जुम्ला- जुम्लाका अधिकांस कोरोना संक्रमित होम आइसोलेसनमा बसेका छन्। जिल्लामा कोरोना संक्रमतिको संख्या २ सय ११ जना रहेकोमा अधिकांस संक्रमित होम आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ। हाल १ सय ५६ जना संक्रमित होम आइसोलेसनमा छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३ सय ९ जनामा पिसिआर परीक्षण गर्दा १ सय ११ जनामा संक्रमण देखिएको थियो। यहाँका ८ वटै स्थानीय तहमा ८ सय ११ जनाको एन्टीजेन परीक्षण गर्दा ८८ जना व्यक्ति संक्रमित भएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए। उनले भने,‘अधिकांस संक्रमित होम आइसोलेसनमा रहेका छन। उनीहरु सँग कुनै लक्षण देखिएको छैन। अस्पतालमा भर्ना हुन पर्ने अवस्था छैन। ’
संक्रमितमध्ये २६ जना कोभिड बिरामीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार भइरहेको निमित्त अस्पताल निर्देशक डा राजीव शाहले बताए। उनका अनुसार १७ जना निको भइसकेका छन्। डा. शाह भन्छन,‘लक्षण देखा परेका र जटिल प्रकारका संक्रमितको नियमित चिकित्सकको निगरानीमा उपचार भइराखेको छ।’
चन्दननाथ नगरपालिकामा ५२ जना, पातारासीमा ३१ जना, गुठीचौरमा २४ जना, तातोपानीमा ४ जना, तिलामा १० जना, हिमा २ जना सिँजामा ७ र कनकासुन्दरी गाउँपालिकामा २९ जना र अन्य ३० जना संक्रमित भएका हुन्।
यहाँका स्थानीय तहमा पनि कोरोना संक्रमण देखिएपछि यहाँका तीन वटा स्थानीय तह सील गरिएको छ। जुम्लाको कनकासुन्दरी, गुठिचौर र तातोपानी गाउँपालिका सील गरिएको छ। गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारी नै संक्रमति भएपछि यहाँका तीन स्थानीय तह सील गरिएको स्थानीयतहहरुले जनाएका छन।
वैशाख ३० गतेदेखि जेठ ४ गतेसम्म कनकासुन्दरी गाउँपालिका सील गरिएको छ। २९ वैशाखदेखि गुठीचौर गाउँपालिका एक साता सील गरियो। त्यसैगरी २८ वैशाखदेखि तातोपानी गाउँपालिका एक साताका लागि सील गरिएको स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईले बताए।
कनकासुन्दरी गाउँपालिकामा २९ जना कोरोना संक्रमित छन्। संक्रमित मध्ये १५ जनालाई हाँडसिंजा स्वास्थ्य चौकीको आइसोलनमा राखिएको स्वास्थ्य चौकी इन्चार्ज वीरेन्द्र उपाध्यायले बताए। उनले भने ‘यहाँ पाँच बेडको अस्थायी कोभिड अस्पताल पनि छ। तर अक्सिजन नभएका कारण समस्या भइरहेको छ। स्वास्थ्य सुरक्षा सामग्री पीपीइको अभाव छ। दैनिक ४/५ वटा प्रयोग हुन्छन्।’
स्वास्थ्य चौकी इन्चार्ज उपाध्यायले आइसोलेसनमा १५ जना कोभिड बिरामी भर्ना भएको बताए। उनीहरु मध्ये २/३ जनाको स्वास्थ्य अवस्था असहज छ। बिरामीको उपाचारदेखि खानपिनमा पनि २४ सै घण्टा खटिनु पर्ने अवस्था भएकोले स्वास्थ्यकर्मी समेत जोखिममा रहेको उनले बताए।
अहिले जिल्ला स्वास्थ्य सेवा कार्यालय जुम्ला गाउँगाउँमा एन्टीजेन परीक्षणका लागि परिचालन भएको छ। स्थानीयतहमा रहेको स्वास्थ्य शाखाको माग अनुसार एन्टीजेन परीक्षण गर्न थालिएको प्रमुख सापकोटा बताउँछन्।
उनले भने,‘गाउँपालिकाबाट आउने विवरणका आधारमा टोली परिचालन गरेर कोरोना परीक्षण गर्ने गरिएको छ।’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पिसिआर र स्वास्थ्य सेवा कार्यालयबाट एन्टीजोन परिक्षण भइरहेको छ।’