सरकारको चिकित्सकहरूलाई केवल जेनेरिक नाममा औषधि लेख्न बाध्य बनाउने नीतिले स्वास्थ्य सेवामा लागत घटाउने लक्ष्य राखेको देखिन्छ। तर, यो नीति लागू गर्नु अघि वर्तमान स्वास्थ्य संरचना, नियामक प्रणाली र औषधिको गुणस्तर सुनिश्चित गर्ने क्षमताको समीक्षा गर्नु आवश्यक छ। हालको अवस्था नियाल्दा यो नीति तत्काल लागू गर्नु उपयुक्त र सुरक्षित छैन। यहाँ यसबारेको विभिन्न पक्षलाई गहिरो विश्लेषण गरिएको छ।
नियामक प्रणाली र औषधि गुणस्तरमा कमजोरी
नेपालको औषधि नियामक प्रणाली अहिले विश्व स्वास्थ्य संगठनको म्याचुरिटी लेवल १ (WHO Maturity Level 1) मा छ। यस स्तरमा अत्यावश्यक अध्ययन र मूल्याङ्कन गर्न सक्ने क्षमता न्यून छ। उदाहरणका लागि, नेपालमा निर्मित जेनेरिक औषधिहरूले प्राय: comparative dissolution study, bioavailability (BA) र bioequivalence (BE) परीक्षणहरू पार गरेका हुँदैनन्। यी परीक्षणहरूबिना औषधिको प्रभावकारिता र सुरक्षा सुनिश्चित गर्न गाह्रो पर्छ। अझै बजारमा उपलब्ध जेनेरिक औषधिहरूको गुणस्तर तुलना गर्न पर्याप्त सन्दर्भ मापदण्ड (reference standards) को पनि अभाव छ। उपलब्ध मापदण्डहरू प्राय: भारतजस्ता देशका औषधिमा आधारित हुन्छन् जुन आफैँमा अपर्याप्त छ र जसले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर सुनिश्चित गर्दैन।
औषधि उत्पादनमा असमानता
नेपालमा निर्मित जेनेरिक औषधिहरू गुणस्तर र प्रभावकारितामा असमान छन्। सक्रिय घटक (active pharmaceutical ingredients, API) को प्रयोगमा भिन्नता हुनु, उत्पादन प्रक्रिया कुशल उत्पादन अभ्यास (GMP) को पालन नगर्नु र गुणस्तर नियन्त्रणको अभावले औषधिको प्रभावकारितामा असर गरेको पाइन्छ। यस्तो अवस्थामा, जेनेरिक नाममा औषधि लेख्न बाध्य पार्दा बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम निम्तिन सक्छ।
विश्वसनीय औषधि आपूर्ति प्रणालीको अभाव
नेपालमा गुणस्तरीय जेनेरिक औषधिको पर्याप्त आपूर्ति श्रृंखला सुनिश्चित नगरिएको अवस्था छ। यस्तो अवस्थामा सस्तो जेनेरिक औषधि उपलब्ध गराउने नाममा गुणस्तरहीन उत्पादन बजारमा पुग्न सक्छ। दीर्घकालीन रोग, जस्तै मुटु रोग, मिर्गौला समस्या, र संक्रामक रोगहरूको उपचारमा सानो त्रुटिले ठूला स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ।
स्वास्थ्य प्रणाली र प्रशिक्षणको कमी
नेपालमा औषधिको दुष्प्रभाव निगरानी गर्ने फार्माकोभिजिलेन्स प्रणाली कमजोर छ। यसले औषधिको प्रयोगपछि हुने कुनै पनि प्रतिकूल प्रभावलाई पहिचान गर्न र सम्बोधन गर्न असमर्थ बनाउँछ। चिकित्सक र फार्मासिस्टहरूले औषधिको therapeutic equivalence बारे पर्याप्त ज्ञान नपाएको अवस्थाले गर्दा बिरामीलाई गलत औषधि प्रतिस्थापनको जोखिम बढ्छ वा त्यस्को क्लिनिकल आउटपुट फरक आउन सक्छ।
रोगीको विश्वासको गिरावट
