काठमाडौं- मेडिकल क्षेत्रमा वर्षौँदेखि बिरामीको मुटु स्पर्श गर्दै आएका वरिष्ठ कार्डियोलोजिष्ट डा. मिलनप्रकाश श्रेष्ठले यसपटक सांगीतिक क्षेत्रमै आफ्नो अर्को पहिचान थपेका छन्। नेपाल आइडल सिजन ६ की विजेता गङ्गा सोनामसँग मिलेर उनले गाएको नेपाली लोक–आधुनिक गीत ‘फकाउने मान्छे’ सार्वजनिक भएको छ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत डा. श्रेष्ठ र प्रतिभाशाली गायिका सोनामको स्वर समेटिएको यो गीत अर्जुन मिश्र अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
संगीत संयोजनका साथ–साथै गीतको सम्पूर्ण निर्माणतर्फ अर्जुन मिश्रले नेतृत्व लिएका छन्।
गीतको शब्द कृष्ण आचार्यले लेखेका हुन् भने रेकर्डिङ तथा भिडियो छायांकन द म्युजिक एरा, अनामनगरमा गरिएको छ।
मेडिकल पेशा र कला–सङ्गीतजस्तो फरक क्षेत्रका व्यक्तित्वबीचको यस प्रकारको सहकार्यले गीतलाई विशेष बनाएको दर्शक तथा स्रोताले टिप्पणी गरेका छन्।