काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदाको अवधिमा अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न सङ्घीय सरकारी अस्पताल र प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालयलाई निर्देशन दिएको छ।
मन्त्रालयले नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई पत्राचार गरेको हो।
मन्त्रालयले दसैँ बिदामा आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया, प्रसूति सेवा र सघन उपचार सेवाजस्ता अत्यावश्यक सेवा अवरुद्ध हुन नदिन पर्याप्त स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको व्यवस्था गर्न भनेको छ। यसका लागि आवश्यक जनशक्तिको ड्युटी रोस्टर तयार गरी सेवा प्रवाह नियमित राख्न निर्देशन दिइएको छ।
त्यस्तै, अस्पतालमा आवश्यक औषधि, स्वास्थ्य उपकरण, रगत तथा रक्तजन्य पदार्थ र अन्य स्वास्थ्य सामग्रीको पर्याप्त मौज्दात राख्न मन्त्रालयले आग्रह गरेको छ। आकस्मिक अवस्थामा तत्काल उपचार सेवा उपलब्ध गराउन तयारी अवस्थामा रहन र दसैँ बिदाका नाममा अस्पताल पूर्ण रूपमा बन्द नगर्न पनि मन्त्रालयले भनेको छ।
सेवा प्रवाहका क्रममा देखिने समस्या तथा गुनासो तत्काल सम्बोधन गर्न प्रत्येक अस्पतालले एक जना सम्पर्क व्यक्ति तोक्नुपर्नेछ। सम्पर्क व्यक्तिको नाम, पद, सम्पर्क नम्बर र ड्युटी रोस्टरसहितको विवरण मन्त्रालयले तोकेको इमेल ठेगानामा पठाउनसमेत निर्देशन दिइएको छ।
मन्त्रालयले यी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र अनुगमन गरी दसैँ बिदाभर नागरिकले आवश्यक स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।