नेपालमा धेरै ब्रान्डेड जेनेरिक औषधिहरु हुन त त्यसको आफ्नो विश्वाशनियता छ। आफ्नो आफ्नो हिसाबले र एकदम कम मात्रामा Innovator brand औषधिहरु छन्। नेपालका धेरै बिरामीहरूले डाक्टरले लेखेको ब्रान्डेड औषधिलाई भरपर्दो मान्ने परिपाटी बनाएका छन्। गुणस्तर सुनिश्चित नगरी जेनेरिक नाममा औषधि लेख्न बाध्य बनाउँदा स्वास्थ्य प्रणालीप्रतिको विश्वास घट्न सक्छ। यो अवस्था उपचारमा अवरोध ल्याउन सक्छ र बिरामीले आवश्यक सहयोग प्राप्त गर्न नसक्ने स्थिति सिर्जना हुन सक्छ।
सुधारका उपायहरू
जेनेरिक नाममा औषधि लेखनको नीति लागू गर्नु अघि केही आधारभूत सुधारहरू आवश्यकताहरु विचार गर्नुपर्ने हुन्छ जस्तै:
१. नियामक क्षमता बलियो बनाउने: नेपालको नियामक प्रणालीलाई WHO Maturity Level 3 मा पुर्याउन लगानी गर्न आवश्यक छ। यसले औषधिको गुणस्तर सुनिश्चित गर्न र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण तयार पार्छ।
२. औषधि उत्पादनमा गुणस्तर सुधार गर्ने: सबै निर्माताहरूलाई GMP पालन अनिवार्य गरिनुपर्छ। साथै, औषधि उत्पादनका क्रममा comparative dissolution study, BA/BE अध्ययन, र residual solvents , elemental impurities को गुणस्तर परीक्षण अनिवार्य गर्नुपर्छ।
३. चिकित्सक र फार्मासिस्टको तालिम: औषधिको therapeutic equivalence र सुरक्षित प्रयोगबारे चिकित्सक र फार्मासिस्टलाई तालिम दिनुपर्छ। योले उनीहरूलाई रोगीको लागि उपयुक्त औषधि छनोट गर्न सक्षम बनाउँछ।
४. ड्रग थेराप्युटिक कमिटीको स्थापना: अस्पतालहरूले Drug Therapeutic Committee (DTC) गठन गरी गुणस्तरीय औषधिहरूको सूची तयार गर्नुपर्छ। यसले चिकित्सकहरूलाई उपचारमा सहयोगी गाइडलाइन प्रदान गर्न सक्छ।
५. स्थानिय उत्पादन सुधार र नवप्रवर्तन: स्थानिय औषधि कम्पनीहरूले robust data generation मा लगानी गर्नुपर्छ। यसमा stability tests, bioavailability studies, र active pharmaceutical ingredient (API) को शुद्धता परीक्षण समावेश हुनुपर्छ।
सहकार्य र पारदर्शिता
डाक्टर, फार्मासिस्ट र औषधि कम्पनीबीच सहकार्य र पारदर्शी प्रणालीको स्थापना अत्यावश्यक छ। यसले evidence-based practices लाई प्राथमिकता दिन्छ र प्रचारात्मक प्रलोभनहरूलाई हटाउँछ। औषधि कम्पनीहरूले उत्पादन गुणस्तर सुधार्न वैज्ञानिक प्रमाणहरूमा आधारित रणनीति अपनाउनुपर्छ।
औषधिको लागत घटाउन जेनेरिक नाममा लेखनको नीति प्रभावकारी हुन सक्छ। तर, गुणस्तर सुनिश्चित नगरी यो नीति लागू गर्नुले रोगीको स्वास्थ्यमा गम्भीर असर गर्न सक्छ। नियामक प्रणाली सुधार गर्दै, चिकित्सक र फार्मासिस्टलाई तालिम दिँदै र गुणस्तरीय औषधिको आपूर्ति श्रृंखला तयार गर्दै चरणबद्ध रूपमा यो नीति लागू गर्नु नेपालका लागि उपयुक्त हुनेछ। यस प्रक्रियाले स्वास्थ्य सेवाको गुणस्तर सुधार्न र रोगीप्रतिको विश्वास कायम गर्न मद्दत पुर्याउँछ।
यो पनि :
ब्रान्ड, जेनेरिक र ब्रान्डेड जेनेरिक औषधि