महिलाहरुको लागि गर्भावस्था एक महत्वपूर्ण, उत्साहपूर्ण र स्मरणीय क्षण हो। तर कतिपय महिलाहरुको लागि स्वास्थ्य समस्याले चुनौतीपूर्ण हुने गर्दछ। गर्भवती समयमा उच्च रक्तचाप एक मुख्य स्वास्थ्य समस्या हो। हाम्रो जीवनशैली परिवर्तन सँगै बिस्तारै गर्भवती महिलाहरुमा देखिने उच्च रक्तचापको दर पनि बढदो क्रममा छ।
अरु सामान्य ब्यक्तिमा जस्तै रक्तचाप मापन गर्दा १४०/९० वा सो भन्दा माथि पाइएमा गर्भवती महिलामा उच्च रक्तचाप भएको मानिन्छ। यो समस्या गर्भवती महिलालाई सामन्यतः गर्भावस्थाको २० हप्ता पछि देखिने हुन्छ। उच्च रक्तचापको समस्या गर्भवती समयमा मात्र देखिने होइन, यो समसया प्रसुती साथै सुत्केरी समयमा पनि देखिने हुन्छ र धेरै आमाहरुलाई असर पुर्याउँछ।। यस समस्याले धेरै गर्भवती, प्रसुती र सुत्केरी अवस्थाका महिलाहरुलाई प्रभावित पार्नुको साथै बर्षेनी धेरै आमा तथा बच्चाको मृत्यु गराउँदछ। विश्व स्वास्थ्य संगठनको विवरण अनुसार ५-१०% गर्भवती महिलामा यसले असर पार्ने देखाएको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्बेक्षण (२०२२) को अनुसार नेपालमा १२% आमाको मृत्यु उच्च रक्तचाप र यसले गराउने जटिलता बाट भएको छ।
गर्भवती महिलालाई विभिन्न अवस्थाहरुमा उच्च रक्तचाप हुन सक्ने जोखिम बढाउने हुन्छ। महिलाको उमेर ३५ बर्ष वा सो भन्दा माथि छ भने पनि हुन सक्ने संभावनालाई बढाउँछ। यदि महिलाको पहिलाको गर्भवती हुँदा पनि उच्च रक्तचाप र यसको जटिलताहरु देखिएको थियो वा परिवारमा पनि अरुलाई विषेशतः आमा, दिदी बहिनीलाई यस्तो समस्या भएको थियो भने पनि हुने गर्दछ। त्यस्तै महिलामा शारीरिक निष्कृयता सँगै मोटोपनको समस्या, मधुमेह, मृगौला, प्रतिरक्षा प्रणाली सम्बन्धी (लुपस) रोग छ भने पनि उच्च रक्तचाप देखिन सक्दछ। पहिलो पटक गर्भवती भएकी छन् भने पनि हुने जोखिम बढदछ। यदि महिलाको गर्भमा एक भन्दा बढी बच्चाहरु (जुम्ल्याहा, तिम्ल्याहा वा बढी) हुर्किरहेको छ भने यस्तो अवस्थामा पनि महिलालाई उच्च रक्तचाप र यससँग हुने जटिलताहरु हुने गर्दछ।
उच्च रक्तचापको समस्या शुरुको अवस्थामा ब्यक्तिलाई कुनै लक्षणहरु नदेखिने हुन्छ र यसलाई मौन घातक समस्याको रुपमा लिने गरिन्छ। यसको लागि स्वास्थ्यकर्मीको सल्लाह अनुसार गर्भवती महिलाले नियमित स्वास्थ्य जाँच गराउनु पर्दछ। गर्भवती महिलालाई उच्च रक्तचाप भएको छ भने कडा लगातार टाउको दुख्ने हुन्छ, जसलाई दुखाई कम गर्ने औषधी लिदा वा आराम गर्दा पनि घटेको मसशुस नहुने हुन्छ। त्यस्तै अरु लक्षणहरु पनि देखिने हुन्छ जसले गर्दा रोगले थप जटिलता ल्याउँदैछ भनेर होशियारी हुनु पर्दछ।
