ललितपुर- गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही चापागाउँ अस्पतालमा व्यवस्थित भवनको अभाव रहेको छ। अस्पतालमा आवश्यकता अनुसारका आधुनिक भवन नहुँदा विभिन्न सेवा तथा सुविधाको लागि अप्ठयारो परेको छ
“राम्रो भवन नभएकाले दिइनुपर्ने जति उपचार सेवा दिन सकिरहेका छैनौं”, अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट नवीन दर्नालले बताए। उनले भने, “हामीले व्यवस्थित भौतिक संरचना अभावका कारण कयौँ उपचार सेवा सुरुआतनै गर्न पाएनौं। भवन राम्रो भए प्रसूति तर्फ शल्यक्रियाको सेवा दिने थियौँ।” हालसम्म सो अस्पतालले शल्यक्रियारहित प्रसूति सेवा दिँदै आइरहेको दर्नालले जानकारी गराए।
“आधुनिक भवन बनाउन सरकारसँग दश करोड मागेकोमा दुई करोड पाउने आश्वासन पाएका छौंं। सो रकम भएपनि शल्यक्रिया सेवा दिन सक्थ्यौ”, उनले भने।
अस्पतालमा भिडियो एक्स–रे सेवा भए पनि समय अनुसारको अझै आधुनिक उपकरणको आवश्यकता महसुस गरिएको जनस्वास्थ्य निरीक्षक सुद्रर्शन बजगाईंले बताए। उनले भने,“अस्पतालमा थाइराइड परीक्षण गर्ने प्रविधिको समेत अभाव छ।”
उक्त अस्पताल कहिले स्थानीय त कहिले प्रदेश सरकार मातहत चल्ने भन्ने अन्यौलले उपचार सुविधा दिन कठिनाइ भईरहेको बजगाईंको बुझाइ छ। सो अस्पताल हाल वाग्मती प्रदेश सरकार मातहतको रहँदा अस्पताललाई चाँहिने जस्तो उपयुक्त भवन नरहेका कारण बाल तथा स्त्रीरोगसम्बन्धी सेवालाई प्रभावकारी बनाउन नसकेको प्रशासन शाखा प्रमुख हीराबहादुर कार्कीले बताए। रासस