मार्वल सिनेमाटिक युनिभर्सद्वारा निर्मित 'आइरन मेन' २००८ मा निर्देशक जोन फभ्रौले निर्देशन गरेका एउटा सुपरहिरो फिल्म हो। एउटा इन्जिनियर आतंकीवादी हमलाबाट बच्न मेकानाइज्ड सुट अफ आर्मोर बनाउँछ र आइरन मेन बन्छ। आइरन फोक्सो भनेको उक्त चलचित्र भन्दा फरक सन् १९२७ मै निर्माण भइसकेको यन्त्र हो। जसको काम पोलियो आतंकबाट मान्छेलाई सुरक्षा दिनु थियो। आइरन मेन काल्पनिक नायक मात्र हुन् तर आइरन लंग्स वास्तविक नायकी यन्त्र हुन्। जसले सन् १९२० पछि हजारौं बिरामीको जीवन बचाउने काम गरेका थिए। क्याबिनेट रेस्पिरेटर, ट्यांक रेस्पिरेटर, नेगेटिभ प्रेसर भेन्टिलेटर, सबै आइरन लङका पर्यायबाची शब्द हुन्।
आईरन फोक्सो/लङ भनेको एउटा ठूलो तेस्रो सिलिन्डर आकारको भाँडो जस्तो मेसिन हो, जसले टाउको बाहेक सबै शरीरको सम्पूर्ण भाग ढाकेको हुन्छ। शरीरलाई सिल्ड गरेको भागले इन्हालेसन र एक्स्हेलेसनको चक्र पूरा गर्ने गर्छ। जसमा सिलिन्डरले श्वासप्रश्वासका मांशपेशीलाई सहयोग तथा स्टिम्युलेट गर्ने गर्छ। फिलिप ड्रिङ्कर र लुयिस सवले बनाएका उपकरण आधुनिक चिकित्सामा प्रयोग हुने नेगेटिभ प्रेसर भेन्टिलेसको एउटा प्रकार हो, जुन सास फेर्न असक्षम बिरामीहरुलाई पुनः सास फेर्न मद्दत गर्ने गर्छ। आइरन लङ प्रायः कोयला ग्याँसले पोइजन भएको बिरामी, पोलियोका बिरामी तथा बर्बिचुरेट्स जस्ता औषधिले पोइजन भएको बिरामी, बोट्लिज्म जस्ता बिरामीलाई स्वासप्रस्वास सम्बन्धि समस्याको लागि प्रयोगमा ल्याइन्थ्यो।
पोलियो महामारीले कोरेको आइरन फोक्सोको इतिहास
विश्वले हालसाल नै भोगेको कोभिड-१९ को पिडा अझै ताजा छ । पोलियोमाइलाइटिस महामारी कुनै समयमा अझ भयानक नरसंहारका रुपमा फैलिएका थियो भनेर तपत्याउन निकै कम होलान्। पोलियोले प्रायः पाँच वर्ष मुनिका बालबालिकालाई आफ्नो शिकार बनाउने गर्थ्यो। सुरुमा समान्य रुघाखोकी हुँदै मांसपेशी कडा तथा पक्षघात हुने, छातीको मांसपेशीहरु कडा भएर स्वास फेर्न गाह्रो हुने, हातखुट्टा कडा तथा पक्षघात हुने जटिल समस्या देखिन्थ्यो। पाँचदेखि दश प्रतिशत बिरामीमा स्वास्प्रस्वास मांशपेशी पूर्ण रुपले कडा भएर काम गर्न बन्द गर्थ्यो। लगभग एक हप्ता जतिको जटिल आपतकाल पछि कोइ-कोइ न्यून मात्र मा बाँच्ने गर्थे भने कसैले प्रण त्याग्ने गर्थे। यतिबेला सम्पूर्ण डाक्टर, ईन्जिनियरहरुको प्रमुख उद्देश्य तथा चुनौती भनेको बिरामीको स्वासश्प्रश्वास जसरी पनि एक या दुई हप्तासम्म जोगाएर राख्ने भयो, किनकि एक हप्तापछि बिरामीका लक्षणहरु कम हुँदै जान्थे।
कोइला- ग्यासको जहरले बिरामी भएको मान्छेहरु माथि काम गरी रहेका हावार्ड स्कुल अफ पब्लिक हेल्थका फिलिप ड्रिङ्केरले कृतिम स्वासप्रस्वासले पोलियोको बिरामीलाई केही मद्दत गर्न सक्छ कि भनेर स्टिल धातुको वायु-रोधक कक्ष वा बाकस जस्तो उपकरण बनाए, जसले पहिले बालिकासँगै हजारौं पोलियोका बिरामीहरुको ज्यान बचाउने काम गर्यो। स्टिल पछि आइरनले बनेका च्याम्बर प्रयोग हुन थाले। एडवार्ड बाथले महंगो च्याम्बर र काम गर्न सजिलो बनाउन पलाइवुडको प्रयोग गरे तर यो च्याम्बरको आयु १ दिन जति मात्र हुने गर्थ्यो।
सन् १९५५ मा डा जोनस सल्क ले पहिलो इनएक्टिभ (मरेको) पोलियो भ्याक्सिन र सन् १९६१ मा डा अल्बर्ट सबिनले ओरल भ्याक्सिन आविस्कार गरे पश्चात, सँगसँगै चिकित्सा शास्त्रमा आधुनिक मेसिनहरुको आविस्कारले पोलियो महामारीको अन्त्य गर्यो। पोलियो बिरुद्ध खोप र नकारात्मक चाप भएको नेगेटिभ प्रेसर भेन्टिलेटरले आइरन फोक्सोको प्रयोग तथा अस्तित्वको उचित पलायन गर्यो। हाम्रो जस्तो बिकासोन्मुख देशका अस्पतालमा आइरन नामक फोक्सो त्यति देखिइन्।
आइरन फोक्सोले काम कसरी गर्छ ?
