको पेरियोडोन्टिस्ट (गिजा तथा डेन्टल इम्प्लान्ट विशेषज्ञ) का रूपमा निरन्तर क्लिनिकल अभ्यासका क्रममा हजारौँ बिरामीहरूको उपचार गर्ने अवसर प्राप्त भएको छ। यस क्रममा धेरै बिरामीले गिजाको उपचारपछि केवल मुखको स्वास्थ्य मात्र होइन, जीवनको गुणस्तरमा पनि उल्लेखनीय सुधार अनुभव गरेका छन्।
धेरै बिरामीले भनेका छन्-
- गिजाबाट रगत आउन बन्द भयो।
- मुखको दुर्गन्ध हट्यो।
- खाना राम्रोसँग चपाउन सकियो।
- दाँत बलियो महसुस भयो।
- मधुमेह नियन्त्रण पहिलेभन्दा सहज भयो।
- केही बिरामीमा रक्तचाप पनि पहिलेभन्दा राम्रो नियन्त्रणमा आयो।
- शरीर हलुका र ऊर्जावान् महसुस भयो।
- आत्मविश्वास बढ्यो।
यी अनुभवहरू केवल व्यक्तिगत कथामात्र होइनन्। हालका वैज्ञानिक अध्ययनहरूले पनि गिजाको सफल उपचारपछि एचबीए१सी मा सुधार आउने, शरीरको सूजन कम हुने, रक्तचापमा सुधार देखिन सक्ने, रक्तनलीको कार्यक्षमता बढ्ने तथा जीवनस्तर उल्लेखनीय रूपमा सुधार हुन सक्ने देखाएका छन्।
आफ्नो मुखलाई बेवास्ता नगर्नुहोस्
यदि तपाईंलाई तलका कुनै पनि लक्षण छन् भने तुरुन्त दन्त चिकित्सक वा पेरियोडोन्टिस्टसँग परामर्श लिनुहोस्-
- ब्रस गर्दा गिजाबाट रगत आउने
- गिजा सुन्निने वा रातो हुने
- मुखबाट दुर्गन्ध आउने
- गिजाबाट पीप आउने
- दाँत हल्लिनु
- दाँत लम्बिएको जस्तो देखिनु
- खाना अड्किने
- पुरानो मधुमेह भएर पनि एचबीए१सी नियन्त्रणमा नआउनु
- स्वस्थ जीवनको सुरुवात मुखबाट हुन्छ
हामी प्रायः मुटु, मिर्गौला, फोक्सो वा मधुमेहको नियमित परीक्षण गराउँछौँ, तर आफ्नै मुखको स्वास्थ्यलाई बेवास्ता गर्छौँ। जबकि शरीरमा देखिने धेरै समस्याको सुरुआत मुखबाट हुन सक्छ।
दैनिक दुई पटक सही तरिकाले ब्रस गर्ने, दाँतको बीच सफा गर्न डेन्टल फ्लस वा इन्टरडेन्टल ब्रस प्रयोग गर्ने, धूम्रपान तथा सुर्तीजन्य पदार्थ त्याग्ने, सन्तुलित आहार खाने तथा प्रत्येक ६ महिनामा दन्त परीक्षण गराउने बानीले तपाईंको दाँत मात्र होइन, सम्पूर्ण शरीरको स्वास्थ्य जोगाउन मद्दत गर्न सक्छ।
याद राख्नुहोस्-गिजाबाट रगत आउनु सामान्य होइन। मुखको संक्रमण केवल मुखको समस्या होइन। वैज्ञानिक प्रमाणहरूले देखाएका छन् कि गिजाको समयमै उपचारले दाँत जोगाउनुका साथै मधुमेह नियन्त्रणमा सहयोग गर्न, रक्तचाप सुधार्न, शरीरको सूजन कम गर्न, रक्तनलीको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न तथा समग्र जीवनस्तर सुधार्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
स्वस्थ मुस्कान केवल सौन्दर्यको प्रतीक होइन, यो स्वस्थ शरीर, स्वस्थ मुटु र स्वस्थ जीवनको आधार हो।