जलवायु परिवर्तन हाम्रो समयको एक प्रमुख चुनौती बनेको छ, जसले विश्वव्यापी रूपमा स्वास्थ्य संकट उत्पन्न गरिरहेको छ। तातो हावको लहर (हिट वेभ) , खडेरी, बाढी र पहिरोजस्ता घटनाहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संक्रामक रोग, श्वासप्रश्वास सम्बन्धी समस्या र खाद्य असुरक्षाको माध्यमबाट गम्भीर स्वास्थ्य प्रभाव पारेका छन्। जलवायु संकटसँग जुध्न स्वास्थ्य जनशक्तिको महत्त्वपूर्ण भूमिका हुन्छ तर निम्न र मध्यम आय भएका देशहरूमा यसको तयारी सीमित नै छ।
नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको देश हो, जहाँ अत्यधिक मौसम परिवर्तन, बढ्दो तापक्रम, र अनियमित वर्षाले खाद्य सुरक्षामा असर पुर्याउँदै जनस्वास्थ्य संकट बढाइरहेको छ। जलवायु-सम्बन्धित रोग, कुपोषण र मानसिक स्वास्थ्य समस्याहरू पनि बढ्दै छन्। जलवायु परिवर्तन नीति तथा स्वास्थ्य राष्ट्रिय अनुकूलन योजना जस्ता नीति भए तापनि जलवायु प्रतिरोधी स्वास्थ्य पूर्वाधारमा प्रगति न्यून छ।
मुख्य चुनौतीहरूमा स्वास्थ्यकर्मीको अभाव, अपर्याप्त लगानी र जलवायु-स्वास्थ्य सम्बन्धी सचेतना अभाव छन्। नीति तथा कार्यक्रमहरूलाई प्रभावकारी बनाउन वैज्ञानिक कारण आवश्यक छ। तर, सीमित स्रोत-साधन भएका देशहरूमा स्वास्थ्यकर्मीहरूको तयारीबारे अनुसन्धान न्यून छ। त्येसैले नेशनल इन्स्टिच्युट फर हेल्थ एन्ड केयर रिसर्च (एनआईएचआर), युकेको वित्तीय सहयोगमा नेपाल र जिम्बाब्वेमा यो अध्ययन सुरु गरिएको छ, जुन लिभरपुल स्कुल अफ ट्रपिकल मेडिसिन, युके, सेक्सुअल हेल्थ र एचआईभी एड्स अनुसन्धान केन्द्र, जिम्बाब्वे र हर्ड इन्टरनेसनल, नेपाल को सहकार्यमा सञ्चालन गरिँदैछ। यो अध्ययनको उद्देश्य स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गरी जलवायु संकटको प्रभावकारी व्यवस्थापन सुनिश्चित गर्नु र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु हो। यो अध्ययन नेपालको घोराही उप-महानगरपालिका र चन्दननाथ नगरपालिका तथा जिम्बाब्वेको माउन्ट डार्विन जिल्ला र हरारे स्थानीय निकायमा कार्यान्वयन गरिएको छ भने यस अध्ययनको अवधी २०२५ देखि २०२८ सम्म ४ वर्षको हुनेछ।
यही कार्यक्रमसँग जोडिएका डा. इयुफेमिया एल सिबान्डा ग्लोबल हेल्थ र इपिडिमियोलोजीकी वरिष्ठ प्राध्यापक हुन् र सेक्सुअल हेल्थ र एचआईभी एड्स अनुसन्धान केन्द्र, जिम्बाब्वेमा प्रोजेक्ट डाइरेक्टरको रुपमा पनि कार्यरत छिन्। जहाँ उनी एचआईभी, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अनुसन्धान परियोजनाहरूको नेतृत्व गर्छिन्। उनले सन् २०१६ देखी लिभरपुल स्कूल अफ ट्रपिकल मेडिसिनमा अनुसन्धान फेलोको रूपमा काम थालेकी उनी २०१९ मा ग्लोबल हेल्थ तथा इपिडिमियोलोजी विषयमा वरिष्ठ प्राध्यापक पदमा नियुक्त भएकी थिइन्। उनी केही दिनअघि यही परियोजना अन्तर्गत भएको साझेदारहरूको बैठक र सरोकारवालासँगको छलफलमा जिम्बाब्वेबाट नेपाल आइपुगेकी थिइन्। उनीसँग रोमीका न्यौपानेले गरेको कुराकानी :
नेपाल र जिम्बाब्वेमा जलवायु संकटको स्वास्थ्य प्रभावको सामना गर्न स्वास्थ्य कार्यबललाई सुदृढ पार्ने परियोजनाको मुख्य लक्ष्य के हो?
