भरतपुर अस्पताल अहिले नेपाल सरकारको केन्द्रीय अस्पताल बनेको छ । सेवाग्राहीको चाप निरन्तर बढिरहेको छ। अस्पतालमा जति सेवा र सुविधा थपिंदै जान्छन्, त्यति नै सेवाग्राहीको चाप बढ्दै जान्छ । स्वास्थ्य बीमाको पहिलो बिन्दु धेरैले भरतपुर अस्पताललाई बनाएका कारण पनि सेवाग्राहीको संख्या बढी भएको हो । सेवाग्राही धेरै हुँदा व्यवस्थापन स्वभाविक रुपमा चुनौतीपूर्ण हुन्छ तर पनि सम्भव भएजतिका काम पारदर्शी ढंगबाट विस्तार गर्दै जानु पर्ने आवश्यकता छ।
आर्थिक वर्ष २०७३/०७४ देखि २०७५ सम्म भरतपुर अस्पताल विकास समितिको अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाएँ । यो छोटो अवधिमा पनि मैले केही महत्वपूर्ण निर्णय गराएर कार्यान्वयन गराउन सफल हुन सकेँ । यद्यपी गर्नुपर्ने थुप्रै कामहरु बाँकी छन् । तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री गगनकुमार थापा मेरा अत्यन्त निकट व्यक्तित्व भएका कारण अस्पतालका समस्या सिधै उहाँसँग राखेर समाधान गर्ने अवसर मैले पाएँ । धेरै वर्षदेखि हामी एकअर्कासँग नजिक भएका कारण मैले राखेका कुरालाई उहाँले गम्भीर रुपमा लिनुभयो। भरतपुर अस्पताललाई उच्च प्राथमिकतामा राखेर हेर्नुभयो। हामीले मन्त्रालयमा पेश गरेका भौतिक र अन्य विभिन्न शिर्षकका बजेट कुनैपनि फिर्ता भएनन् । सम्भवतः मेरै पालामा सबैभन्दा धेरै बजेट निकासा भयो र भौतिक पूर्वाधार लगायतका काम हामीले गर्न सक्यौं । म अहिले पनि गर्व गर्छु, अस्पताल विकास समितिका अध्यक्षको विभागीय मन्त्रीसँग घनिष्ट सम्बन्ध रहेको विषयलाई आमजनको भरोसाको केन्द्र रहेको अस्पतालको विकास र विस्तारमा उपयोग गर्न सकें । छोटो समयमा अस्पतालले सेवा विस्तारका हिसाबले ऐतिहासिक सफलता प्राप्त गर्यो। त्यसो त त्योबेला प्रमुख मेडिकल सुपरिटेण्डेण्टका रुपमा रहेका डा. रुद्र मरासिनीको भूमिका पनि उत्तिकै छ, उहाँको निरन्तरको लगावले काम गर्न सहज भयो ।
त्यस समयमा अस्पतालको विस्तृत गुरुयोजना स्वीकृत भएसँगै सोही गुरुयोजना अनुसार भौतिक पूर्वाधारका कामहरु अघि बढेका छन् । अस्पतालको आफ्नै फार्मेसी हुनुपर्छ भनेर मैले अस्पताल फार्मेसी पूर्ण रुपमा सञ्चालनमा ल्याउने काम गरेँ । सोही समयमा १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिद गरी सञ्चालन गरियो । अस्पतालको इतिहासमै पहिलोपटक सिटीस्क्यान आएसँगै विपन्न बिरामीले समेत सहुलियतमा सेवा लिने अवसर प्राप्त गरेका छन् ।
