अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युएसएडका एक हजार ६ सय कर्मचारीहरूको जागिर कटौती गर्ने निर्णय गरेको छ। ट्रम्प प्रशासनले आइतबार घोषणा गरे अनुसार युएसएडका नेतृत्व तहका कर्मचारी र अत्यावश्यक कर्मचारीहरू बाहेक सबै कर्मचारीहरूलाई तलबसहितको प्रशासनिक बिदामा पठाइनेछ।
अरबपति एलन मस्कको ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सीले’ अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (युएसएड)लाई कमजोर बनाउने प्रयास गरिरहेको छ। युएसएड, अमेरिकी सरकारको एक महत्त्वपूर्ण निकाय हो जसले विदेशी सहायता कार्यक्रमहरूको व्यवस्थापन गर्छ र यसले विदेशमा अमेरिकी प्रभाव फैलाउन महत्त्वपूर्ण भूमिका खेल्दछ।
‘म तपाईंलाई दु:खका साथ जानकारी गराउन चाहन्छु कि तपाईं कर्मचारी कटौती प्रक्रियाबाट प्रभावित हुनुभएको छ,’ युएसएडका एक कर्मचारीलाई एक इमेलमा लेखिएको थियो। उक्त सूचना प्राप्त गर्ने कर्मचारीहरूलाई अप्रिल २४ देखि संघीय सेवाबाट हटाइनेछ, इमेलमा उल्लेख गरिएको थियो।
युएसएडले आफ्नो वेबसाइटमा उल्लेख गरेअनुसार आइतबार राति अमेरिकी समय अनुसार सबै कर्मचारीहरूलाई बिदामा पठाइनेछ। साथै अमेरिका भित्रका एक हजार ६ सय युएसएड पदहरूलाई हटाइनेछन्। यसअघि पठाइएको सूचनामा दुई हजार अमेरिकी कर्मचारीहरूलाई हटाइने उल्लेख गरिएको थियो। ह्वाइट हाउसले यो विषयमा कुनै प्रतिक्रिया दिएको छैन।
शुक्रबार एक न्यायाधीशले ट्रम्प प्रशासनलाई युएसएडका हजारौँ कर्मचारीहरूलाई बिदामा राख्न अनुमति दिएका थिए। सरकारी कर्मचारी यूनियनहरूले यसलाई युएसएडलाई कमजोर बनाउने प्रयास भनेका छन्। युएसएडका दुई पूर्व अधिकारीहरूले अनुमान गरेका छन् कि करिब चार हजार ६ सय अमेरिकी कर्मचारीहरूलाई बिदामा पठाइनेछ।
युएसएडकी पूर्व अधिकारी मार्सिया वोङले भनिन्, ‘यो कदम खतरनाक छ, विशेषगरी जब महामारी र प्राकृतिक प्रकोपजस्ता घटनाहरूमा युएसएडका यी विशेषज्ञहरू घटनास्थलमा पुग्ने पहिलो टोली हुन्, जसले अवस्था स्थिर बनाउन र सहायता प्रदान गर्न काम गर्छन्।‘
ट्रम्पले जनवरी २० देखि ९० दिनका लागि विदेश सहायता रोक्न आदेश दिएका थिए, जसका कारण भोकमरी र अन्य मानवीय सहायता कार्यक्रमहरू प्रभावित भएका थिए।
प्रशासनले भने, युएसएडको कार्यक्रमलाई १ सय मिलियन डलर मात्र छूट दिएको छ, जबकि यस एजेन्सीले वार्षिक ४० अर्ब डलर को सहायता व्यवस्थापन गर्दै आइरहेको थियो।