अस्ट्रेलियन क्रिकेटर ब्याटर निक म्याडिन्सन क्यान्सर जितेर मैदानमा फर्किएका छन्। गएको वर्षको अधिकांश समय क्यान्सरसँगको कठिन लडाइँमा बिताएका उनी बिहिबार मात्रै पुनः क्रिकेटमा फर्किने तयारीमा अभ्यास खेल खेलेका छन्
३३ वर्षीय म्याडिन्सनलाई वर्षको सुरुमा टेस्टिकुलर क्यान्सर (अण्डकोषको क्यान्सर) भएको पत्ता लागेपछि उनले ट्युमर हटाउनका लागि शल्यक्रिया गराए। तर केही समयपछि उनले थाहा पाए कि क्यान्सर शरीरका अन्य भागहरू (पेटका लिम्फ नोड्स र फोक्सो)मा समेत फैलिएको छ।
'मलाई जब थाहा भयो कि किमोथेरापी गर्नुपर्छ, त्यो निकै कठिन क्षण थियो,' उनले नाइन न्युजपेपर्स सँग भनेका छन्।
त्यसैबेला, म्याडिन्सनकी श्रीमती बियांका उनीहरूको दोस्रो सन्तानको गर्भमा थिइन्, जसको जन्म केही साताअघि मात्रै भयो। म्याडिन्सनले मे महिनाको बीचतिर ९ हप्तासम्म किमोथेरापी सुरु गरे।
'दोस्रो वा तेस्रो हप्तासम्म पुग्दा मेरो सारा कपाल झरिसकेको थियो,' उनले बताए, 'शरीर निकै थकित थियो, साइड इफेक्ट रोक्न स्टेरोइड लिँदा रातभर निद्रा लाग्दैनथ्यो। दिनभर सुस्त र थकाइले भरिएको महसुस हुन्थ्यो। त्यो नौ हप्ताको समय जीवनकै सबैभन्दा ढिलो र कठिन अवधि जस्तो लाग्यो।'
उनको किमोथेरापी जुलाईको मध्यतिर सकियो र दुई सातापछि उनले पहिलोपटक क्रिकेट न्यू साउथ वेल्सको मुख्यालयमा ब्याटिङ अभ्यास गरे। सेप्टेम्बरमा परीक्षणपछि उपचार सफल भएको खबर पाएपछि उनले पुनः क्रिकेट फर्कने तयारी सुरु गरे। बिहिबार मात्रै उनले केही सहकर्मीहरूसँग केन्द्रय मैदानमा अभ्यास सत्र पनि पूरा गरे।
'यदि तपाईंलाई कुनै असामान्य लक्षण देखिन्छ भने तुरुन्त जाँच गराउनुहोस् भन्ने मेरो सबैलाई सल्लाह हो,' उनले भने।
निक म्याडिन्सनले अष्ट्रेलियाका लागि ३ टेस्ट र ६ टी २० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। साथै, उनले आईपीएलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) तर्फबाट ३ खेल खेलेका छन्।
तर ३३ वर्षीय यो दक्षिणपन्थी ब्याट्सम्यानले अष्ट्रेलियामा पुनरागमन गर्ने सपना छोड्दै, अण्डकोषको क्यान्सरसँग ठूलो लडाइँ लड्नुपर्यो।
म्याडिन्सनका अनुसार, यस यात्राको सबैभन्दा कठिन पक्ष थियो आफ्ना दुई वर्षका छोरा अगस्टलाई आफूसँग खेल्न नसक्ने कुरा भन्नु।
'सबैभन्दा कठिन कुरा भनेको छोरा अगस्टलाई मसँग खेल्न सक्दिन भन्ने भन्नु थियो,' उनले भनेका छन्, 'म शारीरिक रूपमा यति थाकेको थिएँ कि सोफाबाट उठ्नै सक्दिनथेँ। उसले धेरै कुरा बुझ्थ्यो। ऊ निकै होशियार बच्चा हो। ऊ मेरो कपाल छोएर सोध्थ्यो, ‘के भयो त?’ हामीले उसलाई भन्यौं कि म बिरामी छु र म यस्तो औषधि खाँदैछु, जसले कपाल झार्छ। तर म ठीक हुनेछु भन्ने पनि भन्यौं।'
म्याडिन्सनले आफ्नो रोगसँगको संघर्ष सार्वजनिक नगरी निजी राख्ने निर्णय गरेका थिए। तर अहिले उनले आफ्नो कठिन अनुभव खुलेर बताएका छन्। यस अवधिमा एडम जाम्पा र मोइसेस हेन्रिक्स जस्ता क्रिकेटरहरूले उनलाई निरन्तर साथ र सहयोग दिएका थिए।
क्यान्सरसँग कडा संघर्षपछि अन्ततः म्याडिन्सनका लागि खुसीको खबर आयो, 'उनी पूर्ण रूपमा निको भएका छन् र पुनः क्रिकेट खेल्न योग्य घोषित भएका छन्।'
'मेरो हालको रिपोर्ट सबै ठिक छ, र म फेरि क्रिकेटमा फर्किन सक्छु, जुन कुरा म निकै माया गर्छु,' उनले भने।
अक्टोबर १६ (बिहीबार) का दिन उनले केही एनएसडब्लुका खेलाडीहरूसँग सेन्टर विकेट नेट सत्रमा भाग लिए। ब्याटिङ राम्रो भए पनि आफ्नो फिटनेसलाई अझ प्रतिस्पर्धात्मक स्तरमा लैजान समय लाग्ने उनले बुझेका छन्।
उनी भन्छन्, 'म अझै टेस्ट क्रिकेट खेल्न चाहन्छु, तर म अब यथार्थपरक बनेको छु। उमेर बढ्दै जाँदा त्यस्तो अवसर घट्दै जान्छ। गत वर्ष मलाई राम्रो मौका मिल्यो, तर त्यसलाई पूर्ण रूपमा उपयोग गर्न सकिन।'
उनी अहिले आफू फेरि क्रिकेट खेल्न पाउनेमा उत्साहित रहेको बताउँछन्। 'म गत वर्ष अन्त्यमा ड्रप भएको थिएँ, त्यसैले तुरुन्तै टिममा फर्किने अपेक्षा छैन। सबैभन्दा राम्रो कुरा भनेको म फेरि चयनका लागि उपलब्ध छु भन्न पाउने दिन हुनेछ,' उनले भने।