स्तन क्यान्सर महिलहरुमा हुने क्यान्सरमध्ये दोस्रो सबैभन्दा बढी हुने क्यान्सर हो। 11 संगठन (WHO) का अनुसार पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर नेपाली महिलामा हुने क्यान्सरमध्ये सबैभन्दा बढी हुने क्यान्सर हो। नेपालमा देखापर्ने स्तन क्यान्सरका बिरामीमध्ये एक चौथाइ कम उमेरका र कामकाज गर्ने उमेरका महिलालाई लाग्ने गरेको तथ्यले स्तन क्यान्सरबारे राम्रो जानकारी हुनु आवश्यक देखिएको छ। जवान महिलामा देखिने क्यान्सर झन् आक्रमक हुने हुँदा समयमै यसको पहिचान र उपचार गराए ज्यान बचाउन सकिन्छ।
किन हुन्छ स्तन क्यान्सर?
विभिन्न अध्ययन अनुसार स्तन क्यान्सरको कारकमा आफ्नो 18, वातावरण र शरीरका हर्मोनहरुले गर्दा हुने देखिन्छ। कुनै व्यक्तिमा माथि उल्लेखित कुनै पनि कारक नभए पनि स्तन क्यान्सर देखिन सक्छ भने कसैमा सबै कारण हुँदा पनि स्तन क्यान्सर देखिँदैन। तसर्थ स्तन क्यान्सर एउटा जटिल किसिमको रोग हो। हाम्रो रहनसहन, वातावरण र वंशाणुगत कारकहरुको मिश्रणले यो क्यान्सर हुन्छ।
कसलाई हुन्छ स्तन क्यान्सर?
ढिलो महिनवारी सुरु भए (१४ वर्षपछि)
अविवाहित महिलाहरु
विवाहित भए पनि बच्चा नपाएका महिलाहरु
पहिलो बच्चा ढिलो जन्म दिने महिलाहरु (३५ वर्षपछि)
स्तनपान नगराउने महिलाहरु
परिवारमा आफ्नै आमा, दिदी, बहिनी, सानीआमा, आमापट्टिको हजुरआमा वा छोरीलाई स्तन क्यान्सर भएका महिला
प्रौढ महिलाहरु (हाम्रो देशमा कम उमेरको महिला मा बढी देखिन्छ (३०-५० वर्ष)
सानो उमेरमा अनावश्यक विकिरण प्रयोग गरेका महिलाहरु (जस्तै: एक्स रे)
जाँडरक्सी, चुरोट खाने महिलाहरु
अत्यधिक चिल्लो र बोसो भएका खानेकुरा सेवन गर्ने महिलाहरु
हर्मोनल थेरापीमा भएका महिलाहरु
(यी महिलाहरुमा स्तन क्यान्सर हुने जोखिम बढी हुन्छ।)
लक्षण तथा चिह्न
मासुको डल्लो वा गिर्खा स्तनको कुनै पनि भागमा आउनु। आएको गिर्खा दुख्ने वा न दुख्ने जस्तो पनि हुन सक्छ
आफ्नो स्तनको बनोट र आकारमा आफूलाई परिवर्तन महसुस हुनु
एउटा स्तन अर्को स्तनभन्दा फरक महसुस हुनु
स्तनको छालामा परिवर्तन आउनु
स्तन कडा हुनु र दुख्नु
स्तनको मुन्टो आफ्नै ठाउँमा नभई दायाँ, बायाँ वा भित्रपट्टि गाडिनु
काखीमा गिर्खाहरु आउनु वा छातीको अरु कुनै भागमा गिर्खा देखिनु
रोग भए/नभएको थाहा पाउन के गर्ने?
