काठमाडौं- माइक्रोसफ्टका सहसंस्थापक तथा अर्बपति बिल गेट्सले अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (युएसएआईडी)को निरन्तरताका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटका छन्। उनले युएसएआईडीद्वारा प्रदान गरिने विदेशी सहायता रोक्न नहुने भन्दै ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्प र कर्मचारी प्रमुख सुजी वाइल्ससँग छलफल गरे।
गेट्सले भने, 'युएसएआईडीले गरिरहेका कामहरू अत्यन्त मूल्यवान छन्। म स्वयं फिल्डमा गएर यसको प्रभाव देखेको छु। यो विश्वकै उत्कृष्ट विकास निकाय ह।'
गेट्सका अनुसार, ट्रम्पसँग उनको छोटो र कर्मचारी प्रमुख वाइल्ससँग लामो छलफल भयो। उनले वाइल्सलाई 'धेरै विवेकशील'को उपमा दिए।
ट्रम्प प्रशासनले युएसएआईडीको बजेट कटौती गर्दै अधिकांश कर्मचारीलाई प्रशासनिक छुट्टिमा राखेको छ। एलन मस्कको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सीले युएसएआईडीलाई अत्याधिक खर्च गर्ने संस्था भन्दै आलोचना गर्दै आएको छ।
युएसएआईडीको आधिकारिक वेबसाइट बन्द गरिएको छ र विदेशी सहायता अस्थायी रूपमा रोकिएको छ।
गेट्सले भने, ‘युएसएआईडीलाई प्रतिस्थापन गर्न निकै कठिन हुनेछ। बर्षौंदेखिका अनुभवी जनशक्ति नै यस निकायको ठूलो सम्पत्ति हुन्।'
गेट्सले मस्कसँग यो विषयमा छलफल नगरेको बताए। मस्कले युएसएआईडीलाई अपराधी संस्था भन्दै संघीय खर्च कटौतीको प्रयास गरिरहेका छन्।
गेट्सले भने, ‘मस्कले टेस्ला र एक्सका लागी गरेका नविनतम कामहरु प्रशंसनीय छ, तर सरकारी प्रशासन निजी क्षेत्रभन्दा फरक हुन्छ।'
उनले थपे, ‘निजी क्षेत्रमा पनि १००% कर्मचारी एकै रातमा हटाइँदैन।‘