काठमाडौं- नेपाल चिकित्सक संघले कोरोना संक्रमित चिकित्सकको उद्दार, उचित व्यवस्थापन र सहज उपचारका लागि आवश्यक सहयोग गर्ने भएको छ।
संघले प्रेस विज्ञप्ति जारी गर्दै संक्रमितको उपचारमा खटिने क्रममा संक्रमित भएका चिकित्सकलाई अवाश्यक सहयोग गर्ने प्रतिवद्दता जनाएको हो।
संघले त्यसका लागि देशभरका संक्रमित चिकित्सकको यथार्थ विवरण संघको केन्द्रीय कार्यालयमा पठाई सम्पर्कमा आउन अनुरोध गरेको छ।
पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा उपचारमा फ्रन्टलाइनमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु नै संक्रमणबाट ग्रसित भई अस्पतालमा भर्ना हुने क्रम बढेको छ।
संघद्धारा जारी विज्ञप्तिमा संक्रमित स्वास्थ्यकर्मी र चिकित्सकका उपचारका लागि छुट्टै अस्पताल बनाइनुपर्ने माग समेत गरेको छ।
‘संक्रमित भएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुका लागि छुट्टै अस्पताल तथा उपचारको व्यवस्था गर्न चिकित्सक संघले सरकार समक्ष पटक पटक आग्रह गर्दा समेत सुनुवाई नगरी सम्पूर्ण चिकित्सकहरुको मनोबल घटाउने कार्य भएकोप्रति संघको गम्भिर ध्यानाकर्षण भएको छ,’ संघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाल मेडिकल काउन्सिलले जारी गरेको निर्देशिका बमोजिम चिकित्सकले कोरोना संक्रमितको उपचार गर्दा अपनाउनुपर्ने सुरक्षा सावधानी र व्यक्तिगत सुरक्षा सामग्री (पिपिई)को प्रयोग गरी उपचारमा संलग्न हुन संघले अनुरोध गरेको छ।
साथै, सबै स्वास्थ्य संस्थालाई निर्देशिकामा उल्लेख भए बमोजिमका सुरक्षाका सामग्रीहरु उपलब्ध गराई स्वास्थ्य सेवामा खटाउन संघले अनुरोध गरेको छ।