मानव सेवा आश्रमको मेची महाकाली राष्ट्रिय उद्वार कार्यक्रममा रहेको छु। मानव सेवा आश्रम सुर्खेत शाखाको युवा परिवारको संयोजकको रुपमा समेत काम गरिरहेको छु। त्यस्तै सडक पेटीमा नै बेवारिसे छोडिएका ५ जना छोरीहरुलाई समेत आश्रम ल्याएर हामीले उनीहरुको गास, बास,कपास लगायतका व्यवस्था समेत गरिरहेका छौं। नाना, छाना ,खाना तथा परिवार नभएका १०० जना आमाबुबाहरुलाई आश्रय दिएर हामीले उनीहरुलाई गास, बास, कपास लगायत स्वास्थ्य उपचारको काम गरिरहेका छौं।
जाजरकोटमा ठूलै क्षति पुगेको समाचार जब पाएँ
दिनभरजसो उक्त मानव सेवाकै अभियानमा रहेको म साँझको खानापछि सुत्न गएको थिए। रातको ११ बजेर ४७ मिनेट जाँदा पहिलोपटक भुकम्पको धक्का महसुस भएको थियो। भूकम्पको धक्का महसुस हुनासाथ उक्त भुकम्पको कारण ठूलो क्षति भएको अनुमान मैले गर्न सकिन। यद्यपि भूकम्पको १५,२० मिनेट पश्चात् त्यसले जाजरकोटमा ठूलै क्षति पुर्याएको समाचार सञ्चार माध्यमबाट मैले पाएँ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि नलगाड नगरपालिकाको उपप्रमुख लगायतका धेरैले ज्यान गुमाएको समाचार सञ्चार माध्यमबाट पाउनासाथ राती सवा १२ बजे म साथीसहित भूकम्पको केन्द्रबिन्दु जाजरकोटतर्फ प्रस्थान गरें। बाटो जाँदै गर्दाे धेरै पटक पराकम्पनको महसुस भएको थियो। तर पनि जोखिम मोलेरै हामी घना जंगलको बाटो जाजरकोटतर्फ प्रस्थान गरेका थियौं।
बिरामीको वर्गीकरण गरि उपचार थालियो
पटक पटकको पराकम्पन, बाटो ब्लक लगायतका यथावत् चुनौतीहरुको सामना गर्दै हामी बिहान ४ बजे जाजरकोट जिल्ला अस्पताल पुगेका थियौं। अस्पताल पुग्दा त्यहाँको अवस्था लथालिंग थियो। हामी अस्पताल पुगिसक्दा औषधि अभावको अवस्था सृजना भइसकेको थियो। त्यतिबेला नै हामीले एक बैठक राखी बिरामीको वर्गीकरण गरि उपचार प्रक्रिया थालनी गरियो। जसमा इर्मेजेन्सीलाई रेड जोनमा राखेर हामीले स्वास्थ्य उपचार सेवा प्रदान गर्न सुरु गरेका थियौं। मृत्तकहरु समेत रेड जोनमा रहेका थिए।मृत्तक परिवारका सदस्यहरु रोइरहेका थिए।
करिब ४०,४५ केशहरुलाई हामीले प्रदेश अस्पतालमा रेफर गरी हामी उपचारमा केन्द्रित रह्यौं। केही केशहरुलाई भेरी अञ्चल अस्पताल समेत रेफर गरियो। औषधिको अभावलाई टार्न स्वास्थ्य सेवा निर्देशनालयलाई खबर गर्ने काम मैलें नै गरें। सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखा प्रमुखलाई समेत औषधि अभावको समस्याबारे जानकारी गराए। त्यस्तै आपूर्ति विभागको प्रमुखलाई स्वास्थ्य सामग्रीहरुको आपूर्ति गराइदिन मैले अनुरोध गरें। मेरो अनुरोध पश्चात् करिब ८ बजे हेलिकप्टर मार्फत् औषधिको व्यवस्थापन भयो। यो सँगै प्रधानमन्त्री सहित स्वास्थ्यकर्मीको टोली समेत जाजरकोट अस्पताल आइपुगेको थियो।
भुकम्प प्रभावित क्षेत्रमा घुम्ती स्वास्थ्य शिविर
