नेपालको स्वास्थ्य सेवा प्रणालीलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूको संचार क्षमता र व्यवहार सुधार गर्न आवश्यक छ। डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरूले बिरामीहरूसँग मात्र होइन, आफ्ना सहकर्मी, जुनियर तथा वरिष्ठहरूसँग पनि सम्मानजनक तथा सहानुभूतिपूर्ण व्यवहार गर्नुपर्ने हुन्छ। तर, हाल नेपालमा धेरै स्वास्थ्यकर्मीहरूको संचार कौशल कमजोर देखिन्छ, जसले स्वास्थ्य सेवाको गुणस्तरमा नकारात्मक असर पार्न सक्छ।
स्वास्थ्य सेवा समुहिक कार्य (टीमवर्क) हो
स्वास्थ्य सेवा प्रभावकारी बनाउन विभिन्न तहका स्वास्थ्यकर्मी, प्रशासनिक कर्मचारी, सरसफाइ कर्मचारी लगायत सबैको समन्वय आवश्यक हुन्छ। डाक्टर, नर्स, प्रयोगशाला प्राविधिक, फार्मासिस्ट, स्वास्थ्य सहायक, तथा अन्य सहयोगी जनशक्तिहरूको आपसी समझदारी र सम्मानले मात्र गुणस्तरीय सेवा सम्भव छ।
सामुहिक कार्यको महत्त्व:
गुणस्तरीय सेवा प्रदान गर्न मद्दत गर्छ: सबै स्वास्थ्यकर्मीबीच सहकार्य भए मात्र बिरामीलाई उचित सेवा उपलब्ध गराउन सकिन्छ।
कार्यस्थलमा सकारात्मक वातावरण सिर्जना हुन्छ: सहकर्मीहरूबीच सम्मानजनक व्यवहार भएमा कार्यस्थलमा सौहार्दपूर्ण वातावरण बन्छ।
दबाब कम हुन्छ: जब स्वास्थ्य सेवा प्रदान गर्ने सबै पक्षहरूबीच राम्रो समन्वय हुन्छ, कार्यभार समान रूपमा बाँडफाँट गर्न सकिन्छ।
बिरामीको हेरचाहमा सुधार आउँछ: जब सम्पूर्ण स्वास्थ्यकर्मीहरूले एकजुट भएर काम गर्छन्, बिरामीलाई छिटो र राम्रो सेवा प्राप्त हुन्छ।
संचार के हो र स्वास्थ्य सेवामा यसको महत्त्व?
संचार भनेको विचार, जानकारी, भावना तथा अनुभवहरूको आदान-प्रदान गर्ने प्रक्रिया हो। स्वास्थ्य क्षेत्रमा, प्रभावकारी संचारले बिरामी, चिकित्सक तथा सहकर्मीहरूबीच विश्वास निर्माण गर्न मद्दत गर्छ।
स्वास्थ्य सेवामा संचारको महत्त्व:
१. बिरामी र चिकित्सकबीचको विश्वास वृद्धि: जब डाक्टर वा नर्स बिरामीसँग स्पष्ट, सहज, र सहानुभूतिपूर्वक संवाद गर्छन्, बिरामीलाई उपचारप्रति विश्वास बढ्छ।
२. सही रोग निदान र उपचारमा सहयोग: राम्रो संचार क्षमताले बिरामीको समस्या राम्ररी बुझ्न र उचित उपचार दिन मद्दत गर्छ।
३. तनाव व्यवस्थापन: बिरामी, परिवारजन तथा स्वास्थ्यकर्मीहरूबीच राम्रो संवाद भएमा तनाव घट्न सक्छ।
४. कार्यस्थलको वातावरण सुधार: वरिष्ठ, सहकर्मी तथा जुनियरहरूसँग राम्रो सम्बन्धले कार्यस्थलमा सकारात्मक ऊर्जा ल्याउँछ।
५. चिकित्सकीय मानवताको व्यवहारिक कार्यान्वयन: चिकित्सा मानवता बिरामीहरूमाझ मात्र नभई सहकर्मीहरूसँग पनि व्यवहारमा उतार्नुपर्छ।
व्यवहार के हो र यसले स्वास्थ्य सेवामा कस्तो प्रभाव पार्छ?
