विराटनगर - पोखरा मणिपाल शिक्षण अस्पतालमा सुरु भएको स्वास्थ्यकर्मी आन्दोलनको लहर अब विराटनगरसम्म फैलिएको छ। विराट मेडिकल कलेज टिचिङ्ग अस्पतालका स्वास्थ्यकर्मीहरूले पनि आफ्ना मागहरू लामो समयसम्म सम्बोधन नभएको भन्दै असोज १ गते देखि आन्दोलन सुरु गरेका छन्।
त्यहाँका स्वास्थ्यकर्मीहरुले उचित पारिश्रमिकको माग राख्दै प्रदर्शन समेत गरेका छन्। 'हामीले विगतदेखि बारम्बार माग राख्दै आएका छौं, तर व्यवस्थापन पक्षबाट कुनै ठोस पहल नदेखिएकाले अब पेन डाउन कार्यक्रममार्फत शान्तिपूर्ण रूपमा हाम्रो आवाज उठाउने निर्णय गरेका हौं,' आन्दोलनरत स्वास्थ्यकर्मीमध्ये एकले भने।
आन्दोलन अन्तर्गत स्वास्थ्यकर्मीहरूले नियमित कामकाज रोक्ने तर आपतकालीन सेवा भने सञ्चालनमा रहने जनाएका छन्। उनीहरूले यो कार्यक्रम शान्तिपूर्ण र व्यावसायिक ढङ्गमा सञ्चालन हुने बताउँदै आम सर्वसाधारणमा भ्रम फैलिन नदिन मिडियालाई सहकार्यका लागि आग्रह गरेका छन्।
पत्रमार्फत स्वास्थ्यकर्मीहरूले भने, 'हामी हाम्रो मागका पक्षमा शान्तिपूर्ण रूपमा उभिएका हौं।'
यसअघि पोखरा मणिपाल शिक्षण अस्पतालका स्वास्थ्यकर्मीहरूले पनि समान मागसहित आन्दोलन थालेका थिए, जसको प्रभाव देशका विभिन्न संस्थाहरूमा देखिन थालेको छ। पोखराकै गण्डकी मेडिकल कलेजमा पनि आन्दोलन जारी छ । त्यसैगरी चितवनका केही निजी अस्पतालका नर्सहरुले पनि आन्दोलन र प्रदर्शन गरेका छन्।
मेडिकल कलेजमा कार्यरत केही नर्सहरुले त आफ्नो तलब १० हजारसम्म रहेको समेत बताएका छन्। सरकारले भने न्युनतम पाँचौं तह अर्थात् कम्तिमा ३४ हजार हुनुपर्ने भन्दै सवै निजी संस्थाहरुलाई निर्देशन दिएको छ।
निजी संस्थाहरुका दुवै छाता संगठन एश अव्यवहारिक रहेको निजी संस्थाहरु शोसिएसन अफ प्राइभेट हेल्थ इन्सिच्युट नेपाल (अफिन) र एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपालले सरकारको उक्त निर्णय अव्यवहारिक रहेको बताएका छन्। दुवै संस्थाहरुले विज्ञप्ति निकालेर भनेका छन्, 'नेपाल सरकार सरह पारिश्रमिक र सेवा सुविधा लागू गर्नु वर्तमान संरचनामा व्यावहारिक रूपमा सम्भव छैन।'