सामान्यतया अफिसमा बसेर काम गर्ने मानिसहरू लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बसेर काम गर्ने गर्छन्। यसरी लामो समयसम्म गतिहीन भएर एउटै ठाउँमा लामो समय बसिरहँदा मुटु रोगको जोखिम बढ्न सक्ने विभिन्न अध्ययनहरूले देखाएका छन्।
मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र गुरुत्वाकर्षण कम हुँदा त्यसले खुट्टाको मांशपेशीमा कम रक्तसञ्चार गर्छ र त्यसले पिँडुलामा रगत जम्छ। खुट्टा दोबारेर बस्दा पनि त्यसले रक्त प्रवाह कम गर्न सक्छ। जसले मुटु रोगको जोखिम बढाउँछ।
यस्ता कार्यले शरीरमा रगतको गति सुस्त बनाउँछ र मुटुको स्वास्थ्यमा नराम्रो असर पार्छ।
मुटुको खतरा बढाउने कारणहरू
रगत जम्ने जोखिम : धेरै बेर बस्दा खुट्टामा रगत राम्ररी बग्दैन र रक्तनलीमा जम्ने खतरा हुन्छ।
क्यालोरी कम खर्च हुनु: शरीरले कम क्यालोरी जलाउँदा तौल बढ्न सक्छ।
कोलेस्ट्रोल बढ्नु : नराम्रो कोलेस्ट्रोल र ट्राइग्लिसराइडको मात्रा बढ्छ।
रक्तचाप बढ्नु : लगातार बसिरहँदा उच्च रक्तचापको समस्या देखा पर्न सक्छ।
बच्ने उपायहरू
हरेक घण्टा उठ्ने :हरेक ६० मिनेटमा १ वा २ मिनेट उठेर हिँड्नुहोस्।
सामान्य व्यायाम : कामको बीचमा हल्का स्ट्रेचिङ वा हातखुट्टा चलाउने गर्नुहोस्।
सक्रिय बानी : लिफ्टको सट्टा भर्याङ चढ्ने वा पानी पिउन जाँदा हिँड्ने बानी बसाल्नुहोस्।