एमपक्स रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो। यो रोग संक्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनीहरुको थुक, र्याल, घाउ खटिरा, शरीरबाट निस्कने तरल पदार्थ, दूषित भुईं सतह र सामग्रीहरुको संसर्गबाट सर्छ।
विश्वका धेरैजसो मुलुकहरुमा यो रोग देखा परेकाले आम नागरिकमा सचेतना ल्याउने उद्देश्यले यो जानकारीमुलक सूचनाको रुपमा प्रवाह गरिएको हो।
एमपक्सका बिरामी अहिलेसम्म १ सय ११ देशमा फेला परिसकेका छन्। यो रोग मानिसदेखि मानिसमा वा जनावरदेखि मानिसमा सर्ने गर्छ। सन् १९८० मा बिफर उन्मुलन भए लगत्तै यो रोग नयाँ रोगको रुपमा देखापरेको थियो।
यसअघि नेपालमा एक जना विदेशबाट नेपाल आएकी ६० वर्षीया विदेशी महिलामा नेपालमा पहिलो पटक एमपक्स पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानाकारी गराएको थियो। यसपालि भने साउदी अरेबियाबाट फर्किएका तनहुँ जिल्लाका एक ३६ वर्षीय पुरुष खटिराको समस्या लिएर काठमाडौंको ग्रान्डी अस्पतालमा २०८१/९/४ गते उपचारको लागि आएको र सोही दिन अस्पतालले एमपक्ससँग मिल्दोजुल्दो शंकास्पद लक्षण भएकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रेषण गरेको थियो। सोही दिन निजलाई आइसोलेसनमा राखी थप परीक्षणका लागि नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा मिति २०८१/९/५ गते एमपक्स पुष्टि भएको थियो।
यससँगै नेपालमा एमपक्स पुष्टि भएको यो दोस्रो पटक हो भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८१/९/५ गते प्रेस विज्ञप्ति निकाली सबैलाई सचेत रहन आग्रह गरेको थियो। यदि सतर्कता नअपनाउने हो भने यसले पनि महामारीको रुप लिन सक्ने हुनाले यस्तो खतरनाक रोगको बारेमा हामी सबै जनमानस सचेत र सजग हुनु आवश्यक देखिन्छ।
निम्न अंगबाट भाइरस व्यक्तिको शरीरमा प्रवेश गर्नसक्छ:
. श्वास नली
. मुख, नाक, आँखा
. शरीरमा काटिएको, टोकिएको वा फुटेको छाला बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस फैलिन सक्छ।
एमपक्स रोगका लक्षण
- ज्वरो आउनु
- सामान्य तया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छालामा दाग देखिनु
- अनुहार हत्केला र पैतलामा डाबर देखा पर्नु
- डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनु
- टाउको ढाड र मांसपेसी दुख्नु
- शरीरका ग्रन्थीहरु बढ्नु
- लक्षण १४ देखि २८ दिनसम्म रहन सक्छन् र सामान्य तया आफैँ हराउँछन्।
एमपक्स रोगका सम्भावित जटिलताहरु
बालबालिका र प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरुलाई निम्न जटिलता देखिन सक्छन्:
- आँखामा संक्रमण र दृष्टि गुम्नु।
- अन्य जिवाणुको संक्रमण।
- न्युमोनिया।
- मस्तिष्क ज्वरो।
- गर्भ खेर जानु र अन्त्यमा मृत्यु समेत हुनसक्छ।
एमपक्स रोकथामका उपाय
- एमपक्सको शङ्का लागेका वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने।
- सङ्क्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने।
- सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पीपीई लगाउने।
- नियमित रुपमा साबुन पानीले मिचिमिची हात धुने।
- घाउसँग प्रत्यक्ष सम्पर्कमा रहिन्छ भने हातमा पन्जा लगाउने।
- मरेका र बिरामी जनावरको सम्पर्कमा नजाने।
- सङ्क्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरु तातोपानी र डिटर्जेन्टले धुने गर्नुपर्छ।
- सङ्क्रमितको सम्पर्कमा आएको सतह र स्थान निसङ्क्रमण गर्ने।
- मासु तथा पशुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने गर्नुपर्छ।
- फोहोरको उचित तरिकाले व्यवस्थापन गर्नुपर्छ।
यसरी यस्तो महामारीको रुप लिन सक्ने घातक डरलाग्दो रोग भए तापनि यसबाट बच्न र रोकथामको लागि हरेक व्यक्ति स्वयं सचेत र आफ्नो व्यवहारमा लागू हुने हरेक कार्यमा सहजता अपनाएमा माथि उल्लेख गरिए जस्तै एम्पक्स रोगबाट सजिलोसँग बच्न वा जोगिन सकिन्छ।
यदि रोगलाई केही नमानी लापरबाही गरिएमा रोगले आक्रमण गर्नुको साथै ठूलो रुप लिन सक्छ। त्यसैले स्वास्थ्यका हरेक सूचनालाई महत्वपूर्ण सूचना मानेर आफ्नो दैनिकीलाई चलाउनुको साथसाथै रोगबाट जोगिनको लागि सूचनाका मापदण्डहरुलाई पालना गरेमा जस्ता किसिमका महामारी भए तापनि सजिलोसँग बच्न वा जोगिन सकिन्छ।
सबै आम जनमानसले आफ्नो व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन र स्वास्थ्यमा सबलता ल्याउन यी महत्वपूर्ण सूचनालाई आधार मानेर आफ्नो नियमित कार्यलाई अगाडि बढाउनु हरेक नागरिकको दायित्व पनि हो।
ज्वरो आएको १ देखि ३ दिन भित्रमा अनुहार हत्केला र पैतलामा दाग वा डाबर देखिएमा पैसा नलाग्ने हटलाइन नम्बर १११५ मा फोन गरेर जानाकारी लिनुहोस् र सुरक्षित रहनुहोस्।
(पोख्रेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुन्।)