काठमाडौं- ललितपुर, ग्वार्कोस्थित किष्ट मेडिकल कलेज शिक्षण अस्पतालले क्यान्सरका बिरामीहरूको जीवनको अन्तिम चरणलाई सहज बनाउन विशेष ‘प्यालियटिभ केयर युनिट’ सञ्चालनमा ल्याएको छ। यस सेवाको शुभारम्भ बिरामी तथा उनीहरूका आफन्तको उपस्थितिमा सोमबार एक कार्यक्रमबीच गरियो।
अस्पतालले सेवा सुरु भएको अवसरमा बिरामीहरूलाई विशेष सहुलियत प्रदान गरेको छ। शुभारम्भको पहिलो एक महिनासम्म प्यालियटिभ केयर सेवा पूर्णतः निःशुल्क गरिएको किष्ट मेडिकल कलेजले जनाएको छ।
निःशुल्क सुविधा असोज २७ गतेदेखि कात्तिक मसान्तसम्म लागू हुनेछ।
प्यालियटिभ केयर भनेको क्यान्सरको उपचारको अन्तिम चरणमा रहेका बिरामीहरूलाई गरिने एक विशेष स्याहार हो। यो सेवा चिकित्सा उपचारमा मात्र सीमित नभई बिरामीको शारीरिक पीडा नियन्त्रण, मानसिक तनाव कम, भावनात्मक सान्त्वना र आध्यात्मिक परामर्शमा केन्द्रित हुन्छ।
किष्ट मेडिकल कलेजले क्यान्सरको शल्यक्रिया, किमोथेरापी, इम्युनोथेरापी, टार्गेटेड थेरापी र हर्मोनल थेरापी जस्ता सम्पूर्ण उपचार सेवाहरू उपलब्ध गराउँदै आएको छ। अब, प्यालियटिभ केयर युनिटको सञ्चालनले गर्दा बिरामीले क्यान्सरसम्बन्धी उपचार र जीवनको गुणस्तर सुधार गर्ने सेवाहरू एकै ठाउँमा प्राप्त गर्नेछन्।