हाम्रो शरीरमा दुई वटा मिर्गौला हुन्छन्। मिर्गौलाको मुख्य काम रगत सफा गर्ने हो। हामीले खाएको खानेकुरा प्राचन प्रणालीमा गएपछि पाचन र मेटावोलिजम प्रक्रिया हुन्छ र दुषित पदार्थ जम्मा हुन्छ।
खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः लिन्छ भने २ प्रतिशतलाई पिसाबको रुपमा फाल्छ।
मिर्गौला प्रत्यारोपण सर्जन डा रविन बहादुर बस्नेतका अनुसार मिर्गौलामा समस्या भइसकेपछि रगतको कमी हुन थाल्छ। जसले गर्दा काम गर्न जाँगर नलाग्ने, थोरै हिँड्दा पनि थकाइ लाग्ने, स्वाँ–स्वाँ हुनेजस्ता लक्षण देखिन्छन्।युरिया र क्रियाटिनिनको मात्रा बढ्दै गएपछि खान मन नलाग्ने, वाकवाक लाग्ने, सास फेर्न गाह्रो हुने र सास फेर्दा पिसाबको गन्ध आउने लक्षण देखिन्छ।
मिर्गौला बिग्रिनु अगाडि नै थाहा पाउने सबैभन्दा उत्तम र भरपर्दो उपाय नियमित रगत र पिसाबको परीक्षण गराउनु हो। मिर्गौला बिग्रिन सुरु हुँदा शुरुवाती चरणमा कुनै पनि लक्षण देखिँदैनन्। मिर्गौलाले आफ्नो ७० देखि ९० प्रतिशतसम्म कार्यक्षमता गुमाएपछि मात्र शरीरमा लक्षणहरू देखा पर्न थाल्छन्।
यदि तपाईं समयमै सजग हुन चाहनुहुन्छ भने निम्नलिखित जाँचहरू र प्रारम्भिक संकेतहरूमा ध्यान दिनुपर्छ
अनिवार्य रूपमा गर्नुपर्ने स्वास्थ्य परीक्षणहरू
यदि तपाईंलाई मधुमेह, उच्च रक्तचाप, वा परिवारमा कसैलाई मिर्गौलाको रोग छ भने वर्षमा कम्तीमा एक पटक यी परीक्षणहरू गराउन आवश्यक छ ।
पिसाबको जाँच
मिर्गौला खराब हुन थालेको सबैभन्दा पहिलो संकेत पिसाबबाट प्रोटिन वा एल्बुमिन लिक हुनु हो। यो जाँचबाट मिर्गौला बिग्रिनु अगाडि नै समस्या पत्ता लाग्छ।
रगतको जाँच
रगतमा ’क्रिएटिनिन’ को मात्रा बढेको छ भने यसले मिर्गौलाले फोहोर छान्न छाडेको संकेत गर्छ। यसैको आधारमा (मिर्गौलाको फिल्टर गर्ने क्षमता) निकालिन्छ।
भिडियो एक्सरे
यसले मिर्गौलाको आकार, पत्थरी वा कुनै अवरोध भए नभएको देखाउँछ।
शरीरले दिने प्रारम्भिक चेतावनीका संकेतहरू
मिर्गौलामा समस्या बढ्दै जाँदा शरीरमा यस्ता परिवर्तनहरू देखिन सक्छन्, जसलाई बेवास्ता गर्नु हुँदैन ।
पिसाबमा परिवर्तन
पिसाबमा धेरै फिज देखिनु (प्रोटिन बगेको संकेत), पिसाबको रङ गाढा हुनु वा रगत देखिनु, र रातिको समयमा धेरै पटक पिसाब लाग्नु।
शरीर सुन्निनु
मिर्गौलाले पानी र नुन छान्न नसक्दा विशेषगरी बिहान उठ्दा आँखाको वरिपरि, र बेलुकातिर गोडा, पैताला वा हत्केलाहरू सुन्निनु।
अत्यधिक थकान र कमजोरी
रगतमा फोहोर जम्मा हुँदा र मिर्गौलाले पर्याप्त रातो रगत कोशिका बनाउन नसक्दा (एनिमिया भएर) कडा थकान र कन्सन्ट्रेट गर्न गाह्रो हुनु।
छाला सुक्खा हुनु र चिलाउनु
रगतमा खनिज र पोषक तत्वहरूको सन्तुलन बिग्रँदा छाला एकदमै सुक्खा हुने र चिलाउने हुन्छ।
भोक नलाग्नु र वाकवाकी
रगतमा युरिया जस्ता विषाक्त पदार्थ बढ्दा खान मन नलाग्ने, मुखको स्वाद बिग्रने (धातु जस्तो स्वाद) र वाकवाकी लाग्ने हुन्छ।