बिपिन कोइराला
सूर्य ग्रहण भनेको के हो?
पृथ्वीले सूर्यलाई घुम्ने तथा चन्द्रमाले पृथ्वीलाई घुम्ने क्रममा जब चन्द्रमा पृथ्वी र सूर्यको बीचमा आइपुग्छ र पृथ्वी चन्द्रमा र सूर्य एउटै सिधा रेखामा अवस्थित हुन्छन्, यो समयमा चन्द्रमाको छाया पृथ्वीमा पर्न गई पृथ्वीबाट हेर्दा सूर्य छेकिएको देखिने अवस्थालाई सूर्यग्रहण भनिन्छ।
नेपाल अस्त्रोनोमिकल सोसाइटीका अनुसार नेपाली समयको असार ७ गते तदनुसार जुन २१ तारिखमा लाग्ने वलय सूर्य ग्रहण नेपालबाट खण्डग्रास मात्र देखिने छ र यो सन् २०२० को पहिलो सूर्य ग्रहण हुनेछ।
हाम्रो समाजमा सूर्य ग्रहणलाई लिएर धेरै तथ्यहीन भ्रमहरु विद्यमान छन्।
सूर्य ग्रहण हेर्न धेरै मानिस आतुर हुन्छन् तर सूर्यलाई कहिले पनि सिधा हेर्न हुँदैन तथा सूर्य ग्रहणका बेला आवश्यक स्वास्थ्य सावधानी अपनाउनु पर्ने पौराणिक मूल्य-मान्यता र वैज्ञानिक तथ्यहरु छन्| सूर्य ग्रहणका बेला हाम्रो शरीरमा पर्ने असरमा आँखामा हुने असर तथा चर्म (छाला) मा हुने असर मुख्य हुन्।
त्यसैले आवश्यक सावधानी नअपनाई सूर्य ग्रहण हेर्दा हाम्रो आँखामा गम्भीर असर पर्न गई सधैंका लागि दृष्टि नै गुम्न पनि सक्छ।
सूर्य ग्रहणले कसरी आँखामा असर गर्छ?
सूर्यबाट पृथ्वीमा आउने आवश्यक प्रकाशका किरणसँगै हानिकारक विकिरणहरु पनि आउने गर्छन् र यी विकिरणमा मुख्यतय युभी लाइट पर्छन्।
सूर्य ग्रहण लाग्ने समयमा वातावरणमा प्रकाशको मात्रा कम हुन्छ जसले गर्दा दिउँसोको समयमा पनि अँध्यारो हुन्छ। यसरी दिउँसो नै अँध्यारो हुँदा उज्यालो हुँदाको समयको तुलनामा आँखाको नानीको आकर ठूलो बन्न पुग्छ, जसलाई मेडिकल भाषामा प्युपिल डाइलेसन भन्ने गरिन्छ।
आँखाको नानीको मुख्य काम भनेको आँखामा प्रवेश गर्ने प्रकाशको मात्रा निर्धारण गर्ने हो। यसरी ग्रहणको समयमा नानीको आकार ठूलो हुँदा आँखामा जाने प्रकाशको मात्रासँगै हानिकारक विकिरण पनि अत्यधिक मात्रामा प्रवेश गर्छन्। जसले आँखाको रेटिना अर्थात् आँखाले देख्ने भागमा अपरिवर्तनीय असर गर्नुका साथै सधैंका लागि ज्योति नै गुम्ने बनाउन सक्छ। जसलाई मेडिकल भाषामा सोलर रेटिनोप्याथी वा रेटिनल बर्न भनिन्छ| तर सूर्य ग्रहणको समयमा र सूर्य ग्रहण नभएको समयको तुलनामा पृथ्वीमा आउने विकिरणको मात्रामा परिवर्तन भने हुँदैन। मात्र परिवर्तन हुने भनेको आँखामा प्रवेश गर्ने हानिकारक विकिरणको मात्रा हो।
सूर्य ग्रहणले असर गरेमा देखिने लक्षण
तथ्यहरु केलाउँदा र विज्ञहरुका अनुसार सोलर रेटिनोप्याथीले ज्येष्ठ नागरिकलाई भन्दा युवा अवस्थाका मानिसलाई धेरै असर गरेको पाइएको छ भने महिलाको तुलनामा पुरुषमा सोलर रेटिनोप्याथी बढी देखिएको छ। यस पछाडिका तथ्य भने उपलब्ध भएन। यसका साथै धेरैजसो सोलर रेटिनोप्याथीले मानिसको दुवै आँखालाई असर गरेको हुन्छ भने कहिलेकाहीँ एउटा आँखामा मात्र असर गरेको पाइन्छ।
लक्षण
- धमिलो देखिने,
- कुनै पनि वस्तुलाई हेर्दा बीच भागमा छाया परेको जस्तो देखिने,
- हेरेको वस्तुको आकार बिग्रेको देखिने,
- प्रकाश सम्वेदनशीलता जसले गर्दा उज्यालोमा हेर्न गाह्रो हुने,
- रङको पहिचान गर्न मुस्किल हुने,
सूर्य ग्रहण हेर्ने भन्ने विषयमा समाजमा विद्यमान गलत प्रचलन
हाम्रो समाजमा सूर्य ग्रहण हेर्न धेरै गलत तरिकहरु प्रयोग भएको पाइन्छ र यी तरिकाहरु पूर्ण रुपमा गलत हुन् भन्ने कुरा समाजका प्रत्येक मानिसले जान्न जरुरी छ।
गलत प्रचलन
- एक्स-रे को पत्ता प्रयोग,
- साधारण सनग्लासको प्रयोग,
- कुनै भाँडामा पानी राखी छाया पारेर हेर्ने,
- आँखा सानो बनाएर छोटो समयको लागि हेर्ने,
- दुईटा हातका औंलाको बीचमा प्वाल बनाएर हेर्ने,
- कालो सिसाबाट वा कालो चस्माबाट हेर्ने,
- फोनको क्यामरा/भिडियो क्यामेराबाट हेर्ने,
यसरी माथि उल्लेख गरिएका कुनै पनि तरिकले सूर्य ग्रहणको समयमा आँखामा प्रवेश गर्ने हानिकारक विकिरण नछेक्ने हुँदा यी कुनै पनि तरिका सुरक्षित नहुने दृष्टिन विशेषज्ञ र नेत्र रोग विशेषज्ञहरुको भनाइ छ। माथि उल्लिखित तरिका वा प्रयोग गरिने सिसा, क्यामेरामा विकिरण छेक्ने फिल्टर नहुने हुँदा कुनै पनि विधि सुरक्षित हुँदैनन्।
सूर्य ग्रहण हेर्ने सुरक्षित उपाय
- घरमा नै पिनहोल प्रोजेक्टर बनाएर हेर्ने (युट्युबमा पिनहोल प्रोजेक्टर बनाउने र प्रयोग गर्ने तरिका देखाइएका धेरै भिडियोहरु रहेका छन्)
- सूर्य हेर्ने सोलर ग्लास/सोलर फिल्टरको प्रयोग गरेर हेर्ने,
- वेल्डिङ गर्दा प्रयोग गर्ने चस्मा पनि प्रयोग गर्न सकिन्छ तर त्यो आइएसओ मान्यताप्राप्त हुनुपर्छ।
- खगोलविदहरुले हेर्ने सोलर फिल्टर भएको दूरविन, टेलिस्कोपको प्रयोग गरेर हेर्ने।