म वास्तवमै यो परियोजनाबारे कुरा गर्न उत्साहित छु। म यस परियोजनाकी सह-नेतृत्वकर्ता हुँ र डा. जोआना रेभन यस परियोजनालाई नेतृत्व गर्दै हुनुहुन्छ।
यो परियोजना हामीलाई धेरै महत्त्वपूर्ण लागेको छ, किनकि हामीले विभिन्न अध्ययनहरू र हाम्रो आफ्नै अनुभवबाट जलवायु परिवर्तनले विश्वभर ठूलो प्रभाव पारेको बुझेका छौं। नेपाल र जिम्बाब्वे जस्ता देशहरूमा जलवायु संकटका कारण धेरै मानिसहरूले कष्ट भोगिरहेका छन् र ज्यान गुमाएका छन्। जिम्बाब्वेको कुरा गर्ने हो भने, आँधीका कारण धेरै मानिसहरूले ज्यान गुमाएका छन्। लाखौँ मानिसहरू खडेरीका कारण पीडित छन् र अनियमित वर्षाले विभिन्न समुदायहरूलाई असर पुर्याएको छ।
स्वास्थ्य जनशक्तिले जलवायु संकटको सामना गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। तर, हाम्रो अनुसन्धानले देखाएको छ कि स्वास्थ्य जनशक्ति यो संकटको सामना गर्न पर्याप्त रूपमा तयारी अवस्थामा छैन। तसर्थ, हामी यो परियोजनाबाट स्वास्थ्य जनशक्तिलाई जलवायु परिवर्तनसँग जुझ्न सक्षम बनाउने उपायहरू पत्ता लगाउन चाहन्छौँ।
हाल जिम्बाब्वेले सामना गरिरहेका प्रमुख चुनौतीहरू केके हुन्?
केही चुनौतीहरु हामीले भोगिरहेका छौँ तर यो चुनौतिहरु केवल जिम्बाब्वेमा मात्र सीमित छैन। ती यसप्रकार छन् :
स्वास्थ्य जनशक्तिको तयारीमा अभाव: स्वास्थ्यकर्मीहरू जलवायु संकटको असरबाट प्रभावित भएका पीडितहरुलाई सहयोग गर्न तयारी अवस्थामा छैनन्।
स्वास्थ्य पूर्वाधारमा असर: कतिपय अवस्थामा स्वयं स्वास्थ्य सेवा केन्द्रहरू पनि जलवायु संकटबाट प्रभावित हुन्छन्।
नीति तथा दिशा निर्देशनको अभाव: जिम्बाब्वेको कुरा गर्ने हो भने, देश अझै जलवायु र स्वास्थ्य बीचको सम्बन्ध पहिचान गर्ने प्रारम्भिक चरणमै छ। हामीसँग केही दिशानिर्देशहरू र नीतिहरू छन्, जुन पर्यावरण मन्त्रालयद्वारा सुरु गरिएको छ तर मुख्यतः यो वातावरणमा केन्द्रित छ, र हामीले अब यसलाई स्वास्थ्य पक्ष, अर्थात् स्वास्थ्य मन्त्रालय सँग एकीकृत गर्न आवश्यक छ।
अन्तर-मन्त्रालय समन्वयको आवश्यकता : स्वास्थ्य मन्त्रालयलाई पनि जलवायु नीतिहरूमा समेट्न आवश्यक छ।
हामी आशा गर्छौं कि, यो परियोजना मार्फत विभिन्न सरोकारवाला निकायहरूसँग छलफल गर्नेछौँ, ताकि स्वास्थ्य जनशक्तिलाई जलवायु संकटको सामना गर्न सक्षम बनाउनका लागि उपयुक्त समाधान पहिचान गर्न सकियोस्।
नेपाल र जिम्बाब्वेको जलवायु तथा स्वास्थ्य चुनौतीहरूमा के समानता र भिन्नता देख्नुभयो?
