क्यान्सर कुनै बिरामीको पहिचान गरेर रिपोर्टमा लेखिएको रोग मात्र होइन। यो रोग लागेको पुष्टि भएको समयमा परिवारले गर्ने गहिरो चिन्ता हो। कसरी भन्ने भनेर आफैँसँग कुरा गरिरहने विक्षिप्त मन हो। बिरामीले आफूलाई नै किन र कसरी भयो भनेर विचलित हुनु पनि हो।
क्यान्सर भनेर सुन्नेबित्तिकै हामी आत्तिन्छौँ। शरीरका कोष वा कोषिकाहरूको समूहको अस्वाभाविक वृद्धि नै क्यान्सर हो। यसलाई एक किसिमको गिर्खा वा ट्युमर पनि भनिन्छ। क्यान्सरले बिरामी र उसको परिवारलाई पार्ने असरलाई शब्दले न्याय गर्न सक्दैन। म केही समय क्यान्सर अस्पतालमा कार्यरत रहँदा बिरामीले आफूले जाने–बुझेअनुसार विभिन्न तरिका अपनाएको देखेँ। स्तनमा बढ्दै गएको गिर्खा घटाउन तातो डाडुले डाम्ने बिरामीदेखि रोग लागिसकेपछि पैसाको जोहो गरेर एक वर्षपछि अस्पतालमा उपचार गर्न आउने बिरामीसम्म देखेँ।
बाहिरबाट हेर्दा मानिसले जे–जस्तो भने पनि ती बिरामीको बुझाइबारे टिप्पणी गर्ने अधिकार कसैसँग छैन। किनकि हामी त्यस्तो समाजमा बाँचेका छौँ, जहाँ रोगबारे पर्याप्त बुझाइ छैन। त्यसैगरी, हाम्रो स्वास्थ्य सेवामा पहुँचको अभावले पनि रोग पहिचान वा निदान हुँदासम्म उपचार कठिन भइसकेको हुन्छ। हामीलाई स्तन क्यान्सर महिलाको रोग होला भन्ने भान भए पनि याद रहोस्, स्तन क्यान्सर महिला र पुरुष दुवैमा हुन सक्छ।
स्तन क्यान्सरसम्बन्धी सचेतनाका लागि गुलाबी रिबन प्रयोग गरिन्छ। यसको विशेष कारण छ। स्तन क्यान्सर मुख्यतः महिलालाई हुने रोगका रूपमा लिइन्छ र गुलाबी रङलाई परम्परागत रूपमा नारीत्वको प्रतीक मानिन्छ। मनोविज्ञानका हिसाबले पनि गुलाबी रङले शान्ति र मायाको भावना दिन्छ। त्यसैले नेपालको ऐतिहासिक धरहरालाई गुलाबी कपडाले सजाइएको छ।
मैले एक जना बुवाले स्तन क्यान्सर विशेषज्ञ चिकित्सकलाई भन्नुभएको कुरा सधैँ सम्झिन्छु। उहाँले भन्नुभएको थियो, ‘डाक्टर साब, मेरो त महिलाको जस्तो भयो। के गर्ने होला?’ थोरै प्रतिशतमा देखिए तापनि पुरुषमा पनि स्तन क्यान्सर हुन्छ। यसबारे समयमै जनचेतना फैलाउन सकियो भने रोगले भयावह रूप लिनबाट जोगाउन सकिन्छ। महिलालाई नै उपचारका लागि आइपुग्न समय लाग्छ भने पुरुष बिरामीलाई त अझ बढी समय लाग्छ। अक्टोबर १७ देखि २३ सम्म पुरुषमा हुने स्तन क्यान्सरबारे जनचेतना फैलाइन्छ।
विश्व स्वास्थ्य संगठनको ग्लोबोक्यान २०२४ का अनुसार विश्वमा करिब २४ लाख महिलामा स्तन क्यान्सर पहिचान भएको थियो भने ६ लाखको मृत्यु भएको थियो। त्यसैगरी, ८२ लाख महिला यस रोगसँगै बाँचिरहेका थिए। नेपालको सन्दर्भमा ग्लोबोक्यान २०२४ कै तथ्याङ्कअनुसार महिलामा देखिने क्यान्सरमध्ये स्तन क्यान्सरको हिस्सा १३ प्रतिशत थियो भने पाठेघरको मुखको क्यान्सरको हिस्सा ११.४ प्रतिशत थियो।