अक्सिजन सधैं सिलिण्डर खरिद गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै अस्पतालको आफ्नै अक्सिजन प्लान्ट जडान गरी मेरै पालामा सञ्चालनमा ल्याउने काम भयो । वार्षिक ६५ देखि ७० लाख रुपैयाँ अक्सिजन खरिदमा खर्च गरिंदै आएकोमा दुई वर्षको अक्सिजन खरिद गर्ने पैसाले आफैंले अक्सिजन उत्पादन गर्न सकिएको छ । जसले गर्दा बचेको रकम अस्पतालका अन्य सेवा विस्तार प्रयोग गर्न पाइने वातावरण निर्माण भयो । प्लान्ट जडानसँगै अक्सिजन पाइपलाइन जडान गरी आईसियू, पोस्ट अपरेटिभ वार्ड लगायतमा विस्तार गर्ने काम पनि हामीले गर्यौं । जसबाट अक्सिजनको अभावको समयमा समेत अअस्पतालले सहज रुपमा अक्सिजनको मागलाई पूर्ति गर्न सक्ने अवस्था बन्यो । हामीसँग यो प्लान्ट नभएको भए कोभिडको समयमा अक्सिजनको ठूलो समस्या भोग्नुपर्ने हुन्थ्यो ।
अस्पतालको शवगृह मर्मत गरी ६ वटा ठूला फ्रिज जडान मेरै पालामा भएका काम हुन् । वेवारिसे शवहरु धेरै हुँदा ठाउँ अभाव हुने समस्यालाई फ्रिजको संख्या ६ पुर्याएसँगै हटेर गयो । अस्पतालमा भौतिक पूर्वाधार सधैं अभाव नै भईरहेको थियो । सोही समयमा ए ब्लक पूर्ण रुपमा सञ्चालनमा ल्याएर सेवा प्रदान गरिएको थियो । अस्पतालमा सामान्य बिग्रिएका बेड लगायतका फर्निचरहरु कवाडीमा बिक्री गर्ने र नयाँ किन्ने परिपाटी थियो।
काम नलाग्ने भनेरर कवाडीमा बेच्न राखेका सामान्य खर्चमा मर्मत हुन सक्ने जति सबै फर्निचरलाई मर्मत गर्यौं । जसका कारण अस्पतालको ठूलो रकम बचाउन सकियो र अन्य कार्यमा लगाउन सकियो । म अध्यक्ष हुँदै गर्दा स्टोरमा रहेका सामान्य समस्या भएका अधिकांश बेड लगायतका फर्निचरका सामाग्रीहरु बनाएर पुनः प्रयोग गरिएको थियो । पछिल्ला वर्षहरुमा यसलाई निरन्तरता दिएको पाइएन । हाम्रो पालामा मर्मत सम्भार गरेर लाखौं रुपैयाँ अस्पतालको बचत गराउन सफल भएका थियौं।

बहिरंग (ओपिडि) आउने सेवाग्राहीको समस्यालाई मध्यनजर गरी सोही समयमा १४ वटा क्याविन निर्माण गरी ओपीडी सेवा विस्तार गर्ने काम मेरै कार्यकालमा भएका हुन् । अस्पतालको सी ब्लक भवनको टेण्डर प्रक्रिया पूरा गरी निर्माणको काम शुरु गरिएको थियो । उक्त भवन अहिले पूरा भई प्रयोगमा आइसकेको छ।
अस्पताल आउने सेवाग्राहीलाई सहजताका लागि तत्कालिन आकस्मिक (इमर्जेन्सी) कक्ष अगाडि क्यान्टिन सञ्चालनमा ल्याइयो । सोही क्यान्टिन सञ्चालनमा ल्याएसँगै सेवाग्राहीले सस्तो र सहज रुपमा सेवा पाउने वातावरण सिर्जना भयो । अस्पतालको १३ धुर जग्गालाई तत्कालिन समयमा मासिक रु. ४ लाख एक हजार १११ मा भाडामा लगाइयो । जुन भाडा बृद्धि भएर अहिले मासिक रु. ७ लाख ८१ हजार ६५२ पुगेको छ । थोरै जमिनमा समेत अस्पतालले मासिक रुपमा धेरै भाडा पाउन सफल भएको छ । तत्कालिन समयमा हामीले खुल्ला बोलपत्र मार्फत् वार्षिक १० प्रतिशत बढ्ने गरी सम्झौता गरियो ।
मिर्गौला समस्या भएका बिरामीहरुलाई डायलाएसिस गर्न समस्या थियो । मेरै पालामा १२ वटा डाइलाइसिस मेसिन जडान गरी नियमित सेवा दिन शुरु गरियो । जसले गर्दा धेरै मिर्गौलाका समस्या भएका बिरामीले निःशुल्क रुपमा यो सेवा लिन पाउने वातावरण सिर्जना भयो ।