मैले नेपालमा धेरै समय बिताएको छैन, तर हामीले करिब एक वर्षदेखि नेपालका सहकर्मीहरूसँग सहकार्य गरिरहेका छौँ। किनभने हामीले यो अध्ययनको प्रस्ताव सँगै विकास गरेका हौँ। दुवै देशमा जलवायु परिवर्तनको असर व्यापक छ। स्वास्थ्यकर्मीहरु र समुदाय दुवै जलवायु संकटको सामना गर्न प्रयाप्त रूपमा सक्षम छैनन्। तर समाधान पहिचान गर्न दुवै देशमा उच्च रुचि र प्रतिबद्धता देखिएको छ।
अन्तर्राष्ट्रिय सहकार्यले स्वास्थ्य जनशक्तिको क्षमता कसरी वृद्धि गर्न सक्छ?
यो अत्यन्तै महत्त्वपूर्ण विषय हो। हामी अनुसन्धान टोली बाहिरका विभिन्न सरोकारवालासँग पनि के महत्त्वपूर्ण छ भन्ने विषयमा व्यापक रुपमा परामर्श गरिरहेका छौँ।
यो कार्यक्रमको सुरुको दिन सरोकारवाला निकायहरूसँग भएको छलफलबाट एउटा महत्त्वपूर्ण पक्ष बाहिर आयो—स्वास्थ्य प्रणालीले जलवायु संकटबाहेक अन्य थप चुनौतीहरू पनि सामना गरिरहेको छ, जसलाई हामीले गम्भीर रूपमा विचार गर्न आवश्यक छ। स्वास्थ्यकर्मीहरू पर्याप्त स्रोतसाधनबाट वञ्चित छन् भन्ने विषय उठाइएको छ। हो, हामी मुख्य रूपमा जलवायु संकटमा केन्द्रित हुनेछौँ, तर अन्य स्वास्थ्य संकटहरूलाई पनि सम्बोधन गर्नुपर्ने हाम्रो बुझाइ छ।
यस परियोजनाको विशेषता नै के हो भने, हामी यहाँ कुनै निश्चित समाधान लिएर आएका छैनौं। किनभने हामी अनुसन्धानकर्ता हौँ र हामीलाई थाहा छैन कि समाधान के हुनुपर्छ। हामी समुदायका दृष्टिकोण, स्वास्थ्यकर्मीहरूको अनुभव, र नेतृत्व तहको बुझाइलाई सुन्ने प्रक्रिया अपनाइरहेका छौँ। यो अनुसन्धानले व्यापक चुनौतीहरूलाई ध्या नमा राख्दै समाधान प्रस्तुत गर्नेछ।
जिम्बाब्वेको समग्र स्वास्थ्य प्रणालीको अवस्था कस्तो छ?
जिम्बाब्वेको स्वास्थ्य प्रणाली प्राथमिक स्वास्थ्य सेवा प्रणालीमा आधारित छ, जसको उद्देश्य प्रत्येक व्यक्तिले आफ्नो स्थानीय समुदायमै स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने सुनिश्चितता दिनु हो। त्यसैले, प्राथमिक स्वास्थ्य सेवा क्लिनिकहरू स्थापना गरिएको छ। ग्रामीण क्षेत्रमा, यी क्लिनिकहरू केही व्यक्तिहरूका लागि नजिकै हुन सक्छन्, तर केहीलाई यी सेवाहरू प्राप्त गर्न केही किलोमिटर हिँड्नुपर्ने हुन सक्छ। त्यसपछि, हामीसँग ग्रामीण स्तरबाट जिल्ला स्तरसम्म, जिल्ला स्तरबाट प्रदेश स्तरसम्म, र प्रदेश स्तरबाट केन्द्रीय स्तरसम्म रिफर गरिने अस्पतालहरू छन्।
व्यवस्थापन र समर्थनका हिसाबले, स्वास्थ्य मन्त्रालय उच्च तहमा रहन्छ, जुन विभिन्न रोग अनुसार विभिन्न इकाइहरूमा विभाजित गरिएको छ। यी इकाइहरूले प्रदेश, जिल्ला र प्राथमिक स्तरका टोलीहरूको अनुगमन तथा व्यवस्थापन गर्छन्।
