अहिले विश्वमा व्यापक फैलिरहेको महामारी, कोभिड-१९ का कारण पुरै मानव जाती त्रसित छ। यो कठिन समयमा पनि मेडिकल र प्यारामेडिक स्टाफहरूले आफूलाई जोखिममा राखेर निष्ठापूर्वक काम गरिरहेका छन्।
काठमाडौँ क्यान्सर सेन्टरमा पनि मेडिकल डाक्टरहरू, नर्सिङ स्टाफ, हाउसकिपिङ स्टाफ र रेडिएसन टेक्नोलोजिस्टहरू निरन्तर काममै छन्। क्यान्सर जस्तो गम्भीर रोगको उपचारमा बाधा आयो भने उपचार राम्रो नहुने र रोग बल्झिने सम्भावना रहन्छ, त्यसैले हामी सुरक्षाको सम्पूर्ण सावधानीहरू अपनाउँदै क्यान्सर बिरामीहरूको पहिला जस्तै उपचारमा जुटिरहेका छौँ।
हामीले व्यक्तिगत सुरक्षाको लुगा (पिपिई) लगाएरै रेडियोथेरापी गरिरहेका छौँ। हरेक बिरामीको तापक्रम नापेर, सबै लक्षणहरू सोधेर मात्र उपचारका लागी उपचार कक्षमा लिएर जाने गरेका छौँ। हामी सबै मिलेर उपचार अघि र उपचार सकिएपछि अस्पतालमा प्रयोग भएका सामानहरू, टेबल र कुर्सीहरू साथै सम्पूर्ण सङ्क्रमण सार्न सक्ने वस्तुहरू सानिटाइज गरिरहेका छौँ।
कति कुराहरू गर्दै सिक्दै गइँदो रहेछ । हामीले पढिरहेका छौँ र अन्तर्राष्ट्रिय संस्थाहरूले सुझाएको जसरी ढोकाका ह्यान्डलहरू, बिरामीका र सबै स्टाफका लुगाहरूलाई साबुन पानीले र स्पिरिटले सफा गरिरहेका छौँ । त्यसका साथै सबै बिरामी र स्टाफहरूले मास्क लगाउने, एक-अर्का बिच कम्तीमा १ मिटर दुरी राखेर बस्ने गरेका छौं।
यो बेलामा हामी सबैलाई नआत्तिन तर सचेत रहन आग्रह गर्दछौँ । तपाईँ जहाँ हुनुहुन्छ त्यही बस्नुहोस्। घर जति सुरक्षित ठाउँ अहिले कतै छैन। भेन्टिलेटर भन्दा मास्क सजिलो, आइसियु भन्दा आफै कोठा आरामदायी र उपचार भन्दा रोकथाम नै राम्रो हो।
अति आवश्यक काम परे मास्क लगाएर मात्र घरबाट बाहिर निस्किनुस् । तपाईँ सतर्क भए परिवार सुरक्षित रहन्छ। परिवार स्वस्थ रहे समाज स्वस्थ रहन्छ र समाज स्वस्थ रहे देश स्वस्थ रहन्छ।
- (झा ताथली भक्तपुरस्थित काठमाडौँ क्यान्सर सेन्टरमा कार्यरत छन्)