अमेरिकी राज्यसचिव मार्को रुबियोले अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (युएसएआइडी)का केही कार्यक्रम खोल्ने संकेत गरेका छन्। उनले बुधबार भने, 'ट्रम्प प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (युएसएआइडी)का विदेशी मिसनहरूलाई सम्पर्क गरिरहेको छ, जसले 'स्टप-वर्क' आदेशबाट छुट हुने कार्यक्रमहरुको पहिचान र निर्धारण गर्नेछ।'
ट्रम्प प्रशासनले विश्वभरि युएसएआइडीद्वारा नियुक्त कर्मचारीहरूलाई छुट्टीमा पठाउने र विदेशमा कार्यरत हजारौं कर्मचारीहरूलाई फिर्ता बोलाउने घोषणा गरेको थियो। यो निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना धेरै अमेरिकी विदेशी सहायतामा व्यापक रोक लगाएपछि आएको हो।
ट्रम्प र उनका सहयोगीहरूले अमेरिकी सहायता, जसमा संसारभरि वितरण गरिने मानवीय सहायता पनि समावेश छ, उनको 'अमेरिका फर्स्ट' नीतिअनुसार सुनिश्चित गर्न चाहेका छन्। उनले अर्बपति एलन मस्कलाई युएसएआइडीलाई संकुचित गर्ने जिम्मेवारी दिएका छन्, जसले बिना प्रमाण युएसएआइडीलाई आपराधिक संस्था भनेर आरोप लगाएका थिए।
ट्रम्पको जनवरी २० को रोक आदेशपछि, उक्त निकायको अधिकांश सहायता कार्यक्रमहरू रोकिएका छन् र सयौं ठेकेदारहरूलाई जागिरबाट हटाइएको छ। तर सोमबारको घोषणामा केही 'विशेष रूपमा तोकिएका कार्यक्रमहरू'लाई अपवादको रूपमा समावेश गरिएको थियो।
रुबियोले ग्वाटेमाला सिटीमा आयोजित पत्रकार सम्मेलनमा भने, 'यो भाषा जानाजानी प्रयोग गरिएको हो, किनभने अब हामीले कार्यक्रमहरूलाई विशेष रूपमा निर्दिष्ट गरी उक्त आदेशबाट छुट दिनुपर्ने हो कि हैन भनेर पहिचान गर्न आवश्यक छ। छुट दिने मापदण्डले अमेरिकी राष्ट्रिय चासोलाई अगाडि बढाउँछ वा सोसँग मेल खान्छ कि छैन भन्नेमा निर्भर गर्नेछ। 'र जुन कार्यक्रमहरू मेल खाँदैनन्, तिनीहरू निरन्तर रहने छैनन्,' रुबियोले थपे।
उनले युएसएआइडीका कर्मचारीहरूले प्रशासनलाई कार्यक्रमहरूको बारेमा थप जानकारी पत्ता लगाउने प्रयासमा सहयोग नगरेको आरोप दोहोर्यााए। तर स्टेट डिपार्टमेन्टका कर्मचारीहरूले भने प्रशासनलाई आवश्यक जानकारी प्रदान गरिरहेको बताए।
'स्टेट डिपार्टमेन्टमा हामीले धेरै राम्रो जानकारी पाएका छौँ, र त्यसैले हरेक दिन, हामी स्टेट डिपार्टमेन्टका कार्यक्रमहरूमा छुट दिने आदेशहरू जारी गरिरहेका छौँ,' रुबियोले भने। उनले ती छुटहरू के-के हुन् भनेर स्पष्ट भनेनन्।
आपतलीन खाद्य सहायता भने विदेशी सहायता रोक लगाउने आदेशमा समावेश गरिएको थिएन। रुबियोले जनवरी २८ मा जीवनरक्षक सहयोगका लागि अतिरिक्त छुटको आदेश दिएका थिए र कुन-कुन सहायता योग्य हुन्छन् भन्ने मापदण्ड तोकेका थिए।
तर ट्रम्पको आदेशमा स्पष्टता नहुँदा र पछिल्ला छुटहरू अस्पष्ट हुँदा सहायता समूहहरू अन्योलमा परेका छन् कि उनीहरूको काम निरन्तर गर्न सकिन्छ वा सकिँदैन।
बुधबार, अमेरिकाले खाद्य सहायता कार्यक्रमका लागि छूट दिइएको बावजुद विदेशी खाद्य सहायता कार्यक्रमको लागि खरिद रोकेको रिपोर्ट गरिएको थियो।
अमेरिकी किसानहरूले उत्पादन गर्ने गहुँ, सोयाबिन र अन्य अन्नपातको खरिद रोकिँदा मडागास्कर, तान्जानिया, होन्डुरसजस्ता देशहरूमा गरिबी न्यूनीकरण गर्न लाखौँ टन खाद्य सहायता प्रदान गर्ने संस्थाहरूको सञ्चालनमा बाधा पुग्न सक्नेछ वा तिनीहरू पूर्ण रूपमा बन्द हुन सक्नेछन्, स्रोतहरूले भने।