हालसम्म हामीले ४ लाख २९ हजार ७०५ जनालाई कोरोना भाइरस विरुद्धको खोप दिइसकेका छौं। लक्षित समुहको ८५ प्रतिशतलाई खोप दिएका छौं भने नेपालको जनसंख्याको १ दशमलब ४ प्रतिशतलाई पहिलो मात्राको खोप दिइसकेका छौं। पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा खोप कभरेजको तथ्यांकबारे जानकारी गराउछु।
पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा कार्यरत सहयोगी कर्मचारीहरुमा १ लाख ३७ हजार ८८६ जनाले खोप प्राप्त गर्नुभएको छ।
यस्तै खोप लगाउनेमा महिला स्वायंसेविकाहरु ३२ हजार ९३८, सार्वजनिक फोर संकलक सरसफाई कर्मी ६ हजार ५५५, एम्बुलेन्स तथा शव वाहान चालकहरु १ हजार ७६५, कोभिड–१९ रोगबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी ४ हजार ८६० जना रहेका छन्।
यस्तै वृद्धाआश्रममा आस्रित नागरिक र हेरालु कर्मचारीहरु ३ हजार ३३८, जेलमा रहेका कैदीबन्दी र सुरक्षाकर्मी २१ हजार ६०, अन्तराष्ट्रिय सिमामा खटिने कर्मचारीहरु १ हजार ३९४, युएन र कुटनैतिक नियोगका कर्मचारीहरु १ हजार १४० र पत्रकारहरु ६ हजार ७८९ जनाले खोप प्राप्त गरेका छन्।
यस्तै स्थानीय तहमा निर्वाचित जनप्रतिधि र कर्मचारीहरु ३३ हजार ६९५, जिल्ला तथा पालिका स्तरका सरकारी कर्मचारी ४८ हजार २६६, जनपद प्रहरी ३२ हजार २२३, सशस्त्र प्रहरी २२ हजार १४९, बैकीङ कारोबार गर्ने कर्मचारी ४९ हजार ७६९, प्राधिकरणका कर्मचारी १८ हजार ८६९, जिल्ला अदालत तथा जिल्ला सरकारी वकिल कार्यालयका ३ हजार ७५१ जना, नेपाली सेनाका १ हजार ५१७ र अन्य १ हजार ६४१ जनाले खोप प्राप्त गरिसकेका छन्।
दोस्रो चरणको खोप अभियान कहिले र कसरी हुन्छ?
यही फागुन २३ गतेदेखि दोस्रो चरणको खोप अभियान सुरु हुँदैछ। यो अभियानमा दोस्रो प्राथमिकतामा परेका ५५ वर्ष उमेर माथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप समुदायस्तरमै गएर दिनेछौं। साथै उक्त अभियानमा विश्व विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारीहरु, सार्वजनिक यातायातका चालक तथा सहचालकहरुलाई पनि खोप दिइने छ।
यस अभियान संचालन गर्न, निर्देशिका बमोजिम नै प्रदेश, जिल्ला र स्थानीय तहका समन्वय र अनुगमन समितिहरुको निर्णय अनुसार अवाञ्छित घटना व्यवस्थापन गर्ने टिमको व्यवस्थापन गरी स्वास्थ्य संस्था र अन्य खोप केन्द्र तथा घुम्ती खोप केन्द्रबाट खोप सेवा संचालन गरिने छ।
यस अभियानमा आवश्यक पर्ने खोप तथा खोपजन्य सामाग्रीहरुको आवश्यक परिमाणको सुनिश्चित गरि प्रदेश, जिल्ला तथा खोप केन्द्र सम्म पुर्याउने व्यवस्था मिलाइएको छ।
खोप लगाइसकेका सबै व्यक्तिलाई खोप कार्डको व्यवस्था गरिएको छ। यस अभियानमा पहिलो मात्रा खोप पाएका व्यक्तिलाई दोस्रो खोपको मात्रबा कम्तिमा ८ हप्ताको फरकमा दिईने छ। सो को जानकारी मिति तोकी सार्वजनिक सूचना जारी गरिने छ।
हालसम्म यो खोप लगाएका कुनै पनि व्यक्तिलाई जटिल खालको अनपेक्षित असरहरु देखिएका छैनन्। यो खोप १८ वर्षभन्दा कम उमेरका व्यक्तिहरु, गर्भवतीहरु र यही खोपको पहिलो मात्रा लगाउदा गम्भिर एलर्जी भएका व्यक्तिहरुलाई यो खोप दिइने छैन।
सिकिस्त बिरामी र उच्च ज्वरो भएका व्यक्तिहरुलाई पनि यो खोप दिइने छैन।
हाल लगाइएको कोभिसिल्ड खोप गुणस्तर, सुरक्षित र प्रभावकारीताका आधारमा विश्व स्वास्थ्य संगठनले आकस्मिक प्रयोगका लागि सुचिकृत गरेको छ। यो सुक्षित खोप हो। सबैले ढुक्कसँग लगाउन हुन अनुरोध गर्दछु।
(स्वास्थ्य मन्त्रालयको बुधबारको कोरोना ब्रिफिङका क्रममा डा गौतमले दिएको जानकारीको सम्पादित अंश)