ब्रान्डेड औषधि, इनोभेटर ब्रान्ड, अनुसन्धान ब्रान्ड
ब्रान्डेड औषधिलाई इनोभेटर ब्रान्ड वा अनुसन्धान ब्रान्ड पनि भनिन्छ। ब्रान्डेड औषधि भन्नाले कुनै औषधि कम्पनीले अनुसन्धान र विकास (आरएन्डडी) गरी पहिलो पटक बजारमा ल्यएको औषधि हो। यी औषधिहरू नयाँ सक्रिय तत्व (active ingredient) सहितका हुन्छन्, र तिनीहरूको प्रभावकारिता, सुरक्षा, र गुणस्तर प्रमाणित गर्न लामो समयसम्म परीक्षण गरिन्छ।
ब्रान्डेड औषधिको उत्पादन र बिक्रीवितरण अघि यसको प्रभावकारिता, सुरक्षा र दुष्प्रभावहरू जाँच्न धेरै चरणका क्लिनिकल परीक्षणहरू गरिन्छ। अनुसन्धान, परीक्षण र विकासमा ठूलो लगानी हुने भएकाले ब्रान्डेड औषधिको मूल्य महँगो हुन्छ। ब्रान्डेड औषधिलाई पेटेन्ट अधिकार दिइन्छ, जसले यो औषधि २० वर्षसम्म अन्य कम्पनीहरूलाई उत्पादन गर्नबाट रोक्छ। पेटेन्ट अवधिभर, यो औषधिको उत्पादन र बिक्रीमा इनोभेटर कम्पनीको मात्र अधिकार हुन्छ। यसले औषधि कम्पनीलाई इनोभेटर ब्रान्ड औषधिको विकासमा लागेको खर्च उठाउन मद्दत गर्छ। उच्च लागतका कारण ब्रान्डेड औषधिको मूल्य महँगो हुन्छ र सबैले ब्रान्डेड औषधि किन्न सक्दैनन्।
जेनेरिक औषधि
ब्रान्डेड औषधिको पेटेन्ट अवधि समाप्त भएपछि कुनै पनि कम्पनीले यो औषधि उत्पादन गर्न पाउँछ। ब्रान्डेड औषधिको पेटेन्ट अवधि समाप्त भएपछि अरु औषधि कम्पनीहरुले ब्रान्डेड औषधिमा हुने सक्रिय तत्व भएको, ब्रान्डेड औषधि जत्तिकै प्रभावकारी र गुणास्तरीय औषधि उत्पादन र बिक्री वितरण गर्दछन् । यस प्रकारकाऔषधिको कुनै ब्रान्ड नाम राखिएको हुँदैन। सिधै अणुको (Generic molecule Name) नाम राखेर बिक्री वितरण गारिन्छ। यस्तो औषधिलाइनै जेनेरिक औषधि भनिन्छ। पेटेन्ट समाप्त भएपछि एकै औषधिका धेरै जेनेरिक संस्करणहरू बजारमा उपलब्ध हुन्छन्। अनुसन्धान र विकासमा धेरै खर्च नगरेकाले यसको मूल्य ब्रान्डेड औषधिको तुलनामा निकै कम हुन्छ। कम लागतका कारण धेरै मानिसले औषधि किन्न सक्ने स्थिति हुन्छ। स्वास्थ्यसेवामा पहुँच सहज बनाउँछ।
ब्रान्डेड जेनेरिक औषधि
ब्रान्डेड जेनेरिक औषधि भनेको कुनै जेनेरिक औषधिलाई ब्रान्ड नाम दिएर बजारमा ल्याइएको औषधि हो। यी औषधिहरूमा जेनेरिक औषधि वा इनोभेटर ब्रान्डमा जस्तै सक्रिय तत्व र गुणस्तरयुक्त हुन्छन्। औषधि कम्पनीहरूले आफ्नो ब्रान्ड नाम (कम्पनीले चाहेको नाममा) अन्तर्गत जेनेरिक औषधि उत्पादन गरी बजारमा बेच्छन्। यी ब्रान्डेड जेनेरिक औषधिहरू ब्रान्डेड औषधिभन्दा सस्ता हुन्छन् तर साधारण जेनेरिक औषधिभन्दा महँगो हुन्छन्।
नेपालको हालको अवस्था
नेपालको कुरा गर्दा निकै थोरै जेनेरिक औषधि र ब्रान्डेड औषधि (इनोभेटर ब्राण्ड) मात्र बजारमा उपलब्ध छ। नेपाली बजारमा उप्लब्ध प्रायजसो औषधिहरु ब्रान्डेड जेनेरिक औषधि हुन्। तसर्थ नेपालको औषधि बजारमा ब्रान्डेड जेनेरिक औषधिले महत्त्वपूर्ण स्थान ओगटेको छ। नेपालमा ७० भन्दा बढी स्थानीय औषधि उत्पादक कम्पनीहरूले ब्रान्डेड जेनेरिक औषधि उत्पादन गरिरहेका छन्। नेपालमा अहिलेसम्म जेनेरिक औषधी उत्पदन गर्ने कुनैपनी औषधि कम्पनी छैनन्। भारत र अन्य देशहरूबाट पनि विभिन्न ब्रान्डेड जेनेरिक औषधि आयात गरिन्छ। नेपालमा २०२३३ औषधीहरु दर्ता भएकाछ्न्। यसमा प्राएजसो ब्रान्डेड जेनेरिक औषधिनै छन्। तसर्थ चिकित्सकले जेनेरिक औषधि लेखेपनि बिरामीहरुले पाउने भनेको ब्रान्डेड जेनेरिक औषधिनै हो।