काठमाडौं- त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीले ठमेलस्थित एलओडी (लर्ड अफ द ड्रिङ्क्स)मा आफ्नो सांगीतिक प्रतिभा प्रस्तुत गर्ने भएका छन्।
विश्वका उत्कृष्ट ५० क्लबमध्ये पर्ने एलओडी नेपालले यस कार्यक्रममार्फत चिकित्सा र संगीतको मिलनलाई उत्सवको रूपमा प्रस्तुत गर्न लागेको हो। एलओडीले 'जब पेशा र रुचि भेटिन्छन्' भन्ने शीर्षकमा विशेष कार्यक्रम गर्न लागेको हो।
विशेष सांगीतिक प्रस्तुतीमा प्रा.डा. भण्डारीसँगै रोशन श्रेष्ठ र टिमले प्रस्तुति दिनेछन् भने चर्चित गिटारिष्ट देव लामा पनि विशेष प्रदर्शनमा रहनेछन्। कार्यक्रममा सन्जय सिलवालले प्रस्तोताको भूमिका निभाउनेछन्।
कार्यक्रम शनिबार दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने छ। यो कार्यक्रमका टिकटहरू खल्ती एपमार्फत खरिद गर्न सकिने आयोजकले जनाएको छ।
कलेजो प्रत्यारोपण सर्जन डा भण्डारी चिकित्सक मात्र नभइ गायक, गीतकार र संगीतकार पनि हुन्। उनका विभिन्न म्यूजिक भिडियोहरु समेत सार्वजनिक भएका छन्।