काठमाडौं - सुत्केरीको मृत्युपछि ललितपुरस्थित किष्ट अस्पताल रणभूमि जस्तै बनेको छ । लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा निरन्तर प्रदर्शन गरिरहेका छन्।
सोमबारको प्रदर्शनले उग्र रुप लियो। आन्दोलनकारीले अस्पतालतिर ढुँगामुढा प्रहार गरे। प्रहरीले अश्रुग्यास हान्यो। अस्पतालभित्र रहेका बिरामी, उनीहरुका आफन्त, चिकित्सक र नर्सहरुले 'रणभूमि'को महशुस गरे।
अस्पतालमा कार्यरत एक नर्स सोमबारको घटनाले मंगलबार पनि अस्पताल जान डर भइरहेको बताइन्। केही बिरामीले फोर्स डिस्चार्ज लिएर अन्यत्र अस्पतालका एक कर्मचारीले बताए।
किन भयो यस्तो ?
गत शुक्रबार सुत्केरी ब्यथा लागेर आएकी ३३ वर्षीया मिनाश्री राईको मृत्यु भएपछि आफन्त आक्रोशित भएका हुन्। त्यसपछि शान्तिपूर्ण आन्दोलन गरिरहेका उनीहरु सोमबार अस्पतालमा तोडफोड उत्रिएका हुन्।
परिवारका अनुसार मिनाश्रीले गर्भवती भएदेखी नै नियमित रुपमा किष्ट अस्पतालमा नै गर्भ परीक्षण गराउँदै आएकी थिइन् । उनलाई चिकित्सकले शुक्रबारको लागि डेलिभरीको डेट दिएका थिए ।
चिकित्सकले दिएको डेटमा नै उनी डेलिभरीका लागि शुक्रबार बिहान नै अस्पताल पुगेकी थिईन्।दाजु राईका अनुसार शुक्रबार बिहानै अस्पताल भर्ना भएकी उनलाई साँझ साढे ५ बजेसम्म पनि सुत्केरी ब्यथा लागेको थिएन।लामो समयसम्म व्यथा नलागेपनि चिकित्सकले नर्मल डेलिभरी हुन्छ भन्दै आएका थिए।

‘सबै नर्मल भएको भनिएको थियो। आकस्मिक रुपमा धेरै रगत बग्न थाल्यो,’ उनले भने, ‘एक्कासी रगत चाहियो भन्न थालियो। समयमा नै रगतको व्यवस्था हुन नसकेर बहिनीको मृत्यु भयो। बिहान हिँडेरै अस्पताल आएकी मेरी बहिनीको चरम लापरवाहीका कारण मृत्यु भयो।’
आफ्नी बहिनीको उपचारमा संलग्न भएका चिकित्सकलाई सार्वजनिक गर्न उनको माग छ। अस्पतालसँग पटक-पटक वार्ताको प्रयास भएपनि सञ्चालक नभई वार्ताका लागि कर्मचारीलाई पठाएका कारण पटक पटकको वार्ता असफल भएको उनको आरोप छ।
सुत्केरीका क्रममा बिरामीको मृत्यु भएको घटनामा सत्यता भएपनि लापरवाहीका कारण नै सुत्केरीको मृत्यु भएको भन्ने स्वीकार गर्न नसकिने अस्पतालले जनाउँदै आएको छ। अस्पतालको माथिल्लो तहका कर्मचारीले यस विषयमा थप कुरा चाहेनन्। त्यहाँ कार्यरत एक कर्मचारीका अनुसार वार्तामा बस्दा आफन्तले रु २ करोड रुपैयाँ क्षतिपूर्ति, उनका सन्तानलाई पढाइदिनुपर्ने लगायत माग राखेको कुरा आएको छ।





तस्विरहरु : नितेश माथेमा