अस्पतालमा न्यूरो सर्जरी सेवा अभावलाई मध्यनजर गर्दै उक्त सेवा शुरु गरियो । न्यूरो उपचार गम्भीर प्रकृतिको हुँने हुँदा सोसँगै न्यूरो आर्ईसीयु स्थापना गर्ने काम सोही समयमा गरियो । यस्तै सिटिभिएस (कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी) सेवा पनि मेरै पालामा शुरु गर्न सकियो ।
भरतपुर अस्पतालमा आउने बिरामीले शल्यक्रियाका लागि लामो पालो बस्नु पर्ने बाध्यता विगतदेखि नै रहँदा आएको थियो । सोही समस्यालाई मध्यनजर गर्दै हामीले ६ वटा अत्याधुनिक शल्य कक्षहरु सञ्चालन ल्याएका थियौं । सोसँगै ३२ बेडको पोस्ट अपरेटिभ वार्ड समेत सञ्चालन गरियो । शल्य कक्षमा आवश्यक उपकरणहरु खरिद तथा जडान गर्ने काम पनि त्यहीबेला भएका हुन् ।
आईसीयू सेवालाई विस्तार गरी २० बेडमा पुर्याइएको थियो भने १० वटा भेन्टिलेटरहरु थप गरिएको थियो । जसले गर्दा गम्भीर प्रकृतिका बिरामीलाई बचाउन थप मद्दत मिलेको छ । यसैगरी बच्चाहरुलाई लक्षित गरी एनआईसियू (नियोनेटल आईसियु) स्थापना गरी सञ्चालन गरियो।
अस्पतालभित्रका सडकहरु ग्राभेल मात्रै हुँदा धुलोको समस्या थियो । सोही समस्यालाई समाधान गर्न अस्पतालभित्रको ग्रावेल बाटोलाई कालोपत्रे गर्ने काम हामीले गर्यौं ।
दाँतको उपचारमा आउने बिरामीको चापलाई मध्यनजर गर्दै ओपिडिमा डेण्टल चेयर थप गरी दन्त उपचार सेवालाई विस्तार गरियो । अस्पतालमा एकेडेमिक कार्यक्रमहरु थप गर्दै लैजानु पर्छ भन्ने मान्यताका साथ नाम्ससँग सम्झौता गरी बिएन, एमडीएमएस लगायतका कार्यक्रम सञ्चालन गर्न काम हामीले गरेका थियौं ।

पहिले कामदार लगाएर अस्पतालका कपडा धुनुपर्ने अवस्था थियो । म आएसँगै दुई वटा लोन्ड्री मेसिन खरिद गरेर बेडसिट लगायतका कपडा धुने व्यवस्था मिलाइयो । यसले गर्दा कम खर्चमा संक्रमणमुक्त कपडा बिरामीलाई उपलब्ध गराउन सहजता भएको छ ।
विस्तारित अस्पताल सेवा (ईएचएस) को मागलाई मध्यनजर गर्दै त्यसलाई थप व्यवस्थित गरी सञ्चालनमा ल्याइएको थियो । अस्पतालमा विद्युत आपूर्तिमा गडबडीको समस्या समाधान गर्न हामीले ट्रान्सफर्मर जडान गर्ने काम गर्यौं भने कुरुवाघर निर्माण कार्यको शुरुवात गरियो ।
नर्सिङ अध्ययनरत विद्यार्थीलाई फिल्डमा पठाउन भाडाको गाडी खोज्नु पर्ने अवस्था थियो । त्यसलाई अन्त्य गर्न हामीले मन्त्रालयसँग समन्वय गरेर अस्पताल बसको ब्यवस्गा गर्यौं । त्यसपछि आफ्नै बस मार्फत् विद्यार्थीलाई फिल्डमा पठाउन थालियो । यससँगै अस्पतालका अन्य प्रयोजनमा समेत बस प्रभावकारी बन्यो ।
अस्पतालमा सेवाग्राहीको आकर्षित दिनप्रति दिन बढिरहेको छ। सेवाग्राहीको चापलाई मध्यनजर गर्दै भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, आन्तरिक सुशासन लगायतका धेरै काममा सुधार गर्नुपर्ने बाध्यता छ । कतिपय ऐन, कानुनले तोकेका काममा पनि कार्यान्वयन हुन नसको अवस्था अहिले विद्यमान छ । त्यस्ता कामहरुलाई मध्यनजर गर्दै सेवाग्राहीलाई कसैको भनसुनको आधारमा होइन, सहज रुपमा सेवा प्रवाह गर्ने काममा अस्पताल प्रशासनले ध्यान दिनु जरुरी छ।