ताबूत अथवा शवबाकस जस्तो यन्त्रमा हिजो भर्खर खेल्दै गरेका परिवारका सदस्यलाई जिउँदै राखेको देखिनु भन्दा डरलाग्दो क्षण सायद अर्को कुनै थियो। तर त्यो बाकस हजारौं बा-आमाका लागि आशाको किरण थियो। ड्रिङ्केरले एउटा एअर टाइट च्याम्बरमा बिरामीलाई पूर्ण रुपले उतानो परि सुताउने गर्थ्यो। बिरामीको टाउको च्याम्बेर बाहिर रबरको कालर ले सिल गरेको हुन्थ्यो। बिद्दुतका मोटर र वायु पम्प (भ्याकुम क्लिनरको जस्तो ) जडान हुन्थ्यो। च्याम्बरले एक्स्टर्नल निगेटिभ प्रेसर भेन्टिलेसन (ENPV ) द्वारा काम गर्ने गर्थ्यो। च्याम्बर बाहिर वाताबरणमा भएको वायुको चाप भित्रको भन्दा बढी हुने भएकोले बिरामीले तानेको वायु च्याम्बर भित्र गएपछि छाती फुल्न तथा फोक्सो भित्र अक्सिजनयुक्त वायु तान्न मद्दत पुग्थ्यो। यसरी छाती भित्र र च्याम्बर भित्र भरेको हावाले पोजेटिव हाइ प्रेसर सिर्जना गरेपश्चात् फोक्सो डिफ्लेट/सुक्थ्यो। जसले गर्दा शरीरका फोहर वायु र कार्बनडाइअक्साइड बाहिर फ्यालिन्छ। सास तान्दा र फाल्दाले एक किसिमको आवाज निस्किन्थ्यो । जसले बिरामीले सास फेरेको व्यक्त गर्थ्यो। यसरि बिरामीहरु केही हप्ता या महिना बस्ने गर्थे तर कुनै-कुनै केसमा भने आजीवन बस्ने अवस्था सम्म आइपर्थ्यो।
पाउल एलेक्जेन्डर, एक महानायक
एकदिन छ वर्षको बालक खेल्दाखेल्दै गाह्रो महशुस गर्योग। ती थिए पाउल एलेक्जेन्डर । सन् १९५२ मा घांटीमुनि प्यारालाइसिस पश्चात ट्रकिओस्टोमी गरियो। तर पोलियोले ग्रसित शरीरमा केही काम नलागे पश्चात आइरन लङ्समा राख्ने निधो गरियो। उनी त्यसपछि ७२ वर्ष बाँचे । उनको भर्खरै सन् २०२४, मार्च ११ का दिन ७८ वर्ष को उमेरमा निधन भयो। उनी पोलियो सर्भाइभर र अन्तिम आइरनको फोक्सो प्रयोग गर्ने व्यक्ति हुन्। विश्व स्वास्थ्य संगठन अनुसार प्रत्येक २०० मा एक जना पोलियो पिडितमा पूर्ण शरीरको पक्षघात हुने गर्छ। पाउलले आजीवन आइरन लङ्समै समय बिताउँदा उनले ग्लोसोफरेन्जियल ब्रिथिङ अर्थात् फ्रोग ब्रेअथिङ अभ्यास गर्ने गर्थे। जसमा भ्यागुत ले झैँ घाँटी फुलाएर मुख, जिब्रो र घाँटीले सास फेर्ने अभ्यास गर्ने गर्थे। फ्रोग ब्रिथिङले केही घण्टाको लागि पाउललाई आइरनको च्याम्बर बाहिर निस्किन मद्दत गर्ने गर्थ्यो। २१ वर्षको उमेरमा उनले ग्र्याजुएसन गरे, वकिल बने, ३० वर्षसम्म वकालत गरे। आफ्नो अनुभव समेटेको किताब लेखे र टिकटक स्टार बने। उनि मायामा परे। शारीरिक अस्वस्थताले गर्दा उनको प्रेम जीवन सफल हुन सकेन तर पनि उनले आफ्नो जीवन पूर्ण रुपले रमाए। 'अरुको नजरमा पोलियोले मेरो जीवन ग्रसित बनायो तर मेरो नजरमा मैले आफ्नो आत्मविश्वास, लगन र मेहनतले पोलियोको प्रकोपबाट ग्रसित भएर पनि जितें,' उनले भनेका थिए।