तौल बढदै जाँदा गर्भवती महिलामा गर्भावस्थाको अन्तिम हप्तातिर गोडाको तल्लो भागमा सुन्नीने सामान्य हो, तर महिलाको तौल अचानक अपेक्षा गरे भन्दा बढी हुनुको साथै अनुहार र हात सुन्निन थाल्यो भने उच्च रक्तचापले जटिलता ल्याएको हुन सक्दछ। त्यस्तै आँखा धमिलो देखिने वा दोहोरो देखिने वा आँखा अगाडी थोप्लाहरु देखिनुको साथै माथिल्लो पेटको दुखाई हुने, वाकवाक लाग्ने, बान्ता हुने, पिसाब कम हुदै जाने पनि उच्च रक्तचाप र यसको जटिलताको लक्षणहरु हुन। यस्ता लक्षणहरु देखिएमा गर्भवती महिलालाई परिवारका सदस्यहरुले तुरुन्तै स्वास्थ्य संस्था लैजानु पर्दछ।
गर्भावस्थामा देखिने उच्चरक्तचाप र यसको जटिलताहरुलाई यदि समयमा पहिचान गर्न सकिएन वा उपचार भएन भने महिला र बच्चा दुबैमा गम्भिर प्रकारका जटिलता निम्त्याउन सक्दछ, साथै आमा बच्चाको मृत्यु सम्म हुन सक्छ। महिलामा देखिने जटिलताहरुमा मुख्यत प्रिएक्लाम्पसिया, एक्लाम्सिया, हेल्प सिन्ड्रोम हुन सक्दछ। कतिपय महिलाहरुमा मस्तिष्कघात, मृगौलाको काममा समस्या, फोक्सोमा पानी जम्ने, रगत जम्नको लागि समस्या हुने र अत्यधिक रक्तस्राब हुन सक्ने गम्भीर अवस्था आउने हुन सक्दछ। अति उच्च रक्तचापलाई कम गरिएन भने बच्चासँग जोडिएको साल, प्रसुती ब्यथा शुरु नै नभई छुटिन सक्दछ र बच्चाको पेटभित्र मृत्यु हुन्छ।
महिलामा देखिएको उच्च रक्तचापले उनको पेटमा हुर्किरहेको बच्चामा पनि जटिलताहरु देखिने हुन्छ। गर्भवती महिलामा उच्च रक्तचाप छ भने सालबाट बच्चालाई रगतको प्रवाह कमी भई बच्चाको उचित बृध्दि, विकास हुन सक्दैन र तौल राम्रोसँग बढ्न पाउदैन। बच्चाको वरिपरिको पानीको मात्रा कमी हुने र गर्भमा रहेको बच्चाको अवस्था जोखिममा पुग्न सक्दछ। उच्च रक्तचाप र जटिलताका कारण गर्भको बच्चा महीना नपुगी जन्माउनु पर्ने हुन्छ र यससँग सम्बन्धित जटिलता बच्चामा देखिने हुन्छ।
गर्भावस्था, प्रसुती र सुत्केरी समयमा हुने उच्च रक्तचाप यसले निम्त्याउने जटिलताहरु आमा र गर्भमा रहेको बच्चा दुबैमा गम्भीर स्वास्थ्य समस्या हो। यसको लागि गर्भवती महिला, सुत्केरी महिला र उनका हेरचाह गर्ने परिवारका सदस्यहरु सचेत हुन आवश्यक हुन्छ। यसको लागि गर्भवती महिलाको गर्भावस्थामा नियमित स्वास्थ्य जाँच, सुत्केरी अवस्थामा स्वास्थ्य जाँच, स्वस्थ्यकर जीवनशैली, रक्तचापको निगरानी, समयमै पहिचान र उचित उपचारले आउन सक्ने जटीलतालाई घटाउन सकिन्छ। आमा र बच्चाको स्वास्थ्य राम्रो र सुरक्षित राख्नको लागि परिवारका सदस्यहरु, आफन्तहरु र स्वास्थ्यकर्मीहरुको भुमिका महत्वपूर्ण हुन्छ।
(निर्मला घिमिरे ललितपुर नर्सिङ क्याम्पस, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी सह-प्राध्यापक हुन्)