काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अमेरिकी सहयोग नियोग युएसएआईडीको कोष कटौतीले क्षयरोग विरुद्धको विश्वव्यापी प्रयासमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएको छ। डब्लुएचओको ग्लोबल क्षयरोग तथा फोक्सो स्वास्थ्य कार्यक्रमकी निर्देशक टेरेजा कसाएभाले कोष रोकिएमा लाखौं मानिसको जीवन खतरामा पर्ने र टीबी अन्त्य गर्ने प्रयास जोखिममा पर्ने बताइन्। उनले भनिन्, 'तत्काल उपयुक्त कद चाल्न सकिएन भने टीबी बिरुद्ध कडा संघर्षबाट हासिल गरिएको प्रगति खतरामा पर्न सक्छ।'
युएसएआईडी क्षयरोग नियन्त्रणका लागि प्रमुख वित्तीय स्रोत मध्ये एक हो, जसले वार्षिक रूपमा करिब २०० देखि २५० मिलियन अमेरिकी डलर प्रदान गर्दै आएको छ। यो कुल अन्तर्राष्ट्रिय टीबी कोषको लगभग एक चौथाइ हो। विगतका वर्षमा मात्र यस कोषले करिब ३.६५ मिलियन क्षयरोगबाट हुने मृत्यु रोक्न सहयोग गरेको छ।
डब्लुएचओले कोष कटौतीका कारण क्षयरोगका घटनाहरू बढ्न सक्नेमा चिन्ता व्यक्त गरेको छ। उसका अनुसार मल्टिड्रग रेसिस्टेन्ट टीबी फैलिन सक्छ, जुन उपचार गर्न झन् कठिन र महगो हुन्छ। यी वित्तीय अवरोधहरूले १८ वटा उच्च क्षयरोग भार भएका देशहरूमा आवश्यक सेवाहरूमा असर पार्न थालेको छ, विशेष गरी अफ्रिकी, दक्षिण-पूर्वी एशिया र पश्चिम प्रशान्त क्षेत्रहरू८९ प्रतिशत युएसएआईडीको कोषमा निर्भर छन्।
कोष कम हुँदा परीक्षण र उपचारका लागि आवश्यक स्रोतहरू सीमित हुने बताइएको छ। जसका कारण धेरै जोखिममा रहेका मानिसहरूले आवश्यक उपचार पाउनेमा आशंका सृजना भएको छ। क्षयरोग उन्मूलन गर्ने विश्वव्यापी लक्ष्यमा समेत अवरोध आउन सक्ने बताइएको छ।