यो स्वास्थ्य प्रणाली वर्षौंदेखि स्थापित भए तापनि, निम्न-मध्यम आय भएका देशहरूमा देखिने चुनौतीहरू जस्तै स्रोतसाधनको कमी, औषधि अभाव र ‘ब्रेन ड्रेन’ को समस्या, जहाँ योग्य स्वास्थ्यकर्मीहरू देश छोडेर छिमेकी देशहरू वा अन्य देशहरूमा काम गर्न जान्छन्। यो समस्या केवल जिम्बाब्वेसम्म सीमित छैन; यस्तै समस्याहरू अन्य निम्न आय भएका देशहरूले पनि सामना गरिरहेका छन्।
यदि कोही प्राथमिक स्वास्थ्य सेवा सुविधामा जान्छ भने सामान्य शुल्क पाँच डलर रहेको छ, जसमा परामर्श शुल्क र औषधि समावेश छन्। तर, औषधि अभाव भएमा, निजी सेवाहरू लिनुपर्ने हुन्छ। जसको शुल्क तिनीहरूको दर अनुसार तिर्नुपर्छ। समग्र रूपमा, सार्वजनिक स्वास्थ्य प्रणाली सबै समुदायका सदस्यहरूलाई, विशेषगरी गरिबहरूलाई सेवा दिन स्थापना गरिएको छ। तर, जब सेवा उपलब्ध हुँदैन वा औषधिको अभाव हुन्छ, तब मानिसहरूले निजी स्रोतहरूबाट सेवा लिनुपर्ने हुन्छ, जसले खर्च बढाउने गर्छ।
खडेरीले जिम्बाब्वेको जनस्वास्थ्यलाई कसरी असर गरेको छ?
खडेरी जिम्बाब्वेका लागि निकै चुनौतीपूर्ण बनेको छ। सौभाग्यवश, हामीले हाम्रो सरकार र अन्तर्राष्ट्रिय सहयोगबाट केही सहायता प्राप्त गरेका छौं। सरकार कृषिलाई सहयोग गर्नका लागि आवश्यक सामग्री उपलब्ध गराउने जस्ता पहलहरूमा संलग्न छ, जसले परिवारहरूलाई भोकमरीबाट जोगाउने भूमिका खेल्न सक्छ। यदि उनीहरूले तरकारी उत्पादन गर्न सहयोग पाए भने पनि त्यसले ठूलो मद्दत गर्छ।
जलवायु अनुकूल स्वास्थ्य प्रणाली निर्माणका लागि प्रमुख नीति वा कामहरु के हुन सक्छन्?
हामी अनुसन्धानकर्ता भएकाले कुनै निश्चित कुराहरू पहिले नै निर्धारण गर्ने पक्षमा छैनौँ। हाम्रा प्रारम्भिक अनुसन्धानहरूबाट पहिचान गरिएका अत्यन्त जरुरी प्राथमिकताहरूका आधारमा थप कुराहरु तय गरिनेछ। तथापि, स्वास्थ्यकर्मीहरूको तालिम, समुदायहरूको क्षमता अभिवृद्धि, र उचित सहयोग मार्गहरू पहिचान गर्नु जस्ता उपायहरू केही सम्भावित कुराहरु हुन सक्छन्।
अन्त्यमा, के थप्न चाहनुहुन्छ?
वास्तवमा, हामी समुदायहरू र सम्बन्धित सरोकारवालासँग मिलेर काम गर्नेछौं ताकि प्राथमिकतामा राखिनुपर्ने कुराहरू पहिचान गर्न सकौं।
अन्त्यमा, म यो परियोजनाबारे निकै उत्साहित छु र यस महत्वपूर्ण परियोजनालाई वित्तीय सहयोग प्रदान गर्ने नेशनल इन्स्टिच्युट फर हेल्थ एन्ड केयर रिसर्च (एनआईएचआर), युके प्रति हामी आभारी छौं। मलाई सबैभन्दा प्रभावशाली लाग्ने कुरा भनेको जिम्बाब्वे र नेपालका समुदायहरूमा मैले देखेको यो विषय प्रतिको उत्साह र प्रतिबद्धता हो। यस परियोजनाले सन्दर्भ अनुकूल र प्रभावकारी समाधानहरू पहिचान गर्ने आशा गरिएको छ, किनकि यसमा सबै सम्बन्धित पक्षहरू सक्रिय रूपमा संलग्न छन् र यसलाई आत्मसात गरिरहेका छन्। यसले प्रभावकारी समाधानहरू विकास गर्न मद्दत गर्ने राम्रो संकेत दिएको छ।