हामीले करिब ४,५ दिनसम्म भुकम्प प्रभावित क्षेत्रमा घुम्ती स्वास्थ्य शिविर गरायौं। आर्मीको टोली तथा प्रदेश अस्पतालका स्वास्थ्यकर्मीहरुको समेत सहयोगमा हामीले शिविर चलाएका थियौं। भूकम्पको केन्द्रबिन्दु बारकोटे,नलगाड,रुकुम पश्चिमको आठबिसकोट लगायतका स्थानहरुमा हामीले घुम्ती शिविर सञ्चालन गरेका थियौं। स्वास्थ्य सेवा मात्रै नभई भूकम्प पछिको पुनस्थापनका क्रममा त्यस क्षेत्रमा गाँस ,बाँस कपासको समेत व्यवस्थापन गर्नुपर्ने थियो। यसका लागि विभिन्न चरणमा गरेर करिब ३० लाख बराबरको खाद्य सामग्री तथा कपडाहरु समेत हामीले हस्तान्तरण गरेका थियौं।
पहिलो चरणमा उद्वारमा नै सीमित रहेका हामी आगामी दिनमा लागि पुनस्थापनाको दीर्घकालीन योजना बनाइरहेका छौं। गर्मी मौसमको सुरुवात तथा अव्यवस्थित बसोबासका कारण भूकम्प प्रभावित क्षेत्रमा सरुवा रोग फैलिन सक्ने भय पनि रहेको छ। स्वास्थ्य क्षेत्रमा काम गरिरहेका केही संस्थाहरुसँग समन्वय गरि आगामी दिनमा समेत स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना हामीले बनाइरहेका छौं। त्यसका लागि प्रदेश आपूर्ति,स्वास्थ्य सेवा निर्देशनालय तथा सामाजिक विकास मन्त्रालयसँगकोे समन्वयमा चाँडै नै स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाइएको छ।
भयावह अवस्थामा जब जाजरकोट अस्पताल पुगें
पहिलो पटक जाजरकोट अस्पताल पुग्दा त्यहाँको अवस्था अत्यन्तै भयावह थियो। त्यहाँ पुग्दा इन्जिनियरको बनिसकेका दुई छोरीहरुको मृत्युमा तड्पिएको तथा अचेत अवस्थामा मैलें एक आमालाई भेटेँ। त्यो भेट सम्झिदा अहिलेसम्म पनि मलाई पीडा महसुस हुन्छ। जाजरकोट जिल्ला अस्पतालमा शल्यक्रिया सहितको सेवा उपलब्ध हुन नसकेका कारण त्यस्ता केशहरुलाई छिटो भन्दा छिटो उद्वार गरी रेफर गर्ने काम हामीले पहिलो चरणमा गरेका थियौं।
पहुँचको आधारमा राहत वितरण हुँदाको तीतो सत्य
दोस्रो चरणमा भने त्यहाँको उपचार सेवालाई प्रभावकारी बनाउनका लागि अन्य टिमहरुको समेत सहयोगमा काम गरिएको थियो। राहतको कुरा गर्नुपर्दाे भने पहुँचका आधारमा राहत वितरण भएको तीतो सत्यको समेत महसुस भयो। भूकम्प पश्चात् अव्यवस्थित बसोबासका कारण त्यहाँ विभिन्न प्रकारका सरुवा रोगको महामारी आउन सक्ने देखिन्छ। भुकम्पमा वर्षाैको मेहनतले बनाइएको भौतिक संरचना तथा आफन्तको मृत्युका कारण कतिपय मानिसहरु मानसिक रुपमा बिचल्नमा परेको पाइएको छ। यसका लागि सीएमसी नेपाल जस्ता काउन्सिलर समेत पठाइसकेको अवस्था छ। भूकम्प प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्यको क्षेत्रमा अझै चेतनामुलक काम गर्नु आवश्यक छ।
(प्रदेश अस्पताल सुर्खेतमा बीमा शाखामा कार्यरत हेल्थ असिस्टेन्ट महेन्द्र कुमार थापासँग लक्ष्मी चौलागाईंले गरेको कुराकानीमा आधारित।)