व्यवहार भनेको मानिसको सोच, दृष्टिकोण र क्रियाकलापको तरिका हो। स्वास्थ्यकर्मीहरूको व्यवहारले बिरामीको उपचार अनुभव, सहकर्मीहरूबीचको सम्बन्ध र कार्यस्थलको वातावरणमा ठूलो प्रभाव पार्छ।
स्वास्थ्य क्षेत्रमा व्यवहारको प्रभाव:
१. बिरामीहरूमाथि असर: दयालु, सहयोगी र आदरपूर्ण व्यवहारले बिरामीलाई आत्मविश्वास बढाउने र छिटो निको हुन सहयोग गर्ने सम्भावना रहन्छ
२. कार्यस्थलमा प्रभाव: सकारात्मक व्यवहारले सहकर्मीहरूबीच राम्रो समन्वय र सहकार्यको वातावरण सिर्जना गर्छ।
३. वरिष्ठ तथा जुनियरहरूसँगको सम्बन्ध: वरिष्ठलाई सम्मान र जुनियरलाई माया गर्ने संस्कारले संस्था वा अस्पतालको कार्यसम्पादन सुधार गर्न मद्दत गर्छ।
नेपालमा स्वास्थ्यकर्मीको संचार क्षमता र व्यवहारसम्बन्धी चुनौतीहरू
कार्यभारको चाप: नेपालमा स्वास्थ्यकर्मीहरूको संख्या कम भएकाले उनीहरू अत्यधिक व्यस्त रहन्छन्, जसले प्रभावकारी संवाद गर्न कठिन बनाउँछ।
संचार प्रशिक्षणको अभाव: धेरै स्वास्थ्यकर्मीले पेशागत रूपमा राम्रो संवाद कसरी गर्ने भन्ने औपचारिक तालिम लिएका हुँदैनन्।
संवेदनशीलताको कमी: कतिपय अवस्थामा स्वास्थ्यकर्मीहरू बिरामीको मानसिक अवस्था बुझ्न असमर्थ देखिन्छन्।
वरिष्ठ तथा सहकर्मीहरूप्रति असहयोगी व्यवहार: कतिपय स्वास्थ्यकर्मीहरूले आफ्ना वरिष्ठप्रति सम्मानजनक व्यवहार नगर्ने वा सहकर्मीहरूसँग असहयोगी हुने प्रवृत्ति देखाउँछन्, जसले कार्यस्थलमा असहजता निम्त्याउँछ।
सुधारका उपायहरू
स्वास्थ्यकर्मीको तालिममा संचार प्रशिक्षण अनिवार्य गरिनुपर्छ।
स्वास्थ्य सेवामा मात्र संख्यात्मक वृद्धि नभई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखिनुपर्छ।
डाक्टर-नर्स तथा अन्य स्वास्थ्यकर्मीहरूले बिरामीहरूसँग सहानुभूतिपूर्वक व्यवहार गर्नुपर्छ।
वरिष्ठलाई सम्मान र जुनियरलाई माया गर्ने संस्कार विकास गर्नुपर्छ।
सरकार र संस्थाहरूले स्वास्थ्यकर्मीहरूलाई समय व्यवस्थापनमा सहयोग पुर्याउनुपर्नेछ।
चिकित्सकीय मानवता बिरामीहरूसँग मात्र नभई सहकर्मीहरूबीच पनि लागू गरिनुपर्छ।
कार्यस्थलमा सकारात्मक वातावरण बनाउन स्वास्थ्यकर्मीहरूले सहकार्य, सम्मानजनक संवाद र सहानुभूति देखाउनुपर्छ।
स्वास्थ्य सेवा एक टोलीगत कार्य भएकाले प्रत्येक स्वास्थ्यकर्मी, प्रशासनिक कर्मचारी, र अन्य सहयोगीलाई समान सम्मान दिनुपर्छ।
नेपालमा स्वास्थ्य सेवा सुधार गर्नका लागि मात्र स्वास्थ्यकर्मीको संख्या बढाउनु पर्याप्त हुँदैन। उनीहरूको संचार क्षमता, कार्यस्थलमा व्यवहार तथा बिरामी तथा सहकर्मीहरूसँगको सम्बन्ध सुधार गर्न आवश्यक छ। यसले समग्र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न मद्दत गर्नेछ।
-(लेखक बगाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी सहायक प्राध्यापक हुन्।)