पाचन प्रणाली जीवले खाना खाने र पचाउने क्रियासँग सम्बन्धित प्रणाली हो। खाना मुखबाट प्रवेश गरी ग्यास्ट्रोइन्टेस्टाइनल (जीआई ट्रयाक्ट) का खाली अङ्गहरू हुँदै गुदासम्म पुग्छ। कलेजो, प्यान्क्रियाज र पित्ताशय पाचन प्रणालीका ठोस अंगहरू हुन्।
पाचन प्रणालीलाई कमजोर बनाउने मुख्य खानेकुराहरूमा चिल्लो तथा तारेका परिकार, अत्यधिक जंकफुड र प्रशोधित खाना, साथै धेरै मसलादार वा पिरो खानेकुरा पर्ने पोषणविद् अतुल उपाध्याय बताउँछन्। उनका अनुसार यी खानेकुराहरूले पेटमा ग्यास, अपच र कब्जियत गराउँछन्।
पाचन प्रणालीका लागि हानिकारक खानेकुराहरू
चिल्लो र तारेका खानेकुरा: पिरो, बोसोयुक्त र डिप फ्राइ गरिएका खानेकुरा पचाउन पेटलाई धेरै समय लाग्छ, जसले गर्दा सुस्तता आउँछ।
प्रशोधित र जंकफुड: प्याकेटका खानेकुरा, चाउचाउ र बिस्कुटमा फाइबर नहुने हुँदा पेटको स्वास्थ्य बिग्रन्छ।
अतिरिक्त चिनी र कृत्रिम गुलियो: कोल्ड ड्रिंक्स र मिठाईले पेटका राम्रा ब्याक्टेरियालाई असर गर्छन्।
मैदाजन्य वस्तुहरू: पाउरोटी वा मैदाबाट बनेका विभिन्न परिकारहरूले कब्जियत बढाउँछन्।
बच्ने उपायहरू
ताजा खाना: सधैँ ताजा र घरमै बनेको सादा खाना खानुहोस्।
फाइबरयुक्त आहार: सलाद, हरिया सागसब्जी र फलफूल दैनिक सेवन गर्नुहोस्।
प्रशस्त पानी: दिनभरिमा शरीरलाई पुग्ने गरी शुद्ध पानी पिउने बानी बसाल्नुहोस्।