बालबालिकामा देखिने विभिन्न स्वास्थ्य समस्यामध्ये एक हो, पिसाबको संक्रमण। सामान्यतया बालबालिकामा हुने पिसाबको संक्रमण भन्नाले मुत्रनलीको संक्रमण भन्ने बुझिन्छ। यसलाई औषधि विज्ञानको भाषामा ‘युरिनरी ट्र्याक इन्फेक्सन (यूटीआई)’ भन्ने गरिएको छ।
बालबालिकाको उमेर जति सानो भयो, संक्रमण हुने सम्भावना पनि त्यति नै हुने मिर्गौला रोग विशेषज्ञ डा वेश अन्सारी बताउँछन् । उनका अनुसार एक वर्ष उमेर समूहका बालबालिकामध्ये बालकमा यो समस्या बढी देखिन्छ।
केटाकेटीलाई लगाइदिने डायपरको प्रयोग सही तरिकाले नभएको खण्डमा संक्रमण निम्त्याउन सक्छ।डायपरको अत्याधिक प्रयोगले बच्चाको यौनांग गुम्सिने र पिसाबको संक्रमण हुनसक्ने खतरा बढ्छ। यसका साथै सरसफाइमा कमी, र कब्जियतका कारण पनि बालबालिकामा पिसाबको संक्रमण हुनसक्छ ।
मुख्य कारणहरू
ब्याक्टेरियाको संक्रमण : दिसाको द्वारबाट ब्याक्टेरिया सजिलै छोटो मूत्रमार्ग हुँदै भित्र छिर्छन्।
कम पानी पिउनु : कम पानी खाँदा पिसाब कम लाग्छ र नलीमा जम्मा भएका कीटाणु बाहिर निस्कन पाउँदैनन्।
पिसाब रोक्नु : स्कुल वा खेल्ने बेलामा बालबालिकाले लामो समयसम्म पिसाब रोकेर राख्छन्।
कब्जियत : पेट सफा नहुँदा वा कब्जियत हुँदा मूत्रनलीमा दबाब पर्छ र संक्रमणको जोखिम बढ्छ।
सरसफाइमा कमी : बालिकाको दिसा धुँदा हात पछाडिबाट अगाडि लैजाँदा ब्याक्टेरिया सर्छ।
शारीरिक बनावट : छालाको समस्या वा मूत्रमार्गको बनावटमा गडबड हुँदा पनि यो समस्या हुन्छ।