– Breast Self Examination (आफ्नो स्तन आफै जाँच्ने)
– Clinical Breast Examination (स्तन जाँच चिकित्सकद्वारा गराउने)
४० वर्ष नाघेका महिलाले हरेक वर्ष विशेषज्ञ चिकित्सकद्वारा जाँच गराउनुपर्छ। कुनै पनि उमेरको महिलाले आफ्नो स्तन जाँच्दा गिर्खा वा माथि उल्लेखित स्तनमा परिवर्तन देखेको खण्डमा तुरुन्त अस्पताल गई स्वास्थ्य सल्लाह लिनुपर्छ
– Mammogram (स्तनको विशेष प्रकारको एक्स रे)
Mammogram एउटा राम्रो र भरपर्दो जाँच हो, जसले स्तन क्यान्सरलाई सुरुकै अवस्थामा भेटाउन सक्छ र समयमा गरेको यो जाँचले ज्यान जोगाउने हुनाले यो जाँचले धेरै चर्चा पाएको छ।
– वंशाणुगत रोगको पहिचान र जाँच
आफ्नो घर परिवारमा कसैलाई स्तन क्यान्सर छ भने स्वयंले चिकित्सकलाई खबर गर्नुपर्छ र Genetic Screening गराउनुपर्छ।
Breast Self Examination (आफ्नो स्तन आफै जाँच्ने)
आफ्नो स्तनमा आउने सानो परिवर्तन पनि महिलाले सर्वप्रथम थाहा पाउँछन्। स्तन क्यान्सर विरुद्धको यो पहिलो कदम हो र वास्तवमा एकदम महत्वपूर्ण परीक्षण पनि। स्तन क्यान्सरलाई सुरुको अवस्थामा हामीले पत्ता लगाउन सक्यौं भने भने यो रोग पनि अरु रोग जस्तै सजिलो तरिकाले उपचार गर्न सकिन्छ। सुरुकै अवस्थामा भेटिन महिलाले आफ्नो स्तन आफै जाँच्ने गर्नुपर्छ। गिर्खा जति सानो भयो, उपचार त्यति नै सजिलो हुन्छ।
BSE कहिले गर्ने?
२० वर्ष वा सोभन्दा माथिका सबै महिलाले आफ्नो स्तन आफै जाँच्ने गर्नुपर्छ।
महिनावारी हुने महिलाहरुले महिनावारी हुने मितिबाट एक हप्तापछि यो क्रिया हरेक महिना गर्नुपर्छ।
महिनावारी रोकिसकेको महिला वा अनियमित हुने महिलाले प्रत्येक महिनाको कुनै दिन तोकेर उही दिन हरेक महिना गर्नुपर्छ। सजिलोका लागि आफ्नो जन्म मितिको सोही गते हरेक महिना जाँच गरे आफूलाई सम्झिन सजिलो हुन्छ।
BSE कसरी गर्ने?
आफ्नो सजिलो अनुसार र समय अनुकूल गर्न मिल्ने भएकोले यो जाँच झन्झटिलो छैन। यसले तपाईंको समय खेर फाल्दैन। कपडा फेर्दा वा नुहाउँदा यो जाँच सजिलै गर्न सकिन्छ। नुहाउँदा साबुनको चिप्लोपनाले यो जाँचमा सहयोग पुर्याउँछ। ऐनाअगाडि उभिएर, सुतेर वा नुहाउँदा जुन बेला गरे पनि सम्पूर्ण स्तन र काखीको जाँच गर्नुपर्ने हुन्छ। जाँच्दा दाहिने हातले देब्रे स्तन, काखी र देब्रे हातले दाहिने स्तन र काखीको जाँच गर्न सजिलो हुन्छ।
Breast Self Examination गर्ने तरिका
नुहाउँदाखेरि
सबैभन्दा सजिलो स्तन निरीक्षण गर्ने बेला स्नान गर्दा नै हुन्छ। साबुन लगएको हात र भिजेको स्तनले यो जाँचलाई सजिलो पार्छ।
माथि उल्लेखित ढाँचा र देब्रे र दाहिने हातको क्रमबद्ध रुपमा प्रयोग गरेर जाँच गर्न सकिन्छ।
सुतेर
सुतेर गरिने स्तन जाँच आफूलाई सजिलो र पायक पर्ने जुन पनि बेला गर्न सकिन्छ।
यो किसिमले जाँच गर्दा ओछ्यानमा पल्टिने, देब्रे स्तन जाँच गर्दा देब्रे काखीमुनि एउटा सानो तकिया राख्ने र आफ्नो देब्रे हात टाउको तल राख्ने। अब दाहिने हातले देब्रे स्तनको माथि भने अनुसारको ढाँचा र ३ वटा औंला को प्रयोग गरेर गर्नुपर्छ।
यसरी नै देब्रे हातले दाहिने स्तनको जाँच गर्नुपर्छ।
ऐनाअगाडि उभिएर
चित्रमा देखाए अनुसार ऐनाअगाडि उभिएर आफ्नो दुवै स्तन हेर्नुपर्छ। दुवै समान छन् कि छैनन्, आकार, बनोट, मुन्टोको अवस्था, छालाको रङ र नरमपनामा देखिएको परिवर्तनलाई ध्यान दिएर हेर्नुपर्छ। कुनै पनि भागमा रहेको गिर्खालाई ध्यानपूर्वक हेर्ने।
दुवै हातलाई माथि उठाएर हेर्दा काखीमा देखिने केही परिवर्तन राम्ररी देख्न सकिन्छ।
चित्रमा देखाए अनुसार दुवै हातले कम्मरमा थिचेर हेर्दा स्तनमा लुकेर बसेका साना गिर्खा पनि स्पष्ट देखिन्छ।
Breast Self Examination गरिसकेपछि, यदि केही शंका-उपशंका लागेमा तुरुन्तै आफ्नो चिकित्सकसँग सल्लाह गर्नुपर्छ।
स्तन क्यान्सर सम्बन्धी सत्य र भ्रम
– स्तनमा पलएको मासुको डल्लो धेरैजसो क्यान्सर नै हुन्छ।
महिलाले आफैले भेटाएको १० मध्ये ८ मासुको डल्लो क्यान्सर हुन्नन्। Cyst र Fibroadenoma जस्तो समान्य रोग पनि हुन सक्छ र कतिपय त महिनवारी हुने बेला आउने र अरु बेला हराउने हुन सक्छ; जुन साधारण हो।
आफ्नो स्तनको साबिक बनोट थाहा पाउनु एकदमै राम्रो बानी हो। तसर्थ थोरै पनि स्तनमा परिवर्तन आएमा सो थाहा पाउने तपाईं नै प्रथम व्यक्ति हो। यदि त्यो परिवर्तन क्यान्सर नै हो भने तपाईंले आफ्नो ज्यान बचाउनु भएको ठान्नुस्।
– क्यान्सर भएको स्तनको मासुको डल्लो दुख्दैन।
यो कुरा सधै लागू हुन्न। प्राय: स्तन क्यान्सर नदुख्ने हुन्छ। . Inflamatory Breast Cancer एक प्रकारको डरलाग्दो स्तन क्यान्सर हो, जुन दुख्ने मात्र होइन घाउ हुने, रातोतातो हुने हुन्छ।
– स्तनपान गराउने अवधिभर महिलालाई स्तन क्यान्सर हुँदैन।
स्तनपान गराउने महिलालाई केही प्रतिरोधात्मक शक्ति मिल्ने कुरा एकदम सत्य हो। यदि त्यो अवधिमा समेत कुनै नयाँ मासुको डल्लो देखिएमा त्यसलाई बेवास्ता गर्नु हुन्न। त्यो मासुको डल्लो क्यान्सर पनि हुन सक्छ। भिडियो एक्स रे र चिकित्सक जाँचले यो कस्तो रोग हो सजिलै पत्ता लगाउन सकिन्छ।
– सानो उमेर वा जवान महिलाको स्तनमा भएको मासुको डल्लो क्यान्सर हुँदैनन्।
त्यस्तो होइन। जुनसुकै उमेर भए पनि स्तनमा मासुको डल्लो देखिएमा तुरुन्तै चिकित्सकलाई देखाउनुपर्छ। सामन्यत: स्तन क्यान्सर ५० वर्ष नाघेका र महिनावारी सुकेका महिलालाई हुने सम्भावना हुन्छ। तर नेपालमा देखिने स्तन क्यान्सर धेरैजसो कम उमेरको महिलालाई हुने गरेको WHO को तथ्यांकले जनएको छ।
– परिवारमा कसैलाई स्तन क्यान्सर छैन भने आफूलाई स्तन क्यान्सर हुँदैन।
यो कुरा सरासर गलत हो। स्तन क्यान्सर हुनेमध्ये ८५ प्रतिशत महिलाको परिवारमा कसैलाई पनि स्तन क्यान्सर भएको हुँदैन। तसर्थ परिवारमा कसैलाई स्तन क्यान्सर छैन भनेर लापरबाही गर्नु हुँदैन।
– स्तनमा भएको मासुको डल्लो क्यान्सर नभएको चिकित्सक जाँच गरेर थाहा भएपछl निस्फिक्री बस्न मिल्छ।
कुनै समयमा सामान्य देखिएको स्तनमा पछि क्यान्सर देखिन सक्छ। त्यसैले मासुको डल्लो बढ्दै गएमा, दुख्न थालेमा, काखीमा मासुको डल्लो आएमा, दूधको मुन्टोबाट रगत र पिप आएमा, स्तनको छालामा डिम्पल परेमा वा सुन्तलाको बोक्रा जस्तो भएमा तुरुन्त चिकित्सककहाँ जानुपर्छ।
समयमा स्तन क्यान्सर थाहा भयो भने यसको राम्रो उपचार हुन सक्छ। आफ्नो नारी सौन्दर्यको रुपमा रहेको स्तनको सुरक्षा आफै गरौं र अरु लाई पनि सिकाऔँ।
(डा सिंह काठमाडौं विश्वविद्यालय अस्पताल धुलिखेलमा कार्यरत छन्।)