काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीयूटीएच), महाराजगञ्जमा एक्युट इस्केमिक स्ट्रोकका बिरामीको उपचारका लागि मेकानिकल थ्रोम्बेक्टोमी सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ। यो प्रविधिबाट मस्तिष्कको रक्तनलीमा अवरोध सिर्जना गर्ने रगतको क्लट निकालेर रक्तसञ्चार सुचारु गर्न सकिने अस्पतालको रेडियोलोजी तथा न्यूरोइन्टरभेन्सन विशेषज्ञ डा. सुवास फुयालले जानकारी दिए ।
अस्पतालमा हालै ४२ वर्षीया महिलाको मेकानिकल थ्रोम्बेक्टोमीमार्फत सफल उपचार गरिएको उनले बताएका छन्। उनका अनुसार मस्तिष्कको बायाँतर्फ रहेको मिडल सेरेब्रल आर्टरी (लेफ्ट एमवान एमसीए) मा रगतको क्लट जमेर रक्तसञ्चार अवरुद्ध भएपछि ती महिलाको उपचार गरिएको थियो।
उपचारपछि अवरुद्ध रक्तनलीमा रक्तप्रवाह पूर्ण रूपमा सुचारु भएको बताइएको छ।
डा. फुयालका अनुसार मेकानिकल थ्रोम्बेक्टोमी कम चिरफार गर्नुपर्ने आधुनिक उपचार विधि हो। यसमा हात वा तिघ्राको रक्तनलीबाट मसिनो क्याथेटर मस्तिष्कको अवरुद्ध रक्तनलीसम्म पुर्याएर रगतको थक्का निकालिन्छ। यसका लागि टाउको खोल्नुपर्ने हुँदैन।
न्यूरोइमेजिङ तथा इन्टरभेन्सनल न्यूरोरेडियोलोजीमा डीएम गरेका डा. फुयाल अस्पतालमा यससम्बन्धी सेवामा संलग्न छन्।
उनले भने, `स्ट्रोक हुँदा मस्तिष्कमा रक्तसञ्चार अवरुद्ध हुन सक्छ, जसका कारण मस्तिष्कका कोषमा क्षति पुग्छ। उपयुक्त बिरामीमा समयमै मेकानिकल थ्रोम्बेक्टोमी गर्न सके रक्तसञ्चार पुनःस्थापित गर्न र अपाङ्गताको जोखिम कम गर्न मद्दत पुग्न सक्छ।´ तर, यो उपचार सबै स्ट्रोकका बिरामीका लागि उपयुक्त नहुने उनी बताउँछन् । बिरामीको अवस्था, मस्तिष्कको स्क्यान र अन्य चिकित्सकीय आधारमा उपचारको निर्णय गरिने उनको भनाइ छ।
उनले भने, `स्ट्रोकको उपचारमा समय अत्यन्त महत्त्वपूर्ण हुन्छ। अनुहार बाङ्गिनु, हातखुट्टा कमजोर हुनु वा शरीरको एक भाग नचल्नु, बोली अस्पष्ट हुनु अथवा बोल्न र बुझ्न कठिनाइ हुनु स्ट्रोकका प्रमुख लक्षण हुन्। यस्ता लक्षण देखिएमा तत्काल अस्पताल पुग्नुपर्छ। लक्षण आफैँ हराए पनि बेवास्ता गर्नु हुँदैन।´