स्तन क्यान्सर समयमै पत्ता लगाउन यसका लक्षण तथा चिह्नबारे आम नागरिकलाई जानकारी हुनु जरुरी छ। स्तनको कुनै भागमा दुख्ने वा नदुख्ने गिर्खा हुनु, स्तनको आकार र बनोटमा फरक देखिनु, स्तन सुन्निएर कडा हुनु, स्तनको मुन्टो सीधा बाहिरतिर नफर्की दायाँ, बायाँ वा घुमेर भित्रतिर फर्किनु, स्तनको छालाको रङमा परिवर्तन हुनु, स्तनबाट रगत वा पीप बग्नु तथा स्तनमा लामो समयसम्म निको नहुने घाउ हुनु यसका सम्भावित लक्षण हुन्।
यूएनएड्सले एचआईभी/एड्समा ९५–९५–९५ को लक्ष्य राखेजस्तै विश्व स्वास्थ्य संगठनले स्तन क्यान्सरबाट हुने मृत्यु कम गर्न र बिरामीको ज्यान बचाउन ६०–६०–८० को लक्ष्य लिएको छ। यसअनुसार कम्तीमा ६० प्रतिशत बिरामीमा रोगको पहिचान पहिलो वा दोस्रो चरणमै गर्ने, बिरामीले स्वास्थ्य संस्थामा आफ्नो समस्या देखाएको ६० दिनभित्र आवश्यक सबै जाँच गरी क्यान्सर हो वा होइन भन्ने कुरा पुष्टि गर्ने र कम्तीमा ८० प्रतिशत बिरामीले सिफारिस गरिएको उपचार कुनै पनि अवरोधबिना पूरा गर्ने लक्ष्य राखिएको छ।
यो लक्ष्यले मुख्यतः क्यान्सर सुरुवाती चरणमै पत्ता लगाएर निको हुने सम्भावना बढाउन मद्दत गर्छ। यदि त्यसो हुन सकेन भने पनि समयमै जाँच हुँदा रोगको अवस्था थाहा पाउन सकिन्छ र आवश्यक उपचार सुरु गरेर क्यान्सर शरीरका अन्य भागमा फैलिने जोखिम कम गर्न सकिन्छ। कुनै पनि रोगको उपचारमा पैसाले ठूलो अर्थ राख्छ। क्यान्सरको उपचारमा त यसको महत्त्व झन् बढी हुन्छ। अन्तिम लक्ष्यले यही पक्षलाई समेट्दै बिरामीले गरिबी वा अन्य कुनै कारणले उपचार छोड्न नपरोस् भन्ने कुरालाई महत्त्व दिएको छ।
अक्टोबर महिनालाई स्तन क्यान्सरसम्बन्धी जनचेतना फैलाउने महिनाका रूपमा लिइन्छ। यस वर्षको नारा ‘प्रत्येक कथा नौलो छ र प्रत्येक यात्रा महत्त्वपूर्ण छ’ रहेको छ। क्यान्सरका बिरामीलाई नजिकबाट नियाल्दा हरेकको कथा र भोगाइ फरक हुन्छ भन्नेमा दुई मत छैन। रोग कसरी पत्ता लाग्यो भन्ने विषयमा पनि सबैको आ–आफ्नै कथा हुन्छ।
रोगका लक्षण पहिचान गर्न नै ढिलाइ हुन्छ। त्यसपछि रोगको निदान र उपचारमा स्वतः ढिलाइ हुन पुग्छ। कतिपय अवस्थामा रोग समयमै पहिचान भए तापनि सामाजिक, आर्थिक, मनोवैज्ञानिक र आध्यात्मिक अवस्थाका कारण उपचार सुरु गर्न केही समय लाग्छ। बायोप्सी गरेदेखि रिपोर्ट आउँदासम्मको कठिन समय कसैले पनि शब्दमा उतार्न सक्दैन।
पहिले जनचेतनाको कमीले गर्दा रोग ढिलो पत्ता लाग्थ्यो भने अहिलेको प्रमुख समस्या पहुँचको हो। नेपाल दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच सुनिश्चित गर्ने प्रयासमा छ। स्तन क्यान्सर हुँदैमा हामीले सर्वस्व गुमाउने सोच राख्छौँ। तर सही समयमा उपचार पाउनुका साथै परिवार र साथीभाइको साथ–सहयोगले बिरामीको आत्मविश्वास र बाँच्ने इच्छासमेत बढ्दै जान्छ।
रोग पुष्टि भएपछि आउने मुख्य समस्या भनेको उपचार कहाँ गर्ने भन्ने हो। भारत जाने कि नेपालमै उपचार गर्ने? नेपालमा कुन अस्पतालमा उपचार गर्ने? यस्ता गम्भीर प्रश्नको उत्तर खोज्दाखोज्दै सही उपचार सुरु गर्ने समय घर्किंदै जान्छ। जति आवश्यक जनचेतना छ, त्यति नै महत्त्वपूर्ण स्वास्थ्य सेवामा पहुँच, समयमै सही पहिचान, उपचार र साथ–सहयोग पनि छन्।
नेपालको संविधान, २०७२ ले स्वास्थ्यलाई मौलिक हकका रूपमा स्थापित गरेको छ। नेपाल सरकारले क्यान्सर उपचारका लागि एक लाख रुपैयाँसम्मको सहुलियत दिने गरेको छ। प्रदेशहरूले पनि आ–आफ्ना स्वास्थ्य नीतिमा क्यान्सरलाई महत्त्व दिएका छन्। राष्ट्रिय स्वास्थ्य नीति, २०७६ ले क्यान्सरको समयमै परीक्षण र उपचारलाई सम्बोधन गरेको छ।
त्यसैगरी, १६औँ आवधिक योजना (२०८१/८२–२०८५/८६) ले स्वास्थ्य तथा सामाजिक विकास रणनीतिअन्तर्गत महिलाको स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र आङ खस्ने समस्याको निःशुल्क परीक्षण गर्ने व्यवस्था गरेको छ। यसले प्रारम्भिक चरणमै रोग पहिचान गर्ने नीतिगत आधार प्रदान गर्छ।
यसका साथै, क्यान्सर अस्पताल र प्रादेशिक अस्पतालहरूको भौतिक पूर्वाधार तथा प्रविधिको स्तरोन्नति गर्दै उपचारका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य गर्ने नीति लिइएको छ। स्वास्थ्य बिमामार्फत विशिष्टीकृत र अतिविशिष्टीकृत स्वास्थ्य सेवा सहज र सुलभ बनाउने लक्ष्य पनि राखिएको छ। स्थानीय सरकारले पनि योजनाअनुसार क्यान्सर अस्पतालसँग सहकार्य गर्दै समय–समयमा स्तन तथा पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण र उपचारका कार्यक्रम सञ्चालन गरिरहेका छन्।
यसका साथै, नेपाल सरकारले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति (२०२४–२०३०) जारी गरेको छ। जनसङ्ख्यामा आधारित प्रारम्भिक परीक्षण कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सकियो भने रोग समयमै निदान हुने सम्भावना बढ्छ। प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरूमा पनि प्रारम्भिक पहिचान गर्न सक्ने प्रणाली स्थापना गर्न सकिए अझ प्रभावकारी हुन्छ। उपचार गरेर निको हुनु जत्तिकै महत्त्वपूर्ण कुरा बिरामीको जीवनस्तरमा सुधार ल्याउनु पनि हो।
स्तन क्यान्सर वा अन्य कुनै रोग केवल शारीरिक अवस्था मात्र होइन, यो लामो यात्रा पनि हो। लक्षणको सही र समयमै पहिचान यस यात्राको पहिलो खुड्किलो हो। रोग निर्मूल नहुँदासम्म यसले बिरामीको मात्र नभई उसको परिवारको आत्मबल, माया र साथको पनि परीक्षा लिन्छ।
यो दसैँ–तिहारमा स्वास्थ्यबारे कुरा गरौँ र वाचा गरौँ—शरीरमा हुने कुनै पनि असामान्य परिवर्तनलाई बेवास्ता गर्ने छैनौँ र तुरुन्तै स्वास्थ्य संस्थामा जाँच गराउने छौँ। समयमै गरिएको जाँचले गन्तव्य सुरक्षित बनाउँछ।
(भूसाल जनस्वास्थ्यकर्मी हुन्।)