दैनिक करोडौं मानिसले संसार घुमफिर गरिरहेका हुन्छन्। कतिपय आफ्नै देश घुम्छन् भने कतिले आफ्नो देश छोडेर विदेश भ्रमण गर्ने गर्छन्। यसरी घुमफिरका लागि गरिने भ्रमणलाई ‘टुरिजम’ भन्ने गरिन्छ। योसँग सम्बन्धित कुनै पनि व्यवसाय टुरिजम व्यवसायभित्र पर्छ, जसको आर्थिक कारोबारको आयत संसारमा दिनानुदिन बढेको आँकडाले देखाउँछ।
कुनै पनि देशमा यसरी भ्रमणका लागि बाहिरी मुलुकबाट कति पर्यटक आए भनेर हेर्ने एक मात्र सूचक देशभित्र आएका विदेशीहरुले लिने टुरिस्ट भिसालाई हो। टुरिस्ट भिसामा आएकालाई आधिकारिक रुपमा टुरिस्ट भनिन्छ र कुनै पनि व्यक्तिले अर्को मुलुक घुमफिरको लागि भ्रमण गर्ने क्षेत्रलाई नियालेर हेर्दा नेपालको हकमा निम्न प्रकारका पर्यटकहरु पाउन सकिन्छ।
(१) नेपालको प्राकृतिक सौन्दर्य, कला, संस्कृति हेर्न आउनेहरु।
(२) नेपालमा रहेका स–साना तथा उच्च हिमाल आरोहण गर्न आउनेहरु।
(३) गाउँ तथा हिमाली क्षेत्रहरुको ट्रेकिङ गर्न आउनेहरु।
(४) नेपालमा भएको जैविक विविधता हेर्न र अध्ययन गर्न आउनेहरु।
(५) विभिन्न धार्मिक आस्थाका साथ नेपालमा रहेका मठ, मन्दिर, गुम्बाहरु अवलोकन गर्ने साथै पूजा अर्चनाका लागि आउनेहरु।
(६) ध्यान, योग, आयुर्वेद आदि सेवा लिने र सिक्नेहरु।
(७) घुमफिरका साथै नेपालमा चिकित्सा तथा दन्त सेवा लिन आउनेहरु।
यस लेखमा टुरिजम क्षेत्रभित्र पर्ने सानो तर नेपालको हकमा धेरै नै सम्भावना बोकेको ‘डेन्टल टुरिजम’ बारे संक्षिप्त चर्चा गर्न चाहन्छु। नेपालमा डेन्टल टुरिजमलाई दुई भागमा बाँडेर बुझ्ने कोशिस गर्नु उपयुक्त हुन्छ।
(क) नेपाल घुम्ने सिलसिलामा आउँदा दन्त सेवा पनि लिन चाहने पर्यटकहरु।
(ख) नेपालमा आधुनिक दन्त चिकित्सा विषयको ज्ञान र सिप लिने साथै उक्त अवसरमा छोटै अवधिको लागि भए पनि नेपालको पर्यटकीय क्षेत्रहरु भ्रमण गरी नयाँ अनुभव बटुल्नेहरु।
अब पहिलो प्रकारको चर्चा गरौं। वास्तवमा विदेशी मूलका पर्यटकहरु जो दन्त उपचार लिन नेपाल भ्रमण गर्ने गर्छन्, उनीहरुको संख्या अति न्यून छ। वास्तविक आँकडा हाल नभए पनि यति पक्का भन्न सकिन्छ, यो खालको व्यवसायबाट बढीमा १–२ करोडको भन्दा ठूलो व्यवसाय नेपालमा छैन। साथैे, अन्य कारणले नेपाल आएका पर्यटकहरु तर नेपाल रहँदा दाँत दुखेर वा समस्या आएर नेपाल मै दन्त सेवा लिनेलाई म डेन्टल टुरिजमभित्र राख्न उपयुक्त ठान्दिनँ, किनभने त्यो भनेको आकस्मिक सेवा हो।
अब अर्को पक्षबाट ‘डेन्टल उपचार टुरिजम’ लाई हेरौं, जुन सारै आशालाग्दो छ। त्यो के भने हाल ५०–६० लाख नेपाली विदेशमा छन्। त्यसमध्ये नेपालको नागरिकता नै त्यागेर एनआरएन हुनेहरुको संख्या पनि निकै ठूलो छ। यो जमातलाई दन्त उपचारको महत्व, त्यसमा लाग्ने खर्चबारे राम्रो ज्ञान छ। त्यसैले यो समूह आफूलाई वा परिवारको कसैलाई दाँत दुख्दा वा दाँतसम्बन्धी उपचार गराउँदा झलझल नेपाल सम्झने गर्छ र मिलेसम्म दाँत उपचारको लागि नेपाल भ्रमण गरेको पाइन्छ।
वास्तवमा भन्नुपर्दा नेपालको हालको दन्त सेवा व्यवसायलाई यत्तिको चलायमान बनाउनुमा हाम्रा एनआरएनहरुको ठूलो भूमिका छ र उनीहरुलाई हामीले हार्दिक धन्यवाद दिनुपर्छ। मेरो आफ्नै क्लिनिक र अस्पतालको आँकडा हेर्दा के पाउँछु भने हाम्रो व्यवसायको ५५ प्रतिशत एनआरएनहरुको उपचार र सेवाले धानिएको छ। नेपालको ‘डेन्टल उपचार टुरिजम’ भनेकै एनआरएनहरु हुन्। अब उनीहरुको माध्यमबाट कसरी नेपालमा विदेशी मूलका वास्तविक विदेशीलाई दन्त उपचारको लागि नेपाल ल्याउने भन्नेबारे हामीले पहल गर्नुपर्छ र जसका लागि हाम्रा एनआरएनहरुले ठूलो भूमिका निभाउन सक्छन्।
दन्त चिकित्सा क्षेत्रमा कस्मेटिक डेन्टिस्ट्री र डेन्टल इम्प्लान्ट सेवाका लागि नै पर्यटकहरु सस्तो तर गुणस्तर भएको देश खोज्दै भ्रमण गर्ने गर्छन्। धेरै अमेरिकीहरु मेक्सिको जान्छन् भने युरोपियनहरु हंगेरीमा दन्त उपचारका लागि जाने गरेको पाइन्छ। त्यस्तै धेरै जापनिज तथा एसियन मूलका पर्यटक थाइल्यान्डमा दन्त उपचारको कस्मेटिक र इमप्लान्टको लागि भ्रमण गर्ने गरेको अन्तर्राष्ट्रिय आँकडाले देखाउँछ।
दक्षिण एसियामा भारतमा ठूलो संख्यामा विदेशी पर्यटक दन्त उपचारको लागि आउने क्रम बढेको छ। भारत आउने विदेशीलाई नेपाल तान्न त्यति गा¥हो भने छैन किनकी पर्यटकीय हिसाबले नेपाल भारतभन्दा सयौं गुणा रमणीय छ। यसका लागि हामीसँग हाम्रो आफ्नै उपचार सेवाको ब्राड हुनुपर्छ। जस्तैः आयुर्वेद उपचारका लागि भारत प्रख्यात छ।
हामीले २००९ देखि नेपालबाट वैदिक अवधारणालाई आधार बनाई Minimmaly Invasive Cosmetic Dentistry (MICD) उपचार पद्धतिको सुरुवात गरेका थियौं। हाल यो अवधारणा र यसको उपचार पद्धति एशियालगायत संसारका अन्य मुलुकमा पुगिसकेको छ। एमआइसिडी दन्त उपचार पद्धति भन्नासाथ सबै दन्त चिकित्सकले नेपाल त्यसको उद्गमस्थल हो र नेपाली दन्त चिकित्सक त्यसको जन्मदाता हो भनि बुझ्छन्। यो पद्धतिलाई हामीले हाम्रो सानो संस्थाबाट संसारभर फैलाउन सक्यौं र यस्ता स–साना अरु प्रयासलाई पनि समेटी त्यसमा सरकारी सहयोग भएमा नेपाललाई दन्त चिकित्सा सेवाको हब नै बनाउन सकिन्छ भन्ने हामीलाई लाग्छ।
दन्त उपचारको कुरा गर्दा शुल्क सस्तो भएर मात्र हुँदैन, गुणस्तर अन्तर्राष्ट्रिय मापदन्डको चाहिन्छ र यो प्रदान गर्ने नेपाली आधिकारिक निकाय हालसम्म छैन। जसको लागि नेपाल सरकारले छिटो पहल गर्नुपर्छ। जसरी तिलगंगा आँखा अस्पतालले संसारको आँखा नेपालतर्फ तानेको छ। हामी कस्मेटिक डेन्टिस्ट्रीमा एमआइसिडी उपचार पद्धतिबाट विदेशीहरुलाई दन्त उपचारको लागि नेपाल गुणस्तरीय र सस्तो सेवाको लागि आकर्षण गर्न सक्छौं।
अब ‘डेन्टल टुरिजम’ कै अर्को पक्षको चर्चा गरौं। त्यो हो, आधुनिक दन्त उपचार सेवाको ज्ञान र सिप सिक्न चाहने विदेशीलाई नेपाल ल्याउने, सिकाउने साथै नेपालको रमणीय पर्यटकीय स्थल घुमाई नेपालको बारेमा चर्चा गर्न लगाउने।
हो, यो कार्यलाई हामीले सन् २०१२ देखि आफ्नै बलबुताबाट सानो व्यवसायको रुपमा सुरु गर्यौं। यसलाई हामीले ‘डेन्टल नलेज टुरिजम’ भन्यौं। कार्यक्रम सुरु भयो, प्रथम कार्यक्रममा १२ देशका ३५ जनालाई नेपाल ल्याएर दन्त उपचारको अत्याधुनिक अवधारणा र उपचार पद्धति सिकायौं। ३ दिने सिपमूलक तालिम पछि उनीहरुको समूहलाई मैले पोखरा लगें, छोटो ‘धम्पुस’ सम्मको ट्रेकिङ गराएँ। कार्यक्रमको नतिजा यस्तो आयो कि, त्यसले मलाई र मेरो समूहलाई अरु धेरै डेन्टल नलेज कार्यक्रम गर्न प्रेरणा दियो।
फेरि सन् २०१३ मा हामीले कार्यक्रम बनायौं, कार्यक्रम घोषणा गरेको हप्ता दिनमै पूरै सिट भरियो। तर बिडम्वना नेपालको त्यस बखतको बन्द, हडताल र राजनीतिक अस्थिरताले गर्दा हामीले ठूलो दुःख पायौं। विदेशबाट आएका ती विदेशी दन्त चिकित्सकलाई एयरपोर्टबाट होटल र्याडिसन ल्याउनै पुलिसको गाडीको सहयोग लिनु प¥यो। जेनतेन तीन दिनको कार्यक्रम गरियो। हिँडेर ठमेल, दरबार स्क्वायर घुमे तर पोखरा जान सकेनन्।
त्यसपछि हामीले नेपालमा कार्यक्रम गर्न छोडेर थाइल्यान्डतिर सार्यौं। साथै त्यहाँका दन्त विश्वविद्यालयहरुले हामीसँग सहकार्य गर्न थाले र त्यही ‘डेन्टल नलेज टुरिजम’ को अवधारणामा केही कार्यक्रमहरु भए र हुँदैछन्। तर अब देशको राजनीतिक स्थिति फेरिएर स्थिरता आएको परिप्रेक्ष्यमा र हाल नेपाल सरकार स्वयंले २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा हामी जस्तो व्यावसायिक व्यक्तिले सकेसम्मको सहयोग यो राष्ट्रिय अभियानमा गर्नुपर्छ भन्ने हाम्रो सोचाइ छ। फेरि हामीले डेन्टल नलेज टुरिजमलाई अगाडि ल्याई धेरैभन्दा धेरै नेपाली दन्त चिकित्सकको सहयोग लिएर पुनः नेपालमै ‘डेन्टल नलेज टुरिजम’ सुरु गर्नको लागि छुट्टै संस्था स्थापना गरिसकेका छौं।
हामीले जस्तै नेपालका ख्यातिप्राप्त अन्य चिकित्सक, व्यवसायी साथै संस्थाहरुले पनि ‘डेन्टल नलेज टुरिजम’ को अवधारणालाई लिन सक्नुहुने छ र नेपाललाई हामी ज्ञान र सिप लिएर घुम्न पनि पाइने राम्रो ‘नलेज टुरिजम’ को डेस्टिनेसनको रुपमा परिणत गर्न सक्छौं। माथि भनिए झैं यसको लागि सरकारी निकायले मन ठूलो पारी निजी क्षेत्रलाई सहयोग गर्न आवश्यक छ।
अन्तमा, सरकारले घोषणा गरेको भ्रमण वर्षलाई केवल २०२० का लागि मात्र होइन, एक दशकसम्म नै निरन्तरता दिएर नेपाललाई संसारकै उत्कृष्ट भ्रमण गन्तव्य बनाऔं।
यो पनि