मलेसियाबाट अस्वस्थ्य भनि नेपाल फर्काइएका आप्रवासी कामदारमध्येका एक हुन् पंचराम चौधरी थारु। कपिलवस्तु जिल्ला निवासी ३० वर्षीय पंचराम चौधरी थारु नेपालमा हात्तीपाइले भनेर चिनिने लिम्फेटिक फाइलेरियासिस्को परीक्षण पोजेटिभ देखिएपछि मलेसियाबाट नेपाल फर्काइएका हुन्। मलेसियाबाट निकालिएपछि आफ्ना चकनाचुर भएका सपना बोकेर आफ्नो देश फर्र्किएका छन्। पंचराम एक प्रतिनिधि पात्र मात्रै हुन् जसको कथाले विदेशमा अवसर खोज्न गएका नेपाली युवाहरुले अप्रत्याशित रुपमा देखा परेको स्वास्थ्य चुनौतीको झल्को दिन्छ।
जनावरी २०२४ मा आफ्नी श्रीमती र १८ महिनाकी छोरीको जीवन सहज र सुखी बनाउने सपना बोकेर मलेसियाको यात्रा सुरु गरेका चौधरीको गएको एक महिना पनि नपुग्दै सपना चकनाचुर भयो। मलेसियाको नियमित स्वास्थ्य परीक्षणको दौरानमा चौधरीको शरीरमा फाइलेरिया रोग पोजेटिभ देखिएपछि फेब्रुवरीमा मलेसियन सरकारले उनलाई नेपाल फकाईदियो। दुई लाख सत्तरी हजार रुपैयाँ ऋण लिएर मलेसिया गएका चौधरी हाल तनावमा छन्।
तीन लाख सत्तरी हजार रुपैयाँ सापट लिएर मलेसिया गएका प्रभास राजवंशीको कथा पंचरामको भन्दा केहि फरक छैन। प्रभास राजवंशी पनि पंचराम जस्तै मलेसियामा नियमित स्वास्थ परीक्षणको क्रममा फाइलेरिया रोग पोजेटिभ देखिएपछि नेपाल फर्काइएका हुन्। गर्भवती श्रीमती र आफ्नो गुजारा टार्न हाल प्रभास दैनिक ज्याला मज्दूरीमा आफ्नो संघर्ष गरिरहेका छन्। एकातिर आफू अस्वस्थ प्रमाणित भएको पीडा, अकोतर्फ ऋणको भारी बोकेर दिनहुँ संघर्ष गरिरहेका प्रभास निराश हुँदै म्यानपावर कम्पनीबाट आफ्नो पैसा फिर्ता दिलाइदिन सहयोगको याचना गरिरहेका छन्। “यदि सहयोग नै गर्न चाहनुहुन्छ भने कृपया म्यानपावरबाट मेरो पैसा फिर्ता गराइदिनुहोस्” भन्दै सहयोग खोजिरहेका प्रभास समान समस्या भोगिरहेका अन्य युवाहरुको प्रतिनिधि आवाज हुन्।
पंचरामले म्यानपावरलाई बुझाएको केहि पैसा फिर्ता पाउन सफल भएता पनि प्रभासलाई भने न त म्यानपावरले पैसा फिर्ता दियो न त काम गर्न गएको कम्पनीले कुनै सोधभर्ना दियो। पंचराम र प्रभास जस्तै लिम्फेटिक फाइलेरियासिस् (हात्तीपाइले) रोगको सिकार भई विदेशबाट नेपाल फर्काइने व्यक्तिहरुको संख्या बढ्दो क्रममा छ। यस रोगले स्वास्थमा मात्र असर नभइ व्यक्तिको आर्थिक स्थायित्व, र अनेकौँ सपना सजाएर बैदेशिक रोजगारमा जाने युवाहरुको संसार ध्वस्त समेत पार्दछ। समयमा नै यस रोगको रोकथामको लागि सरकारले निर्देशन गरेको औषधिको सेवन नगर्नाले यो रोग लाग्दछ।
एक पटक शरिरमा यस रोगको लक्षण देखिए पछि निको नहुने र यस रोगले अन्ततःअपाङ्ग समेत बनाउने हुनाले यि रोग लागेका व्यक्तिहरुको जीवन असहजहुन जान्छ। दक्षिण एसियाली देशहरु मध्ये बंगलादेश, माल्दिभ्स् र श्रीलंकाले यो रोग उन्मूलन् गरिसकेका छन्। मलेसिया पनि यस रोग उन्मूलनको प्रक्रियामा रहेको हुनाले संक्रमण नियन्त्रणको लागि उक्त रोगको परीक्षणमा पोजेटिभ देखिएका वैदेशिक रोजगारमा रहेका व्यक्तिहरुलाई स्वदेश फिर्ता पठाउने निति मलेसियन सरकारले अपनाएको देखिन्छ।
नेपालले सन् २०३० सम्ममा नेपालबाट लिम्फेटिक फिलारियासिस् उन्मूलन गर्ने उद्धेश्य राखी हरेक साल विभिन्न जिल्लामा आम औषधि सेवनका अभियानहरु संचालन गर्दै आइरहेको छ। नेपालका ७७ जिल्लामध्ये १३ वटा जिल्लामा यस रोगको संक्रमण नरहको, ५३ वटा जिल्लामा आमऔषधि सेवनले पूर्णता पाएको र ४ वटा जिल्लामा आमऔषधि सेवन पूरा गरि अन्तिम सर्वेक्षणको क्रममा रहेको कुरा विश्व स्वास्थ्य संगठनको प्रतिवेदनहरुमा उल्लेख गरिएको छ।
७७ जिल्लामध्ये ७ वटा जिल्लाकपिलवस्तु, रसुवा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी र झापामाभने अझै पनि सामुदायिक स्तरमा यस रोगको संक्रमणको जोखिमउच्च देखिएको छ। विश्वभरि करिब १२० मिलियन व्यक्तिमा देखिएको यो रोग (लिम्फेटिक फिलारियासिस्) क्युलेक्स् नामक लामखुट्टेबाट सर्ने एक सरुवा रोग हो जसले लशिका नलिलाई असर पुर्याइ शरिरका विभिन्न अंगमा असरहरु देखाउन थाल्छ। यो रोग लागे पछि मानिसमा खुट्टा सुन्निएर हात्तीका पाइला जस्ता हुँदै जाने, हात सुन्निने, पुरुषको अण्डकोश सुन्निे, महिलामा स्तन सुन्निने जस्ता लक्ष्णहरु देखिने गर्दछ। एक पटक रोग लागि सकेपछि कुनै पनि उपचार नभएका कारण यस रोगले संक्रमित व्यक्तिको जीवन असहज बनाउँदै जीवनभरीका लागि अपाङ्गता समेत श्रृजना गर्ने हुनाले यो रोग जनस्वास्थ्यको क्षेत्रमा डरलाग्दो चुनौती हो।
रोकथामका उपायहरु उपलब्ध हुँदाहुँदै पनि पंचराम र प्रभास जस्ता १६ जना नेपाली कामदारहरु यस रोग परीक्षणमा पोजेटिभ देखिएका कारण रोजगारी विहिन भई स्वदेश फर्किएका छन्। यो संख्या टेकु अस्पतालको सम्पर्कमा आएका व्यक्तिहरुको संख्या मात्र हो, बाँकी तथ्यांक अझै पनि अस्पष्ट नै छ। मलेसियाबाट फिर्ता पठाइएका यि व्यक्तिहरुलाई मलेसियन सरकारले जीवनभरि मलेसिया प्रवेशमा रोक लगाएको छ। मलेसिया पुनःप्रवेश गर्न रोक लगाइएका यि युवाहरुको यो अनिश्चित भविष्यबारे सोच्दै गर्दा उनीहरुसँग आर्थिक अनिश्चितता र कठिनाइको चक्रलाई निरन्तरता दिँदै अन्यत्र अवसरहरु खोज्नुबाहेक केहि विकल्प नरहेको देखिन्छ।
यस रोगसँग लड्ने एउटै मात्र हतियार भनेको आमऔषधि सेवन मात्र हो जुन हाल उच्च जोखिम मानिएका सातैवटा जिल्लामा संचालन भइरहेको छ। वि.सं.२०८१ साल बैशाख १६ गते देखि ३० गते सम्म स्वास्थ्यकर्मी, जनस्वास्थ्य अधिकारीहरु तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु घरघर, टोलटोलमा गई कोहि पनि नछुटुन् भनि अहोरात्र खटिएर हात्तीपाइले विरुद्धको आमऔषधि सेवन अभियानमा लागिरहेका छन्।
यस अभियानमा प्रयोग गरिएका तिनै थरी औषधिहरु सुरक्षित रहेको कुरा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट चिकित्सक डा विमल चालिसे बताउनुहुन्छ। दुई वर्ष मुनिका बालबालिका, गर्भवती महिला, सात दिनसम्मको सुत्केरी र ओच्छ्यानमै थला परेका बिरामीबाहेक सबैले यो औषधि सेवन गर्न सकिने र यस रोगबाट बच्न आफु र आफ्नो छरछिमेकमा सबैलाई औषधि सेवनगर्न प्रेरित गरी भविष्यमा हुन सक्ने जोखिम बाट बच्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनी सबैमा आव्हान् सन्देश दिनुहुन्छ।
-(श्रद्धा उपाध्याय र प्रमिला पराजुली फेयरमेड नेपालमा कार्यरत छन्।)