काठमाडौं- चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)तर्फ स्तरोन्नति भएका शिक्षण संस्थाहरुको सिट निर्धारण गरेको छ।
चिकित्सा शिक्षा आयोगको २०७८ फागुन ५ गतेको निर्णयानुसार स्तरोन्नति भएका शिक्षण संस्थाहरुमध्ये आयोगबाट भएको अनुगमनमा तोकिएको मापदण्ड पुरा भएका शिक्षण संस्थाहरुमा यसै शैक्षिक सत्रबाट लागु हुने गरी सिट निर्धारण गरिएको हो।
आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका प्रमाणपत्र तहभन्दा मुनिका ६६ वटा संस्थालाई प्रमाणपत्र तह वा सोसरहको कार्यक्रममा स्तरोन्नति गर्न स्वीकृति दिएको थियो।
चिकित्सा शिक्षा ऐनमा प्रमाणपत्र तहभन्दा मुनिका सिएमए, अनमी, ल्याब असिस्टेन्ट, आयुर्वेद सहायक, आम्ची र अकुपञ्चर विषयको शैक्षिक कार्यक्रम फेजआउट गर्ने व्यवस्था छ। ऐनमा यी कार्यक्रम चलाउने शिक्षण संस्थाले दुई वर्षभित्र प्रमाणपत्र वा सो सरहको कार्यक्रम सञ्चालनका लागि स्तरोन्नति गर्ने सक्ने व्यवस्था थियो।
सीटीईभीटीले सोही व्यवस्था अनुसार १२२ वटा संस्थाको स्तरोन्नतिका लागि आयोगमा सिफारिस गरेको थियो। तर आयोगले केही संस्थाको अनुगमन र कलेजहरुको कागजपत्र लगायतका विषय अध्ययन गरेर ६६ वटा संस्थालाई मात्र प्रमाणपत्र वा सोसरहको कार्यक्रम सञ्चालनका लागि स्तरोन्नति गर्ने अनुमति दिएको हो।
कार्यकारी समितिको भदौ १० गतेको निर्णयबाट कार्यक्रमगत सिट निर्धारण गरिएको हो।
आयोगको अनुगमनबाट कक्षा सञ्चालन गर्न अनुपयुक्त देखिएका शिक्षण संस्थाहरुको हकमा अपुग देखिएका विवरणहरु प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट अनुगमन गराई पुरा भएको प्रमाणसहित आगामी शैक्षिक सत्रमा कक्षा सञ्चालनका लागि निवेदन दिन सक्ने बताइएको छ।
यी हुन् सिट निर्धारण भइ कक्षा संचालनको अनुमती पाएका शिक्षण संस्था: