काठमाडौं । भारतीय चर्चित टेलिभिजन शो ‘सीआईडी’ र ‘आहट’का निर्माता तथा निर्देशक बृजेन्द्र पाल सिंह (बीपी सिंह) को हृदयाघातबाट निधन भएको छ। उनको मंगलबार बिहान निधन भएको हो।
भारतीय फिल्म निर्माता अशोक पण्डितले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत बीपी सिंहको निधनको जानकारी दिएका हुन्। उनका अनुसार सिंहलाई मंगलबार बिहान ठूलो हृदयाघात भएको थियो। त्यसपछि उनको निधन भएको हो।
उनको अन्तिम संस्कार बुधबार (२८ अक्टोबर) गरिने जनाइएको छ।
‘सीआईडी’बाट देशभर चर्चा
सन् १९९८ मा सुरु भएको अपराधमा आधारित टेलिभिजन शो ‘सीआईडी’ले बीपी सिंहलाई भारतभर परिचित बनाएको थियो। दुई दशकभन्दा लामो समयसम्म प्रसारण भएको यो शो भारतीय टेलिभिजनको सबैभन्दा लामो समय चलेका क्राइम शोमध्ये एक हो।
सिंहले ‘सीआईडी’को निर्माण तथा निर्देशन गर्नुका साथै शोमा डीसीपी शमशेर सिंह चित्रोलेको भूमिकासमेत निर्वाह गरेका थिए। सन् २०१० मा उनले ‘सीआईडी ग्यालेन्ट्री अवार्ड्स’को सुरुवात पनि गरेका थिए।
‘आहट’मार्फत हरर विधालाई नयाँ पहिचान
बीपी सिंहले अपराधमा आधारित शो ‘सीआईडी’का अतिरिक्त हरर टेलिभिजन शो ‘आहट’मार्फत पनि दर्शकमाझ छुट्टै पहिचान बनाएका थिए। उनको निर्माण तथा निर्देशनमा बनेका अन्य चर्चित शोमा ‘खाकी’, ‘अभय’ र ‘सुपरकप्स भर्सेस सुपर भिलेन्स’ पनि पर्छन्।
देहरादुनमा जन्मिएका सिंहले भारतीय टेलिभिजनमा अपराध र रहस्यमा आधारित कार्यक्रमलाई लोकप्रिय बनाउन महत्त्वपूर्ण योगदान दिएका थिए।
फिल्म निर्माता अशोक पण्डितले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै उनको कामले आगामी पुस्तालाई प्रेरणा दिइरहने बताएका छन्। भारतीय फिल्म तथा टेलिभिजन निर्देशक संघ (आईएफटीडीए) को अध्यक्षका रूपमा काम गर्दा सिंहसँग नजिक रहेर सहकार्य गरेको उल्लेख